वुमेन्स साफ च्याम्पियनसिपमा पाकिस्तानले अनपेक्षित नतिजा निकाल्न लागेको थियो तर बंगलादेशले इन्जुरी टाइममा त्यसलाई रोकिदियो
काठमाडौँ — वुमेन्स साफ च्याम्पियनसिपको इतिहास भन्नु नै यसमा ‘अपसेट’ नतिजा छँदै छैन । अर्थात् स्तब्धपूर्ण नतिजाको ठ्याक्कै अभाव । दशरथ रंगशालामा आइतबार डिफेन्डिङ च्याम्पियन बंगलादेशले पाकिस्तानको सामना गर्दा ९० मिनेटसम्मै लागिरहेको थियो, सन् २०२४ मा यस्तो एउटा खेलको इतिहास लेखिनेछ । तर लेखिएन । इन्ज्युरी समय ६ मिनेट देखाउँदासम्म पनि पाकिस्तान १–० ले अगाडि थियो ।
तर लगत्तै पहिलो मिनेटमै बंगलादेश बराबरी गोल फर्काउन सफल रह्यो । रितु पोर्ना चक्माको मीठो क्रसमा साम सुनहारले हेडबाट गोल गरिन् । बंगलादेशले यो खेल हारेको भए, उसलाई प्रतियोगिताबाटै बाहिरिने डर हुन्थ्यो । तर बराबरीको नतिजाको अर्थ हो, बंगलादेशले अब भारतविरुद्ध हुने अन्तिम खेलमा आफू अनुकूलको नतिजाका लागि प्रयास गर्नेछ ।
पाकिस्तानले भने त्यस खेलको व्यग्रसँग प्रतीक्षा गर्नेछ । यस नतिजापछि भारत भने समूह ‘ए’ त्यो अन्तिम खेल अगाडि नै सेमिफाइनल पुगेको छ किनभने उसको तीन अंक छ । उसले उद्घाटन खेलमा पाकिस्तानलाई हराएको थियो ।
‘आज हाम्रो खेल उत्कृष्ट रह्यो, खालि हामीले गोल गर्न मात्र सकिरहेका थिएनौं,’ बंगलादेशी प्रशिक्षक पिटर बटलरले भने, ‘जसले आज बंगलादेशको खेलको आलोचना गर्यो, म भन्छुं, त्यसले फुटबल बुझेकै छैन । तर फुटबलमा लगातार आक्रामक गरिरहँदा पनि गोल भने नहुन सक्छ । फुटबल भनेकै यस्तै हो । कसैले सोध्न सक्छ, फुटबल किन यति धेरै निर्दयी हुन्छ ? म भन्छुं, जीवन आफैंमा निर्दयी छ । फुटबलमा केही पनि सजिलै हात पर्दैन, यसका लागि मिहिनेत गर्नुपर्ने हुन्छ ।’
इंग्लिस फुटबलमा वेस्ट ह्याम र वेस्ट ब्रुमका लागि खेलेका पूर्वमिडफिल्डर बटलरले कतिसम्म दाबी गरे भने आफ्नो महिला टिमको प्रदर्शन बंगलादेशको पुरुष टिमभन्दा पनि राम्रो रहेको छ । हुन पनि पूरा खेल अवधिमा बंगलादेश पूर्णतः छाएको थियो । लगातार आक्रामक पनि गरेको थियो । तर गोल निस्किरहेकै थिएन । अझ दोस्रो हाफमा त बल पूर्णतः पाकिस्तानको आधा मैदानमै थियो । बंगलादेश बल्लतल्ल इन्ज्युरी समयमा बराबरी गोल निकाल्न सफल रह्यो ।
पाकिस्तानलाई भारतबाट आशा
‘हामीलाई अब भारतबाट आस रहनेछ, हामीले अनुकूल नतिजा निकाल्नेछौं भनेर,’ पाकिस्तानी टिमका प्रशिक्षक अदिल रिज्कीले भने । उनका अनुसार लिग चरणका आफ्नो अन्तिम खेलमा पाकिस्तानले त्यसरी नै खेलेको थियो, जस्तो योजना थियो । त्यो भनेको धेरै हदसम्म रक्षात्मक । ‘हाम्रो महिला टिमले एक वर्षको अन्तरमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ, त्यसैले धेरै आस पनि गर्नु हुन्न । आज जति खेल्यो, त्यो धेरै रह्यो ।’
