बिहीबारबाट सुरु हुने महिला साफ च्याम्पियनसिपमा नेपालबाट पहिलो रोजाइमा उत्रने सम्भवतः ५ जना ५० क्याप अनि ३ जना ४० भन्दा माथि क्याप जितेका खेलाडी हुनेछन्
काठमाडौँ — प्रशिक्षक राजेन्द्र तामाङले अन्ततः महिला साफ च्याम्पियनसिपका लागि टिम घोषणा गरेका छन् । नत्र उनी दुविधामा थिए, विदेशमा रहेका दुई प्रमुख खेलाडी कहिले आउने छन् भनेर । जतिबेला यी प्रमुख प्रशिक्षकले २३ सदस्यीय टिम घोषणा गरे, त्यो अपेक्षाअनुसार नै रह्यो ।
सबैभन्दा महत्त्वको कुरा नेपाली महिला फुटबलले यत्तिको अनुभवी टिम कहिल्यै पाएको थिएन, त्यसैले बिहीबार सुरु हुने प्रतियोगितामा उत्रने टिम असाध्यै परिपक्व हुनेछ ।
साँच्चै अहिलेको टिम कस्तो छ भने भन्दा अपेक्षाअनुसार नै पहिलो रोजाइका खेलाडी मैदानमा उत्रने हो भने त्यसमा ५ जना ५० क्याप जितेका खेलाडी हुनेछन् अनि तीन जना ४० भन्दा माथि क्याप जितेका । यत्तिको परिपक्व टिम त बिरलै मात्र पाउन सकिन्छ । प्रशिक्षक तामाङले सिधै भनेका छन्, टोलीमा त्यही खेलाडीले मौका पाउने छ, जसले मेरो फुटबल ‘फिलोसफी’ अनुसार खेल्नेछ । उनको नेतृत्वमा नेपालले दोस्रोपल्ट कुनै ठूलो प्रतियोगिता खेलिरहेको छ ।
यसअघिको प्रतियोगिता थियो, वाफ वुमेन्स च्याम्पियनसिप २०२४ । त्यसमा उनले खेलाएको शैली थियो । आक्रामक र हेर्नमा मज्जा आउने । तर, मुख्य कुरा नेपालले त्यो प्रतियोगिता जित्न सकेन । साउदी अरेबियामा खेलेकै टिम अहिले पनि छ । नेपाली टोलीले गरेको जति पनि प्रशिक्षण छ, त्यसलाई नजिकबाट हेर्दा लाग्छ, यी प्रशिक्षक र खेलाडीको ‘ट्युनिङ’ मिलेको छ । टिमभित्र ‘यताउता’ का कुरा कम छ । टिम पूर्णतः उनको नियन्त्रणमा छ ।
टिमभित्र यसअघि देखिने केही मतभेद र मनभेद यसपल्ट देखिने छैन । बरू खेलाडीमात्र एउटा समान भाव देखिन्छ । यो हो, ‘अहिले उपाधि नजिते कहिले त ?’ सायद हो पनि । नेपाली महिला राष्ट्रिय फुटबल टिमसामु यसपल्ट जत्तिको उपाधि जित्ने अवसर कहिल्यै पनि आउने छैन । नेपालले पाँचपल्ट त साफ च्याम्पियनसिपको फाइनल खेलिसकेको छ । प्रत्येक पटक नतिजा भने हार नै रहेको छ । अझभन्दा नेपाली महिला टिमले अहिलेसम्म उपाधि भनेकै जित्न सकेको छैन । यो ‘जिंक’ तोड्ने सबैभन्दा राम्रो अवसर अहिल्यै नै हो ।
टिम आफैंमा कस्तो छ त ?
