काठमाडौँ — ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको मेयर चिरिबाबु महर्जन र भेट्रान खेलाडी मोहनबहादुर शाहीले उद्घाटन गरेका थिए ।
ब्याडमिन्टन संघको वरीयताप्राप्त प्रतियोगितामा पुरुष एकलतर्फ भोजपुरका विशाल तामाङ र एपीएफका भोजबहादुर गुरुङ विजयी भएका छन् । विशालले पुलिसका हीराबहादुर राईलाई २१–१७, २१–५ र भोजले ललितपुरका सुविन श्रेष्ठ (ए) लाई २१–११, २१–११ को समान अन्तरले हराए ।
बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा पुरुष एकलमै कैलालीका शिशिर रानाले दार्चुलाका पप्पु पाललाई २१–१०, २१–१४ ले, युनिटी ब्याडमिन्टन एकेडेमीका सुनील कार्कीले महोत्तरीका इशान झालाई २२–२०, २०–२२, २१–१३ ले, एपीएफका क्षितिज खनालले युनिटीका नरेन्द्र बमलाई २१–१५, २१–१८ ले र आर्मीका सौर्य महर्जनले गोरखाका मुकुल गुरुङलाई २१–१३, २१–१६ ले हराए ।
प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरीयताबाहेक), यू–१७ ब्वाइज र गर्ल्स तथा मास्टर ४५ माथि युगल गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ । सबै विधाका शीर्ष तीनका विजेताले नगद पुरस्कार पाउनेछन् ।
