सुदूरको प्रभावशाली जित, लयमा चितवन

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

An impressive win by far, Chitwan in rhythm

काठमाडौँ — चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । मंगलबार पोखरा एभेन्जर्स १३.२ ओभरमा ७४ रनमै समेट्दै चितवनले ८७ रनको विजय हात पारेको हो । चितवनले पहिलो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले हराएको थियो ।

 भेट्रान इंग्लिस ब्याटर रवि बोपाराको ५१ रनमा चितवनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । उनले ३८ बलमा समान ३ चौका र छक्का प्रहार गरे । बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटमा ६८ रनको साझेदारी गरे । कुशलले २३ बल खेल्दा १ चौका र ४ छक्कासहित ३८ रन बनाए ।

ओपनरद्वय दीपक बोहरा २ र हसन इसाखिल १४, लुक बेन्केनस्टेन १६, सन्तोष कार्की ११ रन जोडे भने सोहेल तनवीर शून्यमा आउट भए । शरद भेषावकर १२ बलमा ११ र इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका अमरसिंह राउटेला ६ बलमा १३ रन बनाई अविजित रहे । पोखराबाट विपिन खत्री, वास डे लिड र रेमन राइफरले २–२ तथा सागर ढकालले १ विकेट लिए । 

सोहेल तनवीर र रिजन ढकालले आ–आफ्नो एकै ओभरमा ३–३ विकेट लिएपछि पोखरा सुरुमै तहसनहस हुन पुग्यो । तनवीरले इनिङ्सको पहिलो बलमै कुशल भुर्तेललाई आउट गरे । गुर्खाजविरुद्धको अघिल्लो खेलमा ५ विकेट लिएका तनवीरले मंगलबार पहिलो ओभरमा दिलीप नाथ (४) र बास डे लिड (०) लाई आउट गरे ।

रिजनले चौथो ओभरमा ओपनर दिनेश खरेल (१) सहित किरण ठगुन्ना (१) र माइकल लिस्कलाई शून्यमा एलबीडब्लू आउट गरे । त्यसपछि पोखराले ७ रनमा हुँदा ६ र १७ रनमा हुँदा ७ विकेट गुमायो । बेन्केनस्टेनले पनि ३ विकेट लिए । उनले राइफरलाई १ रनमा मार्कुस क्रिच्लेलाई १७ रनमा आउट गरे ।

An impressive win by far, Chitwan in rhythmअर्धशतक बनाएपछि सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

क्रिच्लेले १६ बल खेल्दै २ चौका प्रहार गरे । नारायण जोशीले पोखराबाट सर्वाधिक ३० रन बनाए । २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । बेन्केनस्टेनले उनलाई आफ्नो तेस्रो सिकार बनाए । विपिन खत्रीलाई ९ रनमा दीपक बोहराले बोल्ड गरे ।

दिनको पहिलो खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीको तीव्र गतिमा अर्धशतक बनएपछि सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेट गुमाई १ सय ८२ रन बनाउँदा दीपेन्द्रले २४ बलमै अविजित ५७ रन बनाए । उनले इनिङ्सको अन्तिम दुई बलमा प्रतिश जिसीलाई लगातार छक्का प्रहार गरे । अन्तिम ओभरमा मात्र दीपेन्द्रले ३ छक्का प्रहार गरेपछि सुदूरपश्चिमले कुल २३ रन जोडेको थियो । दीपेन्द्रले कुल ३ चौका र ५ छक्का प्रहार गरे ।

दीपेन्द्र र इशान पाण्डेले छैटौं विकेटमा २५ बलमा ४९ रन जोडे । इशानले १६ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाई रनआउट भए । ओपनर अमित श्रेष्ठ १, अर्का ओपनर विनोद भण्डारी २० बलमा ३ चौकासहित २३, आरिफ शेख ९ रन बनाई आउट भए ।

सैफ जैबले १५ बल खेल्दै १ छक्कासहित १४, ब्रान्डन म्याकमुलेनले २६ बलमा समान २ चौका र छक्कासहित ३६ र स्कट कुगेलेइन ६ बलमा २ चौका प्रहार गरी १० रनमा आउट भए । अनिल खरेलले ३, क्रिस सोल, इस्मात आलम र बसिर अहमदले १–१ विकेट लिए । 

जवाफमा विराटनगर १६.१ ओभरमा ९२ रनमा अलआउट भयो । बसिरले २८ बलमा २ चौकासहित २४, राजेश पुलामीले १५ बलमा १ छक्कासहित १५, अनिलले अविजित १० र सोलले ९ रन बनाए । लोकेश बम २ रनमा आउट भए ।

सुदूरपश्चिमका कुगेलेइनले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । उनले इनिङ्सको तेस्रो बलमै मार्टिन गप्टिललाई शून्यमा बोल्ड गरेर विराटनगरको लक्ष्यमा पुग्ने सम्भावना कमजोर बनाएका थिए ।

कुगेलेइनले निकोलस कीर्तनलाई पनि आउट गरे । अविनाश बोहराले ३ ओभरमा १७ रनमात्र खर्चेर ३ तथा ब्रान्डन म्याकमुलेन, सैफ जैब र इशान पाण्डेले १–१ विकेट लिए ।

कान्तिपुर

Link copied successfully