गोलकिपिङ
एन्जिला तुम्बापो सुब्बा
एन्जिला तुम्बापो सुब्बा पहिलो रोजाइका गोलरक्षक हुन् । त्यसमाथि कप्तान । सन् २०२२ देखि उनी नेपाली टिमकी कप्तान छिन् । तय छ, पूरा प्रतियोगितामा पोस्टको जिम्मेवारी उनकै काँधमा हुनेछ । एन्जिलाले सन् २०१६ फेब्रुअरी १३ मा श्रीलंकाविरुद्ध डेब्यू गरेकी थिइन् । त्यसयता उनले ५० क्याप जितिसकेकी छन् । उनी यसपल्ट टिमलाई लिएर आत्मविश्वासी छिन् ।
अञ्जना रानामगर
दोस्रो रोजाइकी गोलरक्षक हुन्, अञ्जना रानामगर । सम्भवतः लिग चरणमा उनले केही समयका लागि मौका पाउन सक्छिन् । नकआउट चरणमा खेल टाइब्रेकरमा गयो भने त्यो स्थितिमा एन्जिलाभन्दा अञ्जना राम्रो विकल्प हुन सक्नेछ । विश्वास नहुन सक्छ, उनले पनि सन् २०१६ को डिसेम्बर १७ मा डेब्यू अवसर पाएकी थिइन् मलेसियाविरुद्ध । अहिलेसम्म उनले जितेको क्याप संख्या हो, १२ ।
उषा नाथ
नेपाली महिला टिममा लामो समयदेखि तीन गोलरक्षकले स्थान पाउँदै आएको छ । त्यसमा एक उषा पनि भइन् । उषाले असाध्यै कम मौका पाएकी छन् । उनी जत्तिको खेलाडीका लागि यो एक प्रकारले अन्याय नै हो । उषाले सन् २०१९ को डिसेम्बर ३ मा श्रीलंकाविरुद्ध डेब्यू गरेकी थियन् । त्यसयता दुई क्यापमै सीमित रहेकी छन् ।
रक्षापंक्ति
गीता राना
अहिलेको टिमको सबैभन्दा बलियो पक्ष डिफेन्स हो भने त्यसको नेतृत्वमा हुनेछिन्, गीता राना । उनको उचाइ महिला फुटबलको फाइदाको स्थिति हुने गर्छ । अझ पेनाल्टीमा पहिलो रोजाइ हुने उनी नै हुन् । नेपाली डिफेन्सले लगभग उनकै काँधमा भर गर्नेछ । सन् २०१६ को डिसेम्बर १७ मा मलेसियाविरुद्ध उनको डेब्यू निस्केको थियो । त्यसयता उनले ४५ क्याप जितिसकेकी छन् ।
अमृता जैसी
नेपाली टिमकी एक अर्को भरपर्दा खेलाडी हुन्, अमृता जैसी । उनको काँधमा पनि डिफेन्सको ठूलो जिम्मेवारी हुनेछ । खटिएर खेल्न माहिर छिन् उनी । त्यसैले टिममा उनी
जस्तो खेलाडी चाहिन्छ । फेरि उनीसँग अनुभवको कुनै कमी छैन । अमृताले सन् २०१४ को नोभेम्बरमा डेब्यू गरेकी थिइन् भुटानविरुद्ध । उनले पनि ठ्याक्कै ५० क्याप जितिसकेकी छन् ।
समीक्षा घिमिरे
डिफेन्सका अर्की खेलाडी हुन्, समीक्षा घिमिरे । सम्भवतः उनले सुरुमै खेल्न पाउने छैनन् । तर पहिलो रोजाइका कोही डिफेन्डरमा समस्या आयो भने त्यसको स्थान लिन उनी जत्तिको उत्तम विकल्प अरू हुने छैन । सन् २०२२ को सेप्टेम्बरमा भुटानविरुद्ध उनले नेपालका लागि पहिलो पटक खेल्ने अवसर पाइन् । उनको क्याप १२ पुगेको छ ।
निशा थोकर
नेपाली डिफेन्समा निशालाई भविष्यको खेलाडीका रूपमा लिन सकिन्छ । सम्भवतः उनले पनि पहिलो रोजाइमै टिममा स्थान पाउन सम्भावना कम छ । तर, टिमसँग रहँदै उनले बहुमूल्य अनुभव बटुल्न सक्छिन् । उनले अहिलेसम्म दुई क्याप जितेकी छिन् । उनको डेब्यू सन् २०२२ को सेप्टेम्बर १२ मा भएको थियो श्रीलंकाविरुद्ध ।
पूजा राना
अर्को पहिलो रोजाइका डिफेन्डर हुन्, पूजा राना । सन् २०१९ को मार्च १६ मा उनले बंगलादेशविरुद्ध पहिलो खेल खेलिन् र अहिलेसम्म १३ पल्ट नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । नियमित टिममा नपरेको हुनाले उनको क्याप संख्या धेरे छैन । तर जति बेला टिममा हुन्छिन्, उनी पहिलो रोजाइकै खेलाडी रहेकी छन् ।
