काठमाडौँ — नेपाल प्रिमियर लिगको प्रतिस्पर्धी टोली कर्णाली याक्सले नायिका स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रूपमा अनुबन्धित गरेको छ ।
हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीसँग आबद्ध भएपछि स्वस्तिमाले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताइन् ।
नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको बताउँदै उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पुर्याउने योजना ल्याएको छ । त्यसैको प्रभावले यस टिमसँग जोडिन पुगेको हुँ ।’
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी फ्रान्समा खेलिरहेको र उनको प्रभावले पनि खेलकुदमा लाग्न प्रेरित गरेको प्रसंग स्वस्तिमाले सुनाइन् । ‘नेपालकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा व्यावसायिक फुटबल खेलिरहनु भएको छ । उहााले पनि फ्रान्समा नेपाल र नेपालीलाई चिनाउनु भएको छ । त्यसैले पनि खेलकुदले मलाई प्रभावित पार्यो ।’ उनले श्रीमान निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिन सहज स्पष्ट पारिन् ।
कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्ल उपस्थितिमा स्वस्तिमाको नाम सार्वजनिक गरिएको थियो ।
प्रशिक्षक मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद सन्देश रहेको र क्रिकेट विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले छिमेकी मुलुक भारतमा पनि यस्तै प्रचलन रहेकाले यो राम्रो कार्यको सुरुआत भएको सुनाए ।
कार्यक्रमबाटै कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको छ । गीतमा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुनील खनालको स्वर, संगीत र शब्द छ ।
कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका बलर सोमपाल कामी छन् ।
