काठमाडौँ — लालीगुराँस नेसनल एकेडेमी र नर्थ भ्यालीले तारकेश्वर तेस्रो मेयर रनिङ सिल्ड खेलकुदको छात्र जुनियर बास्केटबलमा विजय नतिजा निकालेका छन् ।
घरेलु कोर्टमा लालीगुराँसले बालकुञ्जलाई २४–११ स्कोरले पराजित गर्यो । टोलीका प्रजेश महर्जनले १० स्कोर गरे । डेविड खड्काको ६ स्कोरमा नर्थ भ्यालीले तेजस्वीलाई १४–१० ले हरायो ।
बास्केटबलमै कौशलले मेघा पब्लिकलाई २०–९ ले, जीवनज्योतिले एन्जल्सलाई १८–१२, रोजमेरीले गुरुकुललाई ३०–२२ ले र मानसिंह धर्मले गिनिज पब्लिकलाई १६–१४ स्कोरले हराए । कौशलका अंशु खत्रीले ५, जीवनज्योतिका अमोह कार्कीले ७, रोजमेरीका दियोन भण्डारीले १८ र मानसिंहका आदित्य तामाङले ६ स्कोर गरेकाल थिए ।
छात्रामा प्रारम्भ वर्ल्ड स्कुलले जिनियसलाई २२–१२, पद्मचक्रले रोजमेरीलाई १६–११, जीवनज्योतिले कौशललाई १९–१३ र तेजस्वीले नर्थ भ्यालीलाई २३–१२ स्कोरले हराए । प्रारम्भकी लोसाङ गोम्बाले ८, पद्मचक्रकी अस्मिता ढकालले ६, जीवनज्योतिकी श्रृष्टिले ६ र तेजस्वीकी एस्थर बरुवालले ९ स्कोर बटुले । नकआउट बास्केटबलको जुनियर छात्रमा १८ र छात्रामा १४ टिम सहभागी छन् ।
त्यस्तै छात्र फुटबलमा प्रारम्भले एन्जल्स हार्टलाई ६–०, पद्मचक्रले सिद्धार्थ मोडल एकेडेमीलाई २–०, ल्यान्डमार्क एकेडेमीले मेघा पब्लिकलाई २–०, सेक्रेड हार्टले ग्राम सेवालाई १–०, कालिका सदनले पृथ्वी नारायणलाई सडनडेथ, कौशलले लालीगुराँसलाई २–० र मानसिंहले विराट सनातनलाई ५–२ गोलले हराए ।
एन्जल्स स्पोर्ट एकेडेमी भएको प्रतियोगितामा नेपाल राष्ट्रिय मावि, गिनिज पब्लिक र साङ्ला बालकुमारी वाकओभर पाए ।
उसुको छात्र छान छ्वानमा किन्डर गार्डेनका सोहन तामाङ पहिलो, विजन रोक्का दोस्रो तथा हिमरश्मिका आरोग्य अधिकारी तेस्रो भए । छात्रामा किन्डरकी रियाना ग्लान विजेता भइन् ।
