पुरुषोत्तम, आशिष र विनिता अगाडि

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Purushottam, Ashish and Vinita in front

काठमाडौँ — नेसनल ‘बी’ चेस च्याम्पियनसिपमा बिहीबार छैटौं चरण सकिँदा काठमाडौंका पुरुषोत्तम सिलवाल र दोलखाका आशिष् फुँयालले ५ अंक जोडेर अग्रता लिएका छन् ।

पाँचौं चरणमा एफएम रुपेश जैसवालसँग बराबरी खेलेका उदीयमान खेलाडी पुरुषोत्तमले ललितपुरका सुरोज महर्जनलाई हराए । यस प्रतियोगितामा ४० पुरुष र २० शीर्ष महिला खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

खुलातर्फ मकवानपुरका सीएम मिलन लामा, रौतहटका एफएम रुपेश जैसवाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, भक्तपुरका निकेश कुसाथाले समान साढे ४ अंक जोडेर संयुक्त दोस्रो स्थान ओगटेका छन्।

मिलनले भक्तपुरका राजेश कक्षपतिलाई हराए भने रुपेशसँग बराबरी खेले, रुपेशले त्यसअघि पुरुषोत्तमसँग बराबरी नै खेलेका थिए ।

आशिषसँग पराजित रिजेन्द्रले भेट्रान सीएम नवीन तण्डुकारलाई हराए । निकेशले धनुषाका सुशील चौधरीलाई हरा एभने आशिषसँग बराबरी खेले ।

महिलातर्फ कीर्तिपुरकी विनिता कपालीले ५.५ अंक जोडेर एकल अग्रता बनाएकी छन् । उनले पाँचौंमा काठमाडौंका रिया श्रेष्ठ र छैटौं चरणमा डेनिसा पुरीमाथि जित पाइन् ।

चितवनकी लक्ष्मी कँडेल ५ अंकसहित दोस्रो स्थानमा छन् । उनले बाँकेकी इशा गिरी र झापाकी पुनम प्रसाईंलाई हराइन् । इशाले पर्साकी सुशीला गुरुङलाई हराइन् ।

शुक्रबार महिलातर्फ अन्तिम खेल हुनेछ भने खुलातर्फ सातौं र आठौं चरणको खेल हुने नेपाल बुद्धिचाल महासंघले जनाएको छ ।

कान्तिपुर

Link copied successfully