काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको प्रसारण प्रसिद्ध खेल च्यानल स्टार स्पोर्ट्सले गर्ने संकेत गरेको छ । प्रशारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्क इच्छुक देखिएको एनपीएलको स्ट्राटेजिक एन्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकले जनाएको छ ।
ब्रान्ड लजिकले जनाएअनुसार भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग प्रसारण अधिकारका लागि अन्तिम चरणको छलफल भइरहेको छ । लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले एनपीएलको प्रसारण अधिकारको लागि स्टार स्पोर्ट्ससँगको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र छिट्टै नतिजा आउने बताए ।
उनले भने, ‘नेपाली क्रिकेट प्रशंसकहरू सधैं खेलको प्रसारण गुणस्तरलाई लिएर चिन्तित छन्, हामी नेपाली क्रिकेटलाई माया गर्ने समर्थकको खेल हेर्दाको अनुभव राम्रो बनाउने विषयप्रति एकदमै सचेत छौं । एनपीएललाई विश्वस्तरीय लिग बनाउने हाम्रो लक्ष्यमा खेलको राम्रो स्तरको उत्पादन र प्रसारण अत्यन्त महत्त्वपूर्ण हुन्छ, यही कारणले हामी विश्वस्तरीय उत्पादन र प्रसारणसम्बन्धी अनुभवी कम्पनीसँग छलफलमा थियौं । स्टार स्पोर्ट्ससँगको छलफल अन्तिम चरणमा पुगेको छ र हामी छिट्टै सकारात्मक नतिजा सार्वजनिक गर्छौं ।’
स्टार स्पोर्ट्स विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने खेल च्यानलमध्ये एक हो, जसले एनपीएललाई नेपालभित्रमात्र सीमित नगरी दक्षिण एसियालगायत अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्याउने विश्वास ब्रान्ड लजिकको छ ।
