कर्णाली याक्सको जर्सी सार्वजनिक, मैदान कर्णालीमय बन्ने अपेक्षा

कार्तिक २३, २०८१

कान्तिपुर संवाददाता

Karnali Yaks jersey released, the field is expected to be Karnali

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्सले शुक्रबार आफ्नो जर्सी सार्वजनिक गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झल्को दिने गरी जर्सी तयार पारेको छ । जर्सीमा कर्णालीको प्रतिनिधित्व गर्ने हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी नीलो रंगसहित कर्णालीमा पाइने याकको प्रतीक छ ।

मार्की खेलाडी सोमपाल कामी र ‘फेस अफ कर्णाली याक्स’ अभिनेत्री स्वस्तिमा खड्काले जर्सी प्रदर्शन गरे । कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री पूर्णबहादुर खड्का, कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, टिम प्रशिक्षक ज्ञानेन्द्र मल्लसँगै कर्णाली याक्समा आवद्ध खेलाडीको सहभागिता थियो ।

पूर्वमन्त्री खड्काले भने, ‘अहिले नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ । कर्णालीको  हिमाली भाग, धार्मिकस्थल, कर्णालीसँगै जोडिएको भूभाग कैलाश मानसरोवर भ्रमण गर्न जो कोहीलाई कर्णाली याक्समार्फत हौसला प्राप्त हुने विश्वास छ ।’

प्रतियोगिताका लागि हिमायलन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुलशन झा, देव खनाल र नन्दन यावदलाई लिएको थियो । ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीमा दीपेन्द्र रावत, युनिशविक्रम ठकुरी र दीपक डुम्रे छन् ।

विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ । प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ ।

क्यान सचिव खड्काले कर्णाली याक्सलाई समर्थन गर्न समर्थक जर्सीधारण गरेर कीर्तिमान मैदान आउने आस गर्दै काठमाडौं नै कर्णालीमय हुने बताए । ‘कर्णालीका सबै समर्थकले यो जर्सी लगाएर मैदानमा खेल हेरेको हेर्ने सपना छ । एनपीएन खेलमात्रै नभएर संस्कार हो,’ उनले भने, ‘कर्णाली याक्सको जर्सी निकै गजबको छ । जर्सी लगाएर कर्णालीकै समर्थन गर्नुहोला । आधा काठमाडौं अहिले नै कर्णालीमय भइसकेको छ ।’

कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कार्मीले एनपिएलमा टिमले सोचेको जस्तो प्रदर्शन दिने बताए ।

कान्तिपुर

Link copied successfully