पटक–पटक केन्द्र र प्रदेशको सत्ता परिवर्तनको प्रत्यक्ष असर दसौं प्रतियोगितामा, बन्द प्रशिक्षण बसेका खेलाडी घर फर्किए
सुर्खेत — तीन वर्षअघि वीरेन्द्रनगर–८ आवास क्षेत्रको पश्चिमतर्फ खाली मैदान थियो । मुलुक संघीयतामा गएपछि कर्णाली प्रदेशमा रंगशाला निर्माणको चर्चा चल्यो । अन्य प्रदेशमा खेलकुदका कुनै न कुनै संरचना थिए । कर्णाली प्रदेशको सुर्खेतमा अत्याधुनिक रंगशाला निर्माण गर्ने र दसौं राष्ट्रिय खेलकुद आयोजना गर्ने हुटहुटीका साथ तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले २१ मंसिर, २०७८ मा कर्णाली रंगशाला आयोजनाको शिलान्यास गरेका थिए ।
सम्भाव्यता अध्ययन, जग्गा प्राप्तिलगायतका निर्माणपूर्वका सबै तयारीहरू अघिल्ला मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पालामा सम्पन्न भइसकेका थिए ।
‘नवौं राष्टिय खेलकुद गण्डकी प्रदेशमा हुने तयारी हुँदै थियो, हामीले पूर्वाधार निर्माणका काम तीन वर्षमा सकेर २०८१ मंसिरमा दसौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्न सकिन्छ भन्ने ध्येयका साथ रंगशाला निर्माणलाई तीव्रता दिएका थियौं,’ तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले भने, ‘प्रदेश गौरवका रूपमा आयोजना अघि बढाइएकाले त्यसपछिका हरेक सरकारको प्राथमिकतामा पर्यो, आयोजना निर्माणमा कुनै अवरोध भएन ।’
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार कर्णाली रंगशाला निर्माणको ९९ प्रतिशत काम पूरा भएको छ । नेपालमा भइरहेकामध्ये यसलाई अत्याधुनिक प्रकृतिको रंगशाला मानिन्छ । प्रदेश सरकारले वीरेन्द्रनगरमा निर्माणाधीन कर्णाली रंगशालाका अतिरिक्त दसौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर कालिञ्चोकमा क्रिक्रेट मैदान निर्माण भई सञ्चालन र व्यवस्थापनका लागि कर्णाली प्रदेश क्रिक्रेट संघलाई हस्तान्तरण भइसकेको छ ।
वीरेन्द्रनगरको मध्य भागमा बनेको अत्याधुनिक रंगशालाका रंगीन तस्बिरहरू यति बेला सामाजिक सञ्जालमा छाइरहेका छन् । यो रंगशालालाई कर्णालीको समृद्धिसँग जोडेर हेर्ने गरिएको छ । भव्य र सुन्दर यो रंगशालाले दसौं राष्ट्रिय खेलकुदलाई निम्तो दिनुका साथै नेपाली खेलकुदको महाकुम्भलाई व्यवस्थापन गर्न सक्षम रहेको परिचय दिइरहेको छ । परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्याल दसौं राष्ट्रिय खेलकुदका लागि सबै पूर्वाधारहरू तयारी अवस्थामै रहेको बताउँछन् । ‘पूर्वाधारको हिसाबले कर्णालीमा कुनै कमी छैन, आवास व्यवस्थापनमा पनि समस्या नहुने गरी विभिन्न जिल्लामा प्रतियोगिता सञ्चालन गर्न सकिन्छ, उनी भन्छन् ‘तर संघीय सरकारले कहिले गर्ने भनेर मिति टुंगो लगाइदिनुपर्यो, हामी स्वागत गर्न तयार छौं ।’
