माल्दिभ्सविरुद्ध श्रीलंकालाई ३ अंक

कार्तिक २, २०८१

कान्तिपुर संवाददाता

3 points to Sri Lanka against Maldives

काठमाडौँ — श्रीलंकाले वुमेन्स साफ च्याम्पियनसिप २०२४ मा विजयी सुरुआत गरेको छ । उसले दशरथ रंगशालामा भएको समूह ‘बी’को खेलमा माल्दिभ्सलाई १–० ले पराजित गर्‍यो ।

यससँगै श्रीलंकाले बहुमूल्य ३ अंक बटुलेको छ । यस जितसँगै श्रीलंकाको सेमिफाइनल सम्भावना जीवन्त रह्यो । माल्दिभ्सको यही सम्भावना भने कमजोर भएको छ । खेलको एकमात्र गोल इमेशा अनुराधिनीले १७ औं मिनेटमा गोल गरिन् । पीएम परेराको क्रसमा हेडबाट उनले गोल गरेकी हुन् ।

सन् २०१९ को वुमेन्स साफ च्याम्पियनसिपयता श्रीलंकाले यो प्रतियोगितामा गोल गरेको यो पहिलो पटक हो । यससँगै श्रीलंकाले चार खेलको गोल खडेरी तोडेको छ ।

माल्दिभ्सले भने सन् २०१६ देखि गोल गर्न सकेको छैन । माल्दिभ्सले यो प्रतियोगितामा गोल गर्न नसकेको खेल संख्या सात पुगेको छ ।

सन् २०१६ मा माल्दिभ्सले श्रीलंकालाई हराएको थियो । अहिले श्रीलंकाले त्यसकै बदला पनि लिएको छ । 

कान्तिपुर

Link copied successfully