फ्रेन्चाइज महिला एभरेस्ट भलिबल लिग सोमबार सुरु हुँदै, ६ प्रतिस्पर्धीमा ललितपुर क्विन्स तीन थाई खेलाडीको साथमा उत्रने
काठमाडौँ — प्रायः सबै टोली प्रतियोगिताअघि एउटै लक्ष्यमा खेलिरहेका हुन्छन्, त्यो हो जित । एभरेस्ट महिला भलिबल लिगमा खेल्न लागेको ललितपुर क्विन्सको पनि खासै फरक छैन, टोलीको पनि उपाधि जित्ने नै लक्ष्य छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका ४ खेलाडी र थाइल्यान्डका ३ खेलाडी छन् । आफ्नो उद्देश्यमा पुग्ने ललितपुरका आधार यिनै हुन् ।
नेपाल भलिबल संघले इन्फिनिटी ड्रिम्स प्रालिसँग मिलेर पहिलो पटक फ्रेन्चाइज अवधारणामा गर्न लागेको वात्सल्य महिला भलिबल लिग सोमबार सुरु हुँदै छ । ६ दिने प्रतियोगिता शनिबार टुंगिने छ । आफ्नो पहिलो खेलमा सोमबार सहरी प्रतिद्वन्द्वी काठमाडौंको स्पाइकर्सको सामना गरेर ललितपुरले यात्रा सुरु गर्नेछ ।
राष्ट्रिय टोलीका सलिना श्रेष्ठ, पुनम चन्द, साफिया पुन र कामना विष्ट गरी चार खेलाडी ललितपुरमा छन् । यी सबैले अघिल्लो महिना सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा नेपालको प्रतिनिधित्व गरेका थिए । पुनम र कामना गत साता नेपाल पुलिस क्लबले माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिप जित्दाका खेलाडी पनि हुन् ।
भावना तामाङ, निशा चौधरी र अनुषा चौधरीले नेपाली यू–२० टोलीबाट खेलिसकेका छन् । अर्थात ललितपुरको टोलीमा रहेका ९ मध्ये ७ खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिइसकेका छन् । ललितपुरको टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुल्न बाँकी रहेकी एकमात्र खेलाडी नेहाकुमारी चौधरी हुन् । ज्याक्युशा थापालाई ललितपुरले ट्यालेन्ट हन्टबाट लिएको हो । टोलीकी मार्की खेलाडी सलिनाले नै ललितपुरको कप्तानी गर्नेछिन् । टोलीका तीन थाई खेलाडी सुताडता चुवेउलिम, पत्राथिप शन्त्रकुन र वारन्या श्रीलाउड शुक्रबार राति बैंककबाट काठमाडौं ओर्लिएका छन् । तीन विदेशी खेलाडीमा दुई स्पाइकर र एक लिफ्टर छन् । सुताडताले विगतमा फिलिपिन्सको विभिन्न लिग खेलिसकेकी छन् । यहाँ पनि राम्रो खेल्ने छन् भन्ने विश्वास प्रशिक्षक उत्सव खड्काको छ । पत्राथिप र वारन्याले थाई राष्ट्रिय टोलीबाट अझै खेल्न बाँकी नै छ ।
‘हाम्रो तयारी राम्रै भएको छ, हामी अलिक अगाडिदेखि नै तयार थियौं,’ प्रशिक्षक खड्काले भने, ‘नेपाली खेलाडीले विदेशी खेलाडीबाट सिक्न पाउनेछन्, फ्रेन्चाइज लिगको विशेषता भनेको यही हो । अरू टोलीमा पनि विभिन्न देशबाट खेलाडी आएका छन्, जति धेरै विदेशी खेलाडीसँग नेपाली खेलाडीले खेल्ने सक्यो, त्यति नै धेरै हाम्रो भलिबलको स्तरमाथि जान्छ ।’