२०७९ कात्तिक ३ गते गण्डकी प्रदेशको पोखरामा दसौं राष्टिय खेलकुद प्रतियोगिता २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने गरी झन्डा हस्तान्तरण गरिएको थियो । त्यतिबेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई दसौंको जिम्मेवारी सुम्पेका थिए । मंसिर २ को प्रस्तावित मिति राष्ट्रिय खेलकुद परिषद्को हो । विभिन्न कारणले यो मिति घर्के पनि अब कुन मितिमा प्रतियोगिता हुन्छ भन्ने टुंगो लागेको छैन । संघीय सरकारले नयाँ मिति प्रस्ताव गरेको छैन । त्यसले गर्दा कर्णालीमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्योलमा छ । मिति नतोकिँदा प्रदेशलाई खेल व्यवस्थापनको तयारीमा समेत सकस भइरहेको छ । बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई घर पठाइएको छ भने तम्तयार अवस्थामा रहेका खेल संरचनाहरूमा ताला लाग्ने अवस्था रहेको छ ।
पटक–पटक केन्द्र र प्रदेशको सत्ता परिवर्तनको प्रत्यक्ष असर दसौं प्रतियोगितालाई परेको छ । राजनीतिक नेतृत्वको अनुकूल खेलकुद परिषद्हरू बनाउन खोज्दा दसौंको भविष्य अन्योलमा परेको आरोप लाग्ने गरेको छ । कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री बिन्दमान विष्टका अनुसार नेपालको खेल क्षेत्रको इतिहासमा पहिलो पटक एउटा राष्ट्रिय प्रतियोगिता सकिँदै गर्दा अर्को प्रतियोगिताको मिति तोकिएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता नै हो । ‘कर्णालीलाई उहिलेबाट हेर्ने दृष्टिकोण ठीक छैन, त्यसमाथि दसौं प्रतियोगिता कर्णालीमै हुने भन्दा झनै चासो दिइएको पाइँदैन,’ उनले भने, ‘कुनै व्यक्ति र पदाधिकारीका कारण प्रतियोगिता रोकिएको हो भने यो ठीक होइन ।’ सरकारले कार्यकर्ता भर्ती गराउनेभन्दा पनि प्रतियोगिता गराउन ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।
सदस्य–सचिव सन्ज्यालले कर्णाली प्रदेशले खेलकुदको ‘महाकुम्भ’ गर्न सक्ला ? सम्झौता अवधिमा रंगशाला निर्माण गर्ला र भन्ने संशयलाई काम गरेर देखाइदिएको बताउँछन् । ‘राष्ट्रियस्तरको प्रतियोगिता पहिलो पटक कर्णालीले गर्ने अवसर जुटेको थियो, त्यो प्रदेश सरकार र संघ सरकारले चासो दिएनन्, प्रतियोगिताको मुखमै राजनीति हावी भयो,’ उनी भन्छन् । संघीय सरकारले तयारी नगर्दा खेलाडी र पूर्वाधार तयार हुँदासमेत प्रतियोगिता आयोजनाको समय टर्दै गएको बताइएको छ ।
परिषद्ले झन्डै ८ खेलका २ सय २० खेलाडीहरू बन्द प्रशिक्षणमा राखेको थियो । प्रतियोगिता नहुने हुँदा खेलाडीहरू प्रशिक्षणबाट फर्काएर घर पठाइएको छ । प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रेम हमालले पूर्वाधारका कारण प्रतियोगिता नसरेको दाबी गर्छन् । ‘संरचना पूरा भएको छैन, त्यसैले प्रतियोगिता हुन ढिला भएको भन्न बेकार छ,’ उनले भने, ‘यहाँ विविध कारणहरू देखापरे, पूर्वाधार त प्रतियोगिता सार्ने बहानो हो ।’
राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दसौं प्रतियोगिता फागुनमा गर्ने तयारीमा जुटेको बताउँदै सञ्चालन कार्यविधिबारे मन्त्रालयमा छलफल भइरहेको जानकारी दिए । राष्ट्रिय खेलकुद परिष्दका सदस्य–सचिव टंकलाल घिसिङले सरकारले चासो नदिँदा तोकिएको मितिमा प्रतियोगिता गर्न नसकेको बताउँछन् । कर्णालीका सुर्खेतबाहेक रुकुम पश्चिमको चौरजहारी, दैलेख, कालीकोट, जुम्ला, हुम्ला र मुगुमा विभिन्न खेलहरू खेलाइने तयारी छ ।
