तेक्वान्दो प्रशिक्षक जगन अधिकारी अमेरिकामा सम्मानित

मंसिर ९, २०८१

अनिश तिवारी

Taekwondo coach Jagan Adhikari honored in America

सिन्धुपाल्चोक — तेक्वान्दो प्रशिक्षक जगन अधिकारी अमेरिकाको सिकागोमा तेक्वान्दो हेडक्वाटर्स कुकिवोनबाट सम्मानित भएका छन् । उनलाई कुकिवोनले आउट स्ट्याण्डिङ उपाधिबाट सम्मान गरेको हो ।

शनिबार आयोजित कोर्स प्रदर्शनीमा उत्कृष्ट प्रर्दशन गरेवापत विश्व तेक्वान्दो एकेडेमीका निर्देशक सन ली किम र ग्रान्ड मास्टर जे यू आनले अधिकारीलाई उक्त सम्मान प्रदान गरेका हुन् । 

युएईमा एक दशकदेखि प्रशिक्षक रहेका उनलाई ११५ औं तेश्रो अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्स २०२४ प्रदर्शनको आधारमा कुकिवोन बेल्ट र प्रशंसा पत्र प्रदान गरिएको थियो । 'यो सम्मानको मेरो खेलकुद र सम्पूर्ण जीवनका लागि गहिरो र महत्वपूर्ण अर्थ छ, यसले मलाई अघि बढ्न झनै प्रेरणा दिएको छ,' प्रशिक्षक जगनले भने ।

उनले यसअघि विश्व तेक्वान्दोको आयोजनामा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा भएको विश्व वरियत जी २ युएस ओपन तेक्वान्दोमा नेपालबाट प्रतिनिधित्व गर्दै सहभागीता जनाएका थिए । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully