शिखर धवनको अर्धशतकलाई ओझेलमा पार्दै कर्णालीविरुद्ध गुर्खाजको ३ विकेटको जित
काठमाडौँ — काठमान्डु गुर्खाजले पहिलो १० ओभरमा ५२ रनमात्र बनाएको थियो । प्रमुख ४ विकेट पनि गुमाइसकेको थियो । लक्ष्य थियो १ सय ५० रन । अर्थात गुर्खाजलाई नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो जित हात पार्न ६० बलमा ९८ रन आवश्यक बन्यो ।
जेहरार्ड इरसमस र सुमित महर्जन क्रिजमा थिए । सुमितको हात खुलिसकेको थिएन, ३ ओभर बाँकी रहँदा उनी २८ बलमा १८ रनमा खेलिरहेका थिए । उनै सुमितले कप्तान करण केसीसँग मिलेर बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गुर्खाजलाई कर्णाली याक्सविरुद्ध ३ विकेटको सनसनीपूर्ण विजय दिलाए । गुर्खाजको यो पहिलो जित थियो । कर्णालीको लगातार दोस्रो हार हो ।
स्कोर बराबरी भएको समयमा सुमितले चौका प्रहार गर्दै गुर्खाजलाई ३ बलअगाडि १ सय ५३ रनसहित जिताए । गुर्खाजले अन्तिम ५७ बलमा १ सय ३ रन जोडेको थियो । प्लेयर अफ द म्याच उनले ३७ बलमा ३ चौका र १ छक्कासहित अविजित ४० रन बनाए । करणले १० बल खेल्दै समान २ चौका र छक्का प्रहारसहित २८ रन बनाए । टिमलाई जितनिम्ति ७ रन आवश्यक हुँदा करण १९ औं ओभरको अन्तिम बलमा बाउन्ड्रीलाइनमै देव खनालबाट सुन्दर क्याचआउट भए ।
गुर्खाजका ओपनर शंकर राना ७ बलमा ६ रन बनाई रनआउट भए । स्टेफन इस्किनाजी ३, भीम सार्की ९ रनमा आउट भएपछि टोली दबाबमा थियो । माइकल लेभिटले १९ बल खेल्दै २ चौका र १ छक्कासहित २२ रन बनाए ।
सुझबुझपूर्ण खेलेका नामिबियाका कप्तान इरसमसले २८ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । कर्णालीबाट कप्तान सोमपाल कामीसहित नन्दन यादव, विपिन शर्मा, गुलशन झा र जिसन मक्सुदले १–१ विकेट लिएका थिए ।
यसअघि भारतीय पूर्वस्टार शिखर धवनले ५१ बलमा ७२ रन बनाएपछि कर्णालीले २० ओभर खेल्दै ५ विकेटमा १ सय ४९ रन बनाएको थियो । धवनले ४ चौका र ५ छक्का प्रहार गरे । पहिलो ५ ओभरमा ५ बलमात्र सामना गर्न पाएका उनले १८ औं ओभरमा करणको लगातार बलमा छक्का र चौका प्रहार गरेर ४२ बलमै आफ्नो अर्धशतक पूरा गरे । धवनले १९ औं ओभरको पहिलो दुई बलमा नथान साउटरलाई लगातार छक्का हाने ।
धवनसॅगै मक्सुद ११ बलमा १ चौकासहित ४ रन बनाई अविजित रहे । यी दुईले छैटौं विकेटमा ३३ बलमा ६५ रनको अविजित साझेदारी गरेका थिए । करणले खेलको पहिलो ओभरमै देव खनाललाई शून्यमा एलबीडब्लु आउट गरे । चाडविक वाल्टनले ५ चौकासहित १५ बलमा २१ रन बनाए । उनलाई इरसमसको बलमा करणले सानदार क्याच लिएर पेभेलियन फर्काए ।
