रौतहट — गरुडा र यमुनामाई नगरपालिकाले प्रथम मेयर ट्वान्टी–२० लिग क्रिकेटमा आइतबार जित हात पारेका छन् ।
संघर्ष युवा क्लबको आयोजनामा चन्द्रपुर–८ स्थित कोटीहोम मैदानमा गरुडाले कटहरिया नगरपालिकालाई ४ विकेट र यमुनामाईले चन्द्रपुर नगरपालिकालाई ३ विकेटले पराजित गरेका हुन् । यमुनामाईको यो दोस्रो जित हो ।
टस हारेर पहिला ब्याटिङ गरेको कटहरियाले ७ विकेटको क्षतिमा १०७ रन जोड्यो । टिमका लागि नरेश साहले ४२ बलमा ४४ रन बनाए । राहुल यादवले ३३ बलमा २३ र ईशान अन्सारीले ११ बलमा १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
गरुडाका बलर अभिनाष चौधरीले १८ रन खर्चेर ३ विकेट लिए । नितेषकुमारले २९ रन दिएर २ र राकेश पटेल, रामकिसुन मुखियाले १/१ विकेट हात पारे ।
१०८ रनको लक्ष्य पाएको गरुडा नगरपालिकाले ६ विकेट गुमाएर विजय हात पार्यो । गरुडाका लागि धर्मेन्द साहको प्रदर्शन शानदार रह्यो । उनले २९ बल खेलेर २७ रन बनाए । निकै रोमाञ्चक म्याचमा अन्तिम समयमा साहले टिमलाई जिताएका थिए । टिमका लागि दिपेश साहले २२ बलमा २० र निश्चलविक्रम साहले २२ बलमा २१ रन बनाए । कटहरियाका बलर भोला मालीले ८ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै राहुल यादवले १८ रन खर्चेर २ विकेट लिए । ईशान अन्सारी र दिपु साहले १/१ विकेट लिए । खेलमा गरुडाका अरविन्द चौधरी प्लेयर अफ द म्याच भए ।
दोस्रो खेलमा यमुनामाईले टस जितेर फिल्डिङ रोजेको थियो । ब्याटिङका लागि मैदानमा उत्रेको चन्द्रपुरले २० ओभरको खेलमा ६ विकेट गुमाएर १११ रन बनाएको थियो । उसका लागि एमडी नवीन आलमले ९ बल खेलेर ३ चौकाको मद्धतमा २० रन बनाए । आदिल अन्सारीले २३ बल खेलेर २०, दानिस अहमदले ३३ बलमा १८, गौरव खड्काले १६ बलमा १८ र लालु अन्सारीले १५ बलमा १४ रन बनाए । ४ विकेट बाँकी हुँदा पनि चन्द्रपुरले सोचेको जस्तो रन बनाउन सकेन ।
यमुनमाईका बलर अजय ठाकुरले १३ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै कप्तान डब्लु मलिकले ३४ रन खर्चेर ३ विकेट लिए । ११२ रनको लक्ष्यसाथ मैदान उत्रिएको यमुनामाईले ५ बल बाँकी छँदै जित हात पारेको थियो । यमुनामाईका लागि शैलेन्द्र साहले ४७ बल खेलेर ४४ रन बनाए । कप्तान डब्लु मलिकले ४० बल खेलेर ३२ रन बनाए । ६ विकेटको नोक्सानीमा यमुनामाले जित हात पारेको हो । चन्द्रपुरका बलर एमडी नवीन आलमले २३ रन दिएर ४ विकेट लिए । मोहन घिमिरे र सोनु यादवले १/१ विकेट लिए । खेलमा यमुनामाईका कप्तान डब्लु मलिक प्लेयर अफ द म्याच भए ।
