विराटनगरका मार्टिन गप्टिलले भने– ‘मलाई पनि सुरुमा ब्याटिङ गर्न गाह्रो भएको थियो, यो स्कोरमा टिम अलआउट हुन्छ भनेर सोचेको थिइनँ’
काठमाडौँ — लाहिरू मिलान्थाको अविजित ७५ रनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
जनकपुरले शनिबार एनपीएलको पहिलो खेलमा विराटनगर किंग्समाथि ८ विकेटको विजय नतिजा निकालेको हो । श्रीलंकामा जन्मिएका अमेरिकी खेलाडी मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले १ सय २८ रनको लक्ष्य १५.३ ओभरमै पूरा गरेको थि यो । लाहिरूले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरेपछि जनकपुरले १ सय ३१ रन बनाएको थियो ।
लाहिरूले हर्ष ठाकेरसँग तेस्रो विकेटमा १ सय १६ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई आरामदायी जित दिलाए । ठाकेरले ३३ बल खेल्दा २ चौकासहित २९ रन बनाए । स्कोर बराबरी रहेको अवस्थामा उनले नै निकोलस किर्तनको बलमा विजयी चौका प्रहार गरेका हुन् ।
जनकपुरले विराटनगरको अनियन्त्रित बलिङको पूरा फाइदा उठायो । विराटनगरले अतिरिक्तमै २२ रन दिएको थियो । क्रिस सोलले पहिलो ओभरमै ३ वाइड फाले, जसमा इनिङ्सको पहिलो बल लेगसाइडमा चौका गएको थियो । सोलले नै आसिफ शेखलाई पहिलो ओभरमा शून्यमा बोल्ड गरे । कप्तान अनिल साह पनि ५ रनमा बनाई प्रतिश जिसीको बलमा बोल्ड हुन पुगे ।
यसअघि मार्टिन गप्टिलले अर्धशतक बनाए पनि टस हारेर ब्याटिङमा आएको विराटनगर १९ ओभरमै १ सय २७ रनमा अलआउट भएको थियो । गप्टिलले ४३ बलमा ५५ रन बनाए । न्युजिल्यान्डका पूर्वओपनर उनले ७ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरमा
उनले बेन माइकलाई स्ट्रेट छक्का प्रहार गरी व्यक्तिगत अर्धशतक पूरा गरेका थिए । त्यसको अर्को ओभरमा हर्ष ठाकेरले उनलाई लङअनमा कप्तान अनिल साहबाट क्याच गराए ।
‘विकेट सजिलो थिएन, मलाई पनि सुरुमा ब्याटिङ गर्न गाह्रो भएको थियो, बल बसेर आइरहेको थियो । यो स्कोरमा टिम अलआउट हुन्छ भनेर मैले सोचेको थिइनँ,’ गप्टिलले भने, ‘पूरै टोलीले एकसाथ खेलेको यो पहिलो खेल थियो, त्यही भएर टिममा सन्तुलन मिल्न गाह्रो भइरहेको थियो । अर्को खेलदेखि सबै मिल्ने आशा गरेको छु ।’
विराटनगरको सुरुआत राम्रो थिएन । खेलको पहिलो ओभरमा चौका प्रहार गरेका लोकेश बमलाई दोस्रो ओभरको पहिलो बलमा ललित राजवंशीले बोल्ड गरेका थिए । लोकेशले ५ रनमात्र बनाउन सके । अकिब इल्यासले पनि १८ बलमा १५ रनमात्र बनाए । ओमानका पूर्वकप्तान इल्यासलाई मोहम्मद मोहसिनले एलबीडब्लू आउट गरे । गुप्टिल र इल्यासबाहेक विराटनगरबाट अन्यले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।
निकोलस किर्तन ९, राजेश पुलामी १, प्रतिश जिसी २, बसिर अहमद र सन्दीप लामिछाने समान ७ तथा क्रिस सोल ४ रनमा आउट भए । आफ्ना क्यानेडियन कप्तान किर्तनलाई ठाकेरले बोल्ड गरेका थिए । जितेन्द्र मुखियाले खाता खोल्न सकेनन् । अनिल खरेल ७ रनमा अविजित रहे । जनकपुरबाट ललितले ३ विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चिए । ठाकेर र किशोर महतोले २–२ तथा मोहसिन र माइकले १–१ विकेट लिए । ठाकेरले ४ ओभरमा २२ र किशोरले ३ ओभरमा १८ रन खर्चेका थिए ।
बिहानदेखि भरिभराउ
एनपीएलको व्यग्र प्रतीक्षामा रहेका दर्शक बिहानैदेखि कीर्तिपुर मैदान पुगेका थिए । कीर्तिपुर मैदानको खुला प्यारापिट सबै भरिभराउ रह्यो । सुरक्षार्थ खटिएका प्रहरीले चारैतिर घेरा हालेर बसेका कारण दर्शकदेखि आमन्त्रितहरू पनि रंगशाला छिर्न सकसमा परेका थिए ।
टिकट काटेर पनि रंगशालाभित्र जान नपाएका दर्शकको हकमा आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले उनीहरूको टिकटको रकम फिर्ता गरिदिने जनाएको छ । आइतबार स्थानीय तह उपनिर्वाचनका कारण कुनै खेल हुने छैन । सोमबार काठमान्डु गुर्खाज र चितवन राइनोज तथा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्ने छन् ।
सुदूरपश्चिम रोयल्सले ग्लोबल आईएमई बैंकलाई मुख्य प्रायोजकमा ल्याएको छ । शनिबार सुदूरपश्चिमका मालिक स्वतन्त्रप्रताप शाह र ग्लोबल आईएमईबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उही मिलान्था लाहिरू मिलान्था दुई वर्षपछि नेपाल फर्किएका हुन् । तर, पहिलेका मिलान्था र अहिलेका मिलान्थामा खासै फरक थिएन । दुई वर्षअघिको विवादास्पद नेपाल टी–२० लिगमा उनले लुम्बिनी अलस्टार्सबाट खेलेका थिए । उनले अलस्टार्सलाई विजेता बनाउने क्रममा १२२ माथिको स्ट्राइक रेटमा ३ सय ४९ रन जोडेका थिए ।
उनी उक्त प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी सूचीमा तेस्रो स्थानमा थिए । मिलान्थाले विराटनगर सुपर किंग्सविरुद्ध फाइनलमा २८ बलमा ४१ रन बनाएका थिए । दुई वर्षपछि नेपाल फर्किएका उनी उस्तै रहे । विकेटमा जमेपछि उनले हरेक जसो बाउन्ड्रीमा खुसी मनाए । उनले ३९ बलमा अर्धशतक प्रहार गरेका थिए । मिलान्थाले विकेटमा टिकेर खेल्दा टिमलाई सजिलो भएको जनकपुरका कप्तान अनिल साहले बताए ।
