अफगानिस्तानविरुद्धको जितले नेपाललाई यू–१९ पुरुष विश्वकप छनोटअघि आत्मविश्वास
काठमाडौँ — हेमन्त धामीले कप्तानी इनिङ्स खेलेपछि नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा मंगलबार अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
यूएईमा भइरहेको प्रतियोगितामा अफगानिस्तानसँगको जितले नेपाललाई यू–१९ विश्वकप छनोटअघि ठूलो मनोबल प्रदान गरेको छ ।
शारजहाँ क्रिकेट रंगशालामा १ सय २४ रनको लक्ष्य पाएको नेपालले ८४ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । हेमन्तले नरेन साउदसँग नेपाललाई विजय दिलाएका हुन् । अघिल्लो बलमा चौका प्रहार गर्दै स्कोर बराबरी गरेका हेमन्तले नै ४२ औं ओभरमा विजयी रन बटुलेका थिए ।
पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएपछि नेपाल नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो । अफगानिस्तान पनि यसअघि नै बंगलादेश र श्रीलंकासँग पराजित भएर समूह चरणबाटै बाहिरिएकाले दुवै टोलीका लागि सेमिफाइनल प्रवेशको हिसाबले यो खेलले कुनै महत्व राख्दैनथ्यो । तर, यू–१९ विश्वकप छनोटअघि यो जितबाट नेपालले ठूलो आत्मविश्वास बटुलेको छ ।
नेपालले अप्रिल १२ देखि २१ सम्म आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्दै छ । नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेता टोली २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्नेछ । नेपालले यसै वर्षको जनवरीमा दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा पनि अफगानिस्तानलाई १ विकेटले नै हराएको थियो ।
यू–१९ विश्वकपको ठीकअघि खुट्टामा चोट लागेपछि नेपाली टोलीबाट बाहिरिएका हेमन्तले ३३ बल खेल्दै २ चौकासहित अविजित २२ रन बनाए । नरेन ५४ बलमा २ चौकासहित सर्वाधिक २६ रन बनाएर नवौं खेलाडीको रूपमा आउट भए । नेपाललाई त्यतिखेर ९ रन आवश्यक हुँदा सबै रन हेमन्तले बटुलेका थिए ।
माथिल्लोक्रममा अर्जुन कुमालले ६२ बलमा २ चौकासहित २१ र तल्लोक्रममा अभिषेक तिवारीले १३ बलमा समान १ चौका र छक्कासहित १३ रन बनाए । अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । आकाश त्रिपाठी ९, मयन यादव १, सन्तोष यादव ७, नरेन भट्ट २, रोशन विश्वकर्मा ९ र उत्तम थापामगर २ रनमा आउट भए ।
अफगानिस्तानका अल्लाह घाजनफर र खातिर स्टानिकजाईले ३–३ विकेट लिए । अघिल्लो साता इन्डियन प्रिमियर लिगको अक्सनमा ४ करोड ८० लाख भारुमा मुम्बई इन्डियन्समा बिक्री भएका अफब्रेक बलर घाजनफरले नयाँ बलमा नेपालका दुवै ओपनर आकाश त्रिपाठी र मयन यादवसहित अभिषेकलाई आउट गरेका थिए । यू–१९ एसिया कपकै दौरान अबुधाबी टी–१० मा उनले टिम अबुधाबीबाट खेल्दै आएका छन् ।
यसअघि अफगानिस्तानबाट फैजल सिनोजादाले ५२ रन बनाए । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । नेपालबाट युनिशविक्रम ठकुरी र सन्तोष यादवले ३–३ तथा हेमन्त र अभिषेकले २–२ विकेट लिए । युनिशले १० ओभरमा ३ मेडन राख्दै २४ र सन्तोषले ४.४ ओभरमा २२ रन खर्चेका थिए ।
