सुर्खेत — कर्णाली याक्सका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपाल प्रिमियम लिग ‘एनपीएल’को उपाधि जितेर परिक्रमा कर्णाली आउने लक्ष्य रहेको बताएका छन् ।
उनले कर्णालीको नामबाट खेल्न पाउँदा निकै खुसी लागेको बताए ।
‘हामीले एनपीएलको उपाधि जित्ने गरेर तयारी गरेका छौं । अहिले हामीसँग कर्णालीबाट दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिषविक्रम सिंह टिममा छन्,' उनले भने, ‘ट्यालेन्ट हन्टमार्फत थप एक जना खेलाडी समावेश गर्दैछौं ।’
कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीले भारतीय खेलाडी शिखर धवन कर्णाली याक्समा आबद्ध हुँदा कर्णालीको चर्चा राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा भइरहेको बताए । कर्णाली याक्समा मार्की खेलाडी सोमपाल कामी, गलसन झा, देव खनाल, ऋत गौतम, नन्दन यादव, मौसम ढकाललगायतका चर्चित र खेल जिताउने खेलाडीहरू कर्णालीसँग रहेकाले टिम मजबुत रहेको मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लको भनाइ छ ।
‘कर्णाली याक्समात्र नभएर कर्णालीको प्रचार–प्रसार, क्रिकेट प्रतियोगिताहरू आयोजना गर्ने छौं,' उनले भने, ‘कर्णाली याक्स मात्र नभएर अन्य प्रतियोगितामा कर्णालीका खेलाडीहरू समावेश गर्ने लक्ष्य राखेका छौं ।’
खेलले स्थानलाई दुर्गम नमान्ने र प्रतिभा भएमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन गाह्रो नहुने उनले बताए ।
