एक वर्षका लागि १५ लाख दिने
काठमाडौँ — नेपाली राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारीलाई भाटभटेनी सुपरमार्केटले १५ लाख रुपैयाँको प्रायोजन गरेको छ ।
एक वर्षे प्रायोजन सम्झौतामा शुक्रबार भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोर्स प्रालि र खेलाडी उषाबीच हस्ताक्षर भएको छ । सम्झौताअनुसार उषाका लागि भाटभटेनीले १० लाख र उसकै सहायक कम्पनी टी–१० स्पोर्ट्स ब्रान्डले ५ लाख रुपैयाँ प्रदान गर्नेछ ।
त्यसका लागि भाटभटेनीको तर्फबाट निर्देशक कल्याण गुरुङ, टी–१० स्पोर्ट्सबाट बिजनेस डेभलपमेन्ट प्रमुख आलोकजंग जोशी र राष्ट्रिय खेलाडी उषाबीच सम्झौतापत्र हस्ताक्षर भएको थियो ।
नेपालको राष्ट्रिय खेल भलिबल र त्यसमा आबद्ध महिला खेलाडीलाई प्राथमिकतामा राख्दै उषासँग सम्झौता गरिएको निर्देशक गुरुङले बताए । अन्य खेलका खेलाडीलाई आफ्नो संस्थाले विगतमा प्रायोजन गर्दै आए पनि भलिबलमा सुरुआत भएको उनले बताए ।
महिला सशक्तीकरणमा टेवा पुर्याउने संस्थाको उद्देश्यअनुरुप महिला खेलाडीलाई आफ्नो खेल अगाडि बढाउन सहयोग पुगोस् भनेर प्रायोजन गरिएको टी–१० का डेभलपमेन्ट प्रमुख जोशीले बताए । उनले प्रायोजनको रकम मासिक उनको बैंक खातामा पठाइने बताए । १५ लाखबाहेक वर्षभर उनलाई आवश्यक टी १० का खेल पोसाक पनि उपलब्ध गराइने जोशी जानकारी गराए ।
प्रायोजनपछि खेलाडी उषाले निजी क्षेत्रको यस किसिमको सपोर्टले आफू र समग्र महिला भलिबललाई उचाइमा पुर्याउन हौसला मिलेको बताइन् । नेपाल पुलिस क्लबबाट खेल्ने उनले प्रायोजक भाटभटेनी सुपरमार्केटप्रति आभार व्यक्त गरिन् ।
उषाले हालै सम्पन्न एभरेस्ट महिला फ्रेन्चाइज लिग भलिबलमा काठमाडौं स्पाइकर्सको नेतृत्व गरेकी थिइन् ।
