काठमाडौँ — सन्जितकुमार राई डब्लूएमएसी वेल्स खुला मार्सल आर्टस प्रतियोगितामा भाग लिन शुक्रबार युकेको साउथ वेल्स गएका छन् ।
नोभेम्बर २४ तारिखमा इबीबीडब्लू भेल लिजर सेन्टर साउथ वेल्समा हुने प्रतियोगितामा सन्जितले २ स्पर्धामा भाग लिनेछन् । उनले चाइनिज क्रिएटिभ फम र चाइनिज ट्रेडिसनल फम्समा प्रतिस्पर्धा गर्नेछन् ।
सन्जितलाई नेपाल उमा कुङफु संघका महासचिव कमल मगरले बिदाइ गरे । यसअघि सन्जितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा २ स्वर्ण र १ कांस्य जितेका छन् ।
उनले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण र १ कांस्य तथा २०२४ मा अमेरिकाको न्यु जर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।
राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले २ स्वर्ण जितेका छन् । सन्जित नेपाल उमा कुङफु संघका नवनिर्वाचित अध्यक्ष हुन् ।
