काठमाडौँ — आईएयू १०० किलोमिटर वर्ल्ड च्याम्पियनसिप रेसमा नेपालका तीन खेलाडीले भाग लिने भएको छ ।
६ सदस्यीय नेपाली टोली मंगलबार भारतको बैंगलुरु गएको छ । मंसिर २२ गते हुने प्रतियोगितामा भूमिराज राई, सन्तोषनाथ योगी र लाक्पा निमा शेर्पाले प्रतिस्पर्धा गर्नेछन् । तीनै खेलाडी नेपाल पुलिसका हुन् ।
प्रतियोगितामा खेलाडी सहभागी गराउन नेपाल एडभेन्चर रनिङ महासंघले छनोट प्रतियोगिता आयोजना गरेको थियो । टोली प्रमुखमा नेपाल एडभेन्चर रनिङ महासंघका कार्यवाहक अध्यक्ष राजन खत्री, प्रशिक्षकमा बाबुराजा श्रेष्ठ र अफिसियलमा रवीन्द्र श्रेष्ठ रहेका छन् । टोली नेपालगन्ज, लखनउ हुँदै बैंगलुरु जानेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषदका विभागीय प्रमुख प्रेमबहादुर मल्लले मंगलबारै बिदाइ गरे ।
