पाल्पा — प्रथम मदरल्यान्ड आईटीएफ कप जिल्लास्तरीय अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा तानसेन डोजाङले वर्चस्व कायम गरेको छ । तानसेन टुँडिखेलमा भएको प्रतियोगितामा ५७ केजीमा पुरुषतर्फ तानसेनका रजन रेग्मीले स्वर्ण जितेका छन् ।
तानसेनका प्रवीन झेडीले रजत र एन्जल रेग्मीले कांस्य जितेका छन् । सोही तौलमा महिलातर्फ तानसेनकै रोशनी थापाले स्वर्ण जितिन् । श्री चन्द्र डोजाङ चापपानीकी सन्तोषी रास्कोटीले रजत र भूपू सैनिक डोजाङ तानसेनकी गोमा रानाले कांस्य जिते ।
४० केजीमा पुरुषतर्फ भूपू सैनिकका दिनेश ठडराईले स्वर्ण, तानसेनकै दीपेन्द्र अदैमगरले रजत र सनराइज डोजाङका विष्णु दिसुवाले कांस्य जिते ।
महिलातर्फ हिडन डोजाङकी अनिशा थापाले स्वर्ण, मदरल्यान्डकी शिखा दंगालले रजत र हिडनकी सुप्रिया खाम्चाले कांस्य जितेका थिए । स्वर्ण जित्नेले ५, रजतले ४ र कांस्य जित्नेले ३ हजार रुपैयाँ पुरस्कार पाए ।
विजेता खेलाडीलाई लुम्बिनी प्रदेशसभा सदस्य जवीरबहादुर राना, जिल्ला फुटबल संघ पाल्पाका अध्यक्ष प्रणयवीर राणा, आईटीफएफ पाल्पा अध्यक्ष नीरबहादुर सारुलगायतले पुरस्कृत गरे ।
पूर्वखेलाडी नीरबहादुर सारु, देव पचभैया, कृष्ण थापा, तस्विन पुन, सन्जु कार्की, अमृत थापा, विमल घर्तीमगर, नगेन्द्र मल्ल, समिक्षा थापा, रोजी बराल, अनुप राना, बादल अधिकारीलाई सम्मान गरिएको आयोजक कमिटीका संयोजक सुरज थापाले जानकारी गराए ।
