आयोजकसहित ग्रिनल्यान्ड र त्रिज्योति बास्केटबल च्याम्पियन

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Greenland and Trijyoti Basketball Champions with hosts

काठमाडौँ — आयोजक भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योतिले १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । भ्याली सिनियर गर्ल्स, ग्रिनल्यान्ड ब्वाइज र त्रिज्योति जुनियर ब्वाइजमा च्याम्पियन बने ।

घरेलु कोर्टमा सोमबार सिनियर गर्ल्सको फाइनलमा भ्याली पब्लिकले टीआईएलाई ३५–१७ स्कोरले पराजित गर्‍यो । भ्यालीकी लोरिसा गौचनले १० स्कोर जोडिन् ।

सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५४–३९ स्कोरले हरायो । ग्रिनल्यान्डका सुरेश बिसीले २१ स्कोर गरे । जुनियर ब्वाइजको फाइनलमा त्रिज्योतिले गोल्डेनपिकमाथि ३१–२८ को जित पाउँदा त्रिज्योतिका ताङ्बु शेर्पाले १३ स्कोर जोडे ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका महेन्द्र केसी, सिनियर गर्ल्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनियर ब्वाइजमा त्रिज्योतिका साम्देन शेर्पा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका लाक्पा छिरिङ लामा, सिनियर गर्ल्समा भ्यालीकी एन्जल गुप्ता र जुनियरमा भ्यालीका आर्यन गुरुङ सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा भ्यालीका अनिमेश अधिकारी, गर्ल्समा टीआईएकी एन्जिला शाही र जुनियरमा गोल्डेनपिकका अनमोल राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

ब्वाइजमा हेराल्ड, गर्ल्समा केभीकेएसएस र जुनियरमा एसिया प्यासिफिक इमर्जिङ टिम बने ।

विजेतालाई इन्जिनियर हरिभक्त गुरुङ, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी,सह–संस्थापक सुनीता अधिकारी, महेश अधिकारीलगायतले पुरस्कृत गरे ।  

कान्तिपुर

Link copied successfully