उनले थपे, ‘अन्तिम समयमा गोल खानु जहिले पनि निराशाजनक नै हुन्छ । आज पनि यस्तै भयो । म पनि भन्छुं, यो फुटबल हो । यसरी अन्तिम समयमा गोल खानु पनि फुटबलकै एक भाग हो । दुई वर्ष अगाडि हामीले काठमाडौंमा खेल्दा हामीले धेरै लामो समयपछि फुटबल खेलिरहेका थियौं । अहिले हामीले केही यात्रा तय गरेर यहाँसम्म आइपुगेका छौं । त्यसैले म हाम्रो टिमको प्रदर्शनमा खुसी छु । हामी त अब भारतप्रति आशावादी भएका छौं ।’
पाकिस्तानले ३२ औं मिनेटमा जमिन समिन मलिकको गोलले अग्रता लिएको थियो । बंगलादेशी डिफेन्डर अफेदा खान्दाकरले गरेको कमजोर क्लियरेन्समा जमिनले गोल गरेकी हुन् । पहिलो हाफ सकिन दुई मिनेट अगाडि रितु पोर्नाको प्रहार पोस्टमा लागेर फर्केपछि बंगलादेशले बराबरी गोलका लागि लामै समय पर्खिनुपर्यो । खेलको ७७ औं मिनेटमा पाकिस्तानले त्यो मौका पाएको थियो, जसलाई सदुपयोग गरेको भए, जित उसको निश्चित हुने थियो ।
तर सविना हनिफले बंगलादेशी गोलरक्षक रपना चक्माविरुद्ध वन भर्सेस वनको स्थितिमा पनि गोल गर्न चुकिन् । अन्ततः यो पाकिस्तानका लागि निकै महँगो सावित हुन सक्नेछ । पाकिस्तान दुई वर्ष अगाडि लिग चरणकै खेलमा बंगलादेशको हातबाट ६ गोलले पराजित भएको थियो । तर यसपल्ट उसले त्यही बंगलादेशलाई कडा चुनौती पेस गरेको छ । यस्तोमा प्रशिक्षक रिज्कीको निचोड थियो, ‘जति बेला हामी घर फर्किने छौं, त्यति बेला हाम्रो शिर ठाडै हुनेछ ।’
नेपाललाई जित्नै दबाब
सोमबार समूह ‘बी’ मा श्रीलंकाले भुटानको र नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपाललाई बराबरीमा रोकेपछि भुटान उत्साहित छ र श्रीलंकालाई हराउने प्रयास गर्नेछ । श्रीलंका आफैं पनि उत्साहित छ किनभने उससँग माल्दिभ्सलाई हराएर प्राप्त तीन अंक छ ।
गाह्रो भनेको नेपालकै लागि हो । आइतबार नेपाली फुटबलका लागि दुईखाले समाचार आए । एउटा राम्रो । अर्को नराम्रो । राम्रो के भन्दा माल्दिभ्सविरुद्धको खेलमा स्टार स्ट्राइकर सावित्रा उपलब्धि हुनेछिन् । खालि प्रश्न हो, फ्रान्सबाट लामो यात्रा तय गरेर आएकी सावित्राले सुरुदेखि खेल्नेछिन् अथवा सब्स्टिच्युटका रूपमा छिर्नेछिन् ?
प्रशिक्षक राजेन्द्र तामाङले भनेका छन्, सावित्राले माल्दिभ्सविरुद्ध खेल्नेछिन् । खराब समाचार के भन्दा नेपालका दुई प्रमुख खेलाडीले यो प्रतियोगिता मात्र गुमाउने छैनन्, उनीहरू शल्यक्रियाबाटै गुज्रिनुपर्नेछ र लामै समय मैदानबाहिर रहनेछन्, बढीमा ९ महिना । हीराकुमारी भुजेल र दीपा शाहीलाई एसीएल इन्ज्युरी भएको थियो, भुटानविरुद्धको खेलमा ।
माल्दिभ्सविरुद्धको खेल अगाडि प्रशिक्षक तामाङले भनेका छन्, ‘भुटानविरुद्धका हाम्रा सबै खेलाडीको ध्यान गोल गर्नमै केन्द्रित रह्यो । सबै गोल गरेर चर्चामा आउन चाहन्थे । अब माल्दिभ्सको सामना गर्दा हामीले सच्चिएर खेल्नेछौं । हामीलाई यो खेलको नतिजा आफूअनुकूल हुन आवश्यक छ ।’
