फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि १० लाख ५ हजार

मंसिर २०, २०८१

लक्ष्मी गौतम

The prize money of Falgunanda Gold Cup is 10 lakh 5 thousand

पाँचथर — फिदिममा हुने ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता विजेताले १० लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार जित्ने भएको छ ।

आयोजक फिदिम स्पोर्टिङ क्लबले बिहीबार पत्रकार सम्मेलन गरी पुरस्कार राशि १५० प्रतिशतभन्दा धेरैले वृद्वि गरेको जनाएको छ । दसौं संस्करण विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाएका थिए ।

११ औं संस्करण पुस ६ देखि १५ सम्म हुनेछ । प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, एनआरटी, मछिन्द्र क्लब र त्रिभुवन आर्मी गरी चार ‘ए’ डिभिजन, एक ‘बी’ डिभिजन, आयोजक फिदिम स्पोर्टिङ क्लब, बिराटनगर सिटी एफसी, सहलेस युवा क्लब सिराहा, न्यु स्टार क्लब सुनसरी र झापा गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विधागत विधाको पुरस्कारको राशि पनि वृद्वि गरिएको छ । सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर र म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, फरवार्डले जनही १० हजार पुरस्कार पाउनेछन् । सर्वाधिक गोलकर्ताले १५ हजार जित्ने आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले बताए । यसअघि विधागतमा ५ हजार थियो ।

गोल्डकप राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको स्मृतिमा २०६५ सालदेखि हुन थालेको हो । २०७५ सालमा १० औं संस्करण सम्पन्न भएपछि फिदिम माविको खेल मैदान भत्किनुका साथै कोरोना महामारीका कारण स्थगित भएको थियो । यस वर्षदेखि गोल्डकपलाई निरन्तरता दिने अध्यक्ष थापाले बताए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully