काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आइतबार स्पष्ट नौ अंकको अग्रता लिएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–० ले हरायो । यो नतिजाले डिफेन्डिङ च्याम्पियन सिटीको समस्या अझ गहिरो भएको छ ।
पहिलो हाफमा पूर्णतः हाबी रहेको लिभरपुलका लागि १२ औं मिनेटमा कोडी गाक्पोले गोलको खाता खोले । त्यसपछि मोहमद सलाहले दोस्रो हाफमा पेनाल्टीबाट दोस्रो गोल थपे । आर्ने स्लटको लिभरपुलको यो २० खेलमा १८ औं जित हो ।
सिटी भने लिभरपुलसँग ११ अंकको दूरीमा रह्यो । सिटी पछिल्ला सात खेलमा जितहीन रहेको छ र त्यसमध्ये छ खेलमा पराजित समेत रहेको छ । लिभरपुलको १३ खेलबाट ३४ अंक भएको छ भने उसको पछाडि आर्सनल र चेल्सीको समान २५ अंक छ ।
खेलपछि लिभरपुल समर्थकले सिटीका व्यवस्थापक पेप ग्वार्डिओलातर्फ इंगित गर्दै वर्खास्तीमा पर्ने नारा लगाएका थिए । त्यसको जवाफमा स्पेनी प्रशिक्षकले छ औंला देखाएका थिए र यो उनले सिटीका लागि जितेको लिग उपाधिको संख्या थियो ।
ग्वार्डिओलाले पछि प्रतिक्रिया दिए, ‘जति बेला आफू जितिन्छ, आफै हाँसिन्छ । जति बेला अरू जित्छन्, अरू नै हाँस्छन् । यो त खेलकै एक भाग हो । अब हामीलाई लिग जित्न असाध्यै गाह्रो छ । तर हामीले राम्रो प्रदर्शनका लागि अथक प्रयास गर्नेछौं ।’
आइतबारका अन्य खेलमा चेल्सीले एस्टन भिल्लालाई ३–० र आर्सनलले एभरटनलाई ४–० ले हरायो भने टोटनहम र फुलहमले १–१ को बराबरी खेले । ब्राइनट भने २३ अंकमा चौथो स्थानमा छ । त्यसपछि मात्रै सिटी २३ अंकमै रहेको छ ।