विमला बिक
सब्स्टिच्युट मजबुत बनाउने काम विमला बिकको । पहिलो रोजाइका कोही डिफेन्डरलाई सब्स्टिच्युट गर्नु छ भने विमला पहिलो विकल्प हुन सक्छिन् । उनले यही भूमिकामा नेपाली टिममा मौका पाउँदै आएकी छिन् । सन् २०२१ को सेप्टेम्बर १८ मै मात्र उनले डेब्यू गरेकी थिइन् फिलिपिन्सविरुद्ध । त्यसयता उनले ११ खेल खेलिसकेकी छन् ।
हीराकुमारी भुजेल
नेपाली टिमकी सबैभन्दा अनुभवी खेलाडी हुन्, हीराकुमारी भुजेल । उनले ५४ क्याप जितेकी छन् । त्यस अर्थ उनी डेब्यूको अवसरदेखि नियमित खेलिरहेकी खेलाडीमा पर्छिन् । उनी पनि पहिलो रोजाइकै डिफेन्डर हुन् । सन् २०१६ को फेब्रुअरी ७ मा माल्दिभ्सविरुद्ध पहिलोपल्ट खेल्ने अवसर पाएकी हीराकुमारीले त्यसयता आफूलाई लगातार अब्बल साबित गरेकी छन् ।
सजनी थोकर
अहिलेको टिममा परेका खेलाडीमध्ये डेब्यु गर्न बाँकी एकमात्र खेलाडी हुन्, सजनी थोकर । उनका लागि यति महत्त्वको प्रतियोगिता खेल्ने टिममा पर्नु पनि उपलब्धि नै रहनेछ । यसै प्रतियोगिताबाट नेपालका लागि खेल्ने उनको सपना पूरा हुने हो भने त्यो पनि उपलब्धि हुनेछ । भलै, यो सम्भावना कम छ ।
मध्यपंक्ति
रेनुका नगरकोटे
नेपाली टोलीकी सबैभन्दा पुराना र अनुभवी खेलाडी हुन्, रेनुका नगरकोटे । पूर्वकप्तान पनि । उनले डेब्यु गरेको भनेकै सन् २०१० को डिसेम्बर १८ मा हो, पाकिस्तानविरुद्ध । त्यो पहिलो साफ च्याम्पिनयसिप भयो । उनले कुल ४३ क्याप जितेकी छन् । नेपाली टिमले राम्रो गर्ने हो भने उनको अनुभव र मैदानमा नेतृत्वदायी भूमिका आवश्यक हुनेछ ।
प्रीति राई
मीठो पास अनि अवसरको सिर्जना । प्रीति राईको विशेषता यस्तै खेलाडीका रूपमा बनेको छ । यसपल्ट उनीबाट यस्तै अपेक्षा गर्न सकिन्छ । चोटमुक्त भएपछि उनी अझ राम्रो खेलाडी बनेकी छिन् । प्रीतिले डेब्यु गरेको भनेको सन् २०२१ को सेप्टेम्बर ९ मा हो, बंगलादेशविरुद्ध । अहिलेसम्म उनले १८ पल्ट नेपालका लागि खेलिसकेकी छन् ।
सरु लिम्बू
चोटमुक्त हुँदै कमब्याकको प्रयासमा छिन्, सरु लिम्बू । हाङचाउमा घाइते भएकी थिइन्, अब भने पूर्णतः निको भइसकिन् । मध्यपंक्तिमा नेपाललाई चाहिने भनेको उनी जस्तै खेलाडी त हो । फेरि मैदानमा फर्केर आफूलाई प्रमाणित गर्ने अवसर पनि हुनेछ । सुरुले डेब्यू मलेसियाविरुद्ध गरेकी थिइन्, सन् २०१६ को डिसेम्बर १७ मा । त्यसयता उनको क्याप छ, ४२ ।
दीपा शाही
मध्यपंक्तिमा एक अर्की उपयोगी खेलाडी हुन्, दीपा शाही । मैदानमा शतप्रतिशत दिन्छिन् । त्यसैले उनीबाट धेरै अपेक्षा हुनेछ । पहिलो रोजाइमा पर्ने छिन् वा छैनन्, त्यो प्रशिक्षकमा निर्भर हुनेछ । दीपा पनि उदाउँदो खेलाडीभन्दा हुन्छ । भविष्यमा धेरै आस गर्न मिल्नेछ । सन् २०२२ को सेप्टेम्बरमा भुटानविरुद्ध डेब्यू गरिन् । अहिलेसम्म १८ पल्ट नेपालका लागि खेलिन् ।
सविता रानागमर
