काठमाडौँ — पोखरा एभेन्जर्सले एनपीएलमा आफ्नो जर्सीमा कुनै प्रायोजनको लोगो नराख्ने भएको छ । पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनको आफ्नो मूल मुद्दा अगाडि सार्दै यो निर्णय गरेको एभेजेर्न्सले जनाएको छ ।
पोखराको विज्ञप्तिमा भनिएको छ, ‘एभेन्जर्सले खेलमार्फत जलवायु परिवर्तनको चेतना जगाउनु महत्त्वपूर्ण ठानेको छ । त्यही कारण आफ्नो जर्सी समुन्द्र सतहभन्दा झन्डै ४ हजार उचाइमा रहेको लोमान्थाङमा पुगेर अनावरण गर्यौं । गण्डकी र पोखराको मेरुदण्ड पर्यटन भएको र त्यसलाई प्रतिनिधित्व गर्ने टिम भएको कारण पर्यटन प्रवद्धन गर्ने हेतुले पोखरालाई स्वर्गजस्तै पवित्र भनेर ट्यागलाइन दिएका छौं । जर्सीमा आफ्नो लोगो राख्न दर्जनौं स्पोन्सर सम्पर्कमा आइरहँदा पनि जलवायु परिवर्तनको चेतना नै प्राथमिकतामा राख्यौं । त्यसैले जर्सीको अगाडि लेख्यौं, ग्लासियर्स म्याटर अर्थात् हिमनदीहरू महत्त्वपूर्ण छन् ।’