दैलेखमा कबड्डी, कालीकोटमा कराते, जुम्लामा फुलककन्ट्याक्ट, कराते र बुद्धिचाल, हुम्लामा हक्की, मुगुमा कबड्डी, रुकुम पश्चिममा तेक्वान्दो, सल्यानमा टेबलटेनिस प्रतियोगिता गराउने तयारी गरिएको थियो । ती खेलहरू सञ्चालन हुँदा त्यहाँ पुग्ने खेलाडी र दर्शकको अनुमान गरेर मात्र व्यवस्थापकीय तयारी भइसकेको परिषद्को भनाइ छ । कर्णाली प्रदेश रंगशाला परिसरमा एथलेटिक्स ‘आईएएफ स्ट्यान्डर्डको सेन्थेटिक ट्र्याक बनेको छ । फिना स्ट्यान्डर्डको पौडी पोखरी, फिफा स्ट्यान्डर्डको फुटबल मैदान, मल्टिप्रपोज इन्डोर कबर्ड हल, आउटडोर खेल मैदान, मार्सल आर्ट कबर्ड हल बनेका छन् । यस्तै सर्टर ब्लक, पार्किङ, विभिन्न प्रकारका फाउन्टेनहरू तयार भइसकेका छन् । १ अर्ब ५९ करोड ४७ लाख लागतमा निर्माण सम्पन्न भएको हो ।
रंगशालाभित्र के छ ?
कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाको रूप दिएको प्रदेश रंगशालामा विभिन्न प्रविधिका सुविधा सम्पन्न संरचनाहरू निर्माण भएका छन् । रंगशालाभित्र निर्माण गरिएको फुटबल फिफाको मापडण्डअनुसार १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान बनेको छ । उक्त मैदानमा १० हजार दर्शक बस्ने प्याराफिट बनेको छ । मैदानभित्र अत्याधुनिक प्रविधिअनुसार निर्माण गरिकाले पानी परेको खण्डमा २० देखि २५ मिनेटभित्र पुनः प्रतियोगिता सञ्चालन गर्न मिल्नेछ । मैदानभित्र सिँचाइका लागि नयाँ प्रविधिको स्प्रिनकल जडान गरिएको छ । ३० मिनेटभित्र मैदान सिँचाइ हुने गरी ७ वटा प्वाइन्ट जडान गरिएको छ । मैदानसँगै खेलाडीका लागि चेन्जिङ कक्ष, वेटिङ कक्ष, रेस्ट रुम, फिजियो कक्ष र मेडिकल कक्षलगायत पूर्वाधारको निर्माण गरिएको छ । १५ सय दर्शक क्षमतासहित निर्माण भएको इन्डोर भलिबल कबर्ड हल तयारी अवस्थामा छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी बत्ती जडान गरिएको छ । इको–कबरेज गर्न साउन्ड सिस्टम लगाइएको छ । हलमा एकै पटक दुई वटा प्रतियोगिता सञ्चालन गर्न सकिनेछ । फुटबल मैदानसँगै बनेको एथलेटिक्स ट्र्याक आईएएफ स्टान्डर्डबाट सर्टिफाई भएको ४ सय मिटर लामो ट्र्याक बनेको छ । यसमा हाइजम्प, लमजम्पलगायत एथलेटिक्सका सम्पूर्ण विधाहरूका प्रतियोगिता गर्न सकिनेछ । फुटबलको मैदानसँगै निर्माण गरिएको ‘फिना’ स्टार्न्डडको २५ मिटर चौडाइ २५ मिटर लम्बाइको पौडी पोखरी बनेको छ ।
एकै पटक १० जना खेलाडीहरूले प्रतियोगितामा भाग लिन सक्नेछन् । त्योसँगै पानी फिल्टर गर्ने मेसिनहरू र खेलाडीहरूका लागि छुट्टै भवन निर्माण गरिएको छ । प्रतियोगितालाई लक्षित गर्दै एकैसाथ रंगशालामा फुटबल, एथलेटिक्स ट्र्याक, पौडी पोखरी, मार्सलआर्ट इन्डोर हल, भलिबल तथा बहुउद्देश्यीय कबर्ड हललगायत आउटडोर कोटहरू निर्माण भएका छन् । कर्णालीमा २४ वटा विधाका खेल प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो ।
