बर्नमाउथसँग लयविहीन टोटनहम पराजित

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

A lackluster Tottenham defeat by Bournemouth

काठमाडौँ — डिफेन्डर डिन हुइजसेनले गरेको एक मात्र गोलको मदतले बर्नमाउथले इंग्लिस प्रिमियर लिगमा बिहीबार टोटनहमलाई १–० ले पराजित गरेको छ । यस जितपछि बर्नमाउथ टोटनहमलाई उछिनेर नवौं स्थानमा पुगेको छ । उसको १४ खेलबाट २१ अंक भएको छ ।

टोटनहम भने समान खेलबाट २० अंकमा दसौं स्थानमा छ । खेलको १७ औं मिनेटमा मार्कस टाभेरनिरको कर्नरमा १९ वर्षीय हुइजसेनले हेडबाट गोल गरेका हुन् । यससँगै यस सिजन टोटनहमको उतारचढावपूर्ण लयहीन खेलका क्रम जारी रह्यो ।

बिहीबारकै अर्को खेलमा फुलहमले ब्राइटनलाई ३–१ ले पारजित गरेको थियो । यो सिजन ब्राइटनको यो तेस्रो हार मात्रै हो । फुलहमका लागि एलेक्स इबोइले दुई गोल गरे भने अर्को गोल म्याट ओरिलेको नाममा आत्मघाती रह्यो ।

प्रतिकुल मौसमबीच भएको खेलमा ब्राइटनका लागि कार्लोस नुमले एक गोल फर्काए । फुलहम १४ खेलबाट २२ अंकमा छैटों स्थानमा छ । हारका बावजुत ब्राइटन २३ अंकमा पाँचौं स्थानमा रह्यो । ब्राइटनका लागि हार गुमेको अवसर रह्यो । 

ब्राइटनले दुई गोल अन्तरको जित निकालेको भएर अंक तालिकाको चौथो स्थानमा उक्लने निश्चित थियो । उसको ठीक अगाडि २६ अंकमा लिग च्याम्पियन म्यानचेस्टर सिटी रहेको छ । 

कान्तिपुर

Link copied successfully