बाबर हायत १८ बल खेल्दै १ छक्कासहित १३ रन बनाई दीपेश कँडेलको बलमा बोल्ड भए । आफूले सामना गरेको पहिलो बलमा चौका प्रहार गरेका गुलशन १९ बलमा १२ रन बनाई इरसमसको बलमा स्टम्पआउट भए । अर्जुन घर्तीलाई ४ रनमा नथान साउटरले बोल्ड गरे । गुर्खाजबाट इरसमसले ४ ओभरमा २९ रन खर्चेर २, करणले ३ ओभरमा १९, दीपेशले १ ओभरमा ७ र साउटरले ४ ओभरमा ३२ रन खर्चेर १–१ विकेट लिए ।
त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा विराटनगर किंग्सले एनपीएलमा पहिलो जित हात पारेको छ । विराटनगरले बुधबार रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई २ विकेटले हरायो । पहिलो दुई खेल हारेको विराटनगरले तेस्रो खेलमा यो सफलता पाएको हो ।
लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ९१ रन बनाएको थियो । लोकेश बमले ४७ बलमा ७१ रन बनाएपछि विराटनगरले १ बलअगाडि लक्ष्य पूरा गरेको हो । विराटनगरलाई अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक थियो । विवेक यादवले पहिलो दुई बल वाइड फाले । तेस्रो बलमा उनले विराटनगरका कप्तान सन्दीप लामिछानेलाई आउट गरे ।
त्यसपछि आएका क्रिस सोलले पहिलो बलमा कुनै रन प्रहार गर्न सकेनन् । तर आफूले सामना गरेको दोस्रो बलमा छक्का प्रहार गरेपछि उनले अर्को दुई लगातार बलमा चौका हान्दै विराटनगरलाई सानदार विजय दिलाए । सोलले ४ बलमा अविजित १६ रन बनाए ।
विवेक निकै खर्चालु भए । उनले ३.५ ओभरमा ६४ रन खर्चन पुगे । प्लेयर अफ द म्याच लोकेशले ३ चौका र ६ छक्का प्रहार गरे । रामोन सिमोन्ड्सले पहिलो ओभरमै इस्मातुल्लाह आलमलाई आउट गरे ।
अर्का ओपनर मार्टिन गप्टिलले १७ बल खेल्दै ६ चौकासहित २८ रन बनाए । राजेश पुलामी ४ रन र निकोलस किर्तन पहिलो बलमै आउट भए पनि लोकेशले बसिर अहमदसँग पाँचौं विकेटमा ४० बल खेल्दै ७७ रन जोडे । बसिरले २३ बलमा ४ चौकासहित ४० रन बनाए । प्रतिश जिसी ६ रनमा आउट भए । दीपक बोहराले ८ बलमा अविजित ९ रन बनाए । लुम्बिनीबाट दुर्गेश गुप्ताले ३, सिमोन्ड्स र साद बिन जाफरले २–२ विकेट लिए ।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । ओपनरद्वय आशुतोष घिरोहिया १३ बलमा २ चौका र १ छक्का प्रहार गरी १५ रन बनाएर रनआउट भए भने १९ बलमा ३ चौकासहित १७ रन बनाएका अर्जुन साउदलाई आलमले बोल्ड गरे ।
रोहितले तेस्रो विकेटमा टम मुर्ससँग ३३ बलमा ६७ रनको साझेदारी गरे । अनिल खरेलको बलमा लगातार तीन छक्का प्रहार गरेका मुर्स १७ बलमा ३० रन बनाई रनआउट भए । लुम्बिनीका चार ब्याटर रनआउट भए । त्यसमा सन्दीप जोरा १२ र बेन कटिङ ६ रनमा थिए ।
जाफरले १३ बलमा १ छक्कासहित १५ रन बनाए । अन्तिम ओभरको पहिलो दुई बलमा बसिरलाई लगातार छक्का प्रहार गरेका विवेक ७ बलमा ३ छक्कासहित १९ रन बनाएर अविजित रहे । विराटनगरबाट आलम, पुलामी र कप्तान सन्दीपले १–१ विकेट लिए ।