पहिलो रोजाइको टिममा पर्न बलियो चुनौती पेस गर्ने खेलाडीमा सविता रानामगर पनि पर्छिन् । अबको केही वर्षमा उनीबाट धेरै आस गर्न सकिन्छ । त्यसैले उनको उद्देश्य आफूलाई परिपक्व बनाउनु नै हुनेछ । सविताले सन् २०२१ को सेप्टेम्बर ९ बंगलादेशविरुद्ध पहिलोपल्ट खेलिन् र अहिलेसम्म १३ क्याप जितेकी छन् ।
अनिता बस्नेत
अनुभव र अहिलेसम्मको प्रदर्शनका आधारमा मैदानमा हुनुपर्ने खेलाडीमा पर्छिन्, अनिता बस्नेत । मैदानमा मध्यभागमा खेलेर पनि उनी गोल गर्न माहिर छन् । नेपाली महिला टिमका लागि लगातार एकनासे खेल प्रदर्शन गरिरहेकीमा पर्छन्, अनिता । उनले डेब्यू गरेको भनेको पाकिस्तानविरुद्ध हो, सन् २०१४ को नोभेम्बर १४ मा । उनको क्याप संख्या ५० पुगेको छ ।
अमिशा कार्की
नयाँ पुस्ताकी खेलाडीमा पर्छिन्, अमिशा कार्की । त्यसैले उनका लागि यसपल्टको अनुभव बहुमूल्य हुनेछ । सम्भवतः दोस्रो हाफमा खेलको रणनीति फेर्नुपर्दा उनको उपयोगिता आवश्यक पर्नेछ । अमिशाले सन् २०२२ को सेप्टेम्बर ६ मा डेब्यूको अवसर पाएकी थिइन् । अहिलेसम्म १८ क्याप जितिसकेकी छन् ।
विमला चौधरी
सम्भवतः खेलको मध्यभागबाट मैदानमा आएर निर्णायक प्रदर्शन गर्न सक्ने खेलाडीमा विमला चौधरीलाई मान्न सकिन्छ । मध्यपंक्तिमा पहिलो रोजाइका खेलाडीको खेल अपेक्षित हुन सकेन भने विकल्प हो, उनै विमला । उनले सन् २०१८ को नोभेम्बर ८ मा भारतविरुद्ध डेब्यू गरेकी थिइन् । त्यसैले अनुभवको पनि कमी छैन । क्याप संख्या हो, १८ ।
अग्रपंक्ति
रश्मिकुमारी घिसिङ
उत्तिकै राम्रो फरवार्डका खेलाडी भएर पनि रश्मिकुमारी घिसिङले कमै मात्र मौका पाएकी छन् । सायद यसपल्टको प्रतियोगिता उनका लागि ठूलो अवसर बनेर अगाडि आएको छ । उनी लयमा छिन् । रश्मि एन्फा महिला लिग २०२४ मा अहिलेसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले सन् २०२१ को सेप्टेम्बर ९ बंगलादेशविरुद्ध डेब्यू गरिन् र अहिलेसम्म १९ क्याप जितिन् ।
अनिता केसी
अनिता केसीका लागि यो प्रतियोगिता निकै ठूलो अवसर बनेर आएको छ । उनले पनि आफूलाई पहिलो रोजाइकै फरवार्डका रूपमा स्थापित गर्ने अवसर छ । उनले सन् २०१८ को नोभेम्बर ८ मा पहिलोपल्ट खेल्ने अवसर पाइन् । त्यसयता ३२ क्यापमा नाम लेखाएकी छन् । सुरुदेखि अवसर पाउनु उनका लागि उपलब्धि रहनेछ ।
रेखा पौडेल
लडाकु स्वभावकी छिन् रेखा पौडेल । फुटबलमा यस्तो खेलाडी पनि चाहिन्छ । सम्भवतः यूएईको अबुधानी काउन्टी क्लबबाट खेलेपछि उनको खेलस्तर अर्कै भएको हुनुपर्छ । कम्तीमा उनी बढी आत्मविश्वासी त भएको हुनैपर्छ । नेपाललाई चाहिने यस्तै खेलाडी हो । उनले सन् २०१९ को मार्च १२ मा भुटानविरुद्ध डेब्यू गरेकी थिइन् । उनले अहिलेसम्म १८ क्याप जितेकी छन् ।
सावित्रा भण्डारी
दक्षिण एसियाली महिला फुटबलमा प्रतिद्वन्द्वी टिमलाई दबाबमा राख्न ‘साम्बा’ नाम नै पर्याप्त हुनसक्छ । उनी हुन्, सावित्रा भण्डारी । उनी फ्रान्सको माथिल्लो डिभिजनमा अन आभान्ट ग्वेङ्गाम्पबाट खेलिरहेकी छन् । यो परिचय नै पर्याप्त छ । यसपल्ट नेपाली फुटबललाई सावित्राको गोल अझ बढी आवश्यक छ । कुल ४६ क्याप जितेकी सावित्राले सन् २०१४ को नोभेम्बर १२ मा भुटानविरुद्ध डेब्यू गरेकी थिइन् ।