पुरुषको हकमा पहिला पनि विदेशी खेलाडीहरू नेपालमा आएर खेलिसकेको तर महिलामा चाहिँ अलिक कम आएकाले पनि यसपालि खड्काले महिला भलिबल लिग केही फरक हुने अनुमान गरेका छन् । ‘हाम्रो टोलीका नेपाली राष्ट्रिय खेलाडी राम्रा छन्, उनीहरूको रिसिभ, डिफेन्स र अट्याकमा राम्रो छ । मिडल ब्लकरहरूले राम्रो गर्ने हो भने हाम्रो टोली राम्रो छ, उपाधि जित्न सक्छौं,’ खड्काले भने, ‘हाम्रो टिम खेल्नका लागि एकदमै आतुर छ । पहिलो पटक यस्तो खाले लिग हुन लागेकाले उत्साहित हुनु स्वाभाविक नै हो ।’
रुप्से स्पोर्ट्सको स्वामित्वमा महिला भलिबल लिग खेल्न लागेको ललितपुर क्विन्सको सहायक प्रशिक्षकमा युगेश हमाल र एनलिस्टमा जनकबहादुर खड्का छन् । रुप्से होलिडेजको सहायक कम्पनीको रूपमा रुप्से स्पोर्टस छ । सुरुमा कोरसिन्क नेपालले ललितपुर लिएको थियो । तर कोरसिन्कबाट रुप्सेले ललितपुरको स्वामित्व लिएको हो । ललितपुरले आफ्नो ‘ब्रान्ड एम्बासडर’ मा आयशा शाक्यलाई यसअघि नै नियुक्त गरिसकेको छ । रुप्से होलिडेज नै टोलीको प्रमुख प्रायोजक छ । ग्लोबल आईएमई बैंक सहप्रायोजक, पार्टनरको रूपमा बोन कन्सलटेन्सी, सेभर र न्यु प्लास्ट तथा किट्स प्रायोजकमा केल्मी छन् ।
दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र एसियाली खेलकुदमा एक कांस्य जितेकी आयशाले शुक्रबार ललितपुर टोलीको सार्वजनिक र ट्रफी टुर कार्यक्रममा भनिन्, ‘म यही ललितपुरमा जन्मेहुर्कें । अहिले ललितपुरकै टोलीको ब्रान्ड एम्बासडर बन्न पाएकामा विशेष आभारी छु । यो ट्रफी फेरि यही ल्याउन पाइयोस् भन्दै म टिमलाई शुभकामना दिन चाहन्छु ।’ ललितपुरकी सांसद तोसिमा कार्की र ललितपुर उपमहानगरपालिकाका उपमेयर मञ्जली शाक्यले ललितपुर क्विन्सलाई जितको शुभकामना दिए ।
अलिकति नर्भस छु
सिलिना श्रेष्ठ, कप्तान
हाम्रो तयारी राम्रो भइरहेको छ । विदेशी खेलाडीसँग प्रशिक्षण गरेपछि हाम्रो टिम समन्वय मिल्छ होला । हामीले विदेशी खेलाडीसँगै कहिल्यै खेलेका छैनौं । पहिलो पटक विदेशी खेलाडीसँग मिलेर खेल्न लागेका छौं, समन्वय राम्रो मिल्छ होला हाम्रो । विदेशी खेलाडीले हामीले भन्दा राम्रै खेल्छन् होला सायद । हाम्रो विदेशी खेलाडी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य बनाएका छौं । सबै टोली यसका लागि उत्साही नै छन् । म पनि पूरा उत्साहित छु ।
पहिलो पटक कप्तानी गर्दा केही उत्साही र अलिकति नर्भस पनि छु, तर आफ्नो टोलीलाई सम्हाल्नु परिहाल्यो । पहिलो पटक आयोजना हुन लागेको भएर मलाई फ्रेन्चाइज प्रतियोगिताबारे खासै थाहा थिएन, अहिले अलिक–अलिक बुझ्दै छु । जेहोस् खेलाडीका लागि यो नियमित भइरह्यो भने राम्रो हुन्छ भन्ने बुझेको छु । कति नेपाली खेलाडीहरू विदेसिएका छन्, यस्तो प्रतियोगिता भइराख्थ्यो भने सायद उनीहरू विदेश जाँदैन थिए होला ।
प्रमुख खेलहरूमा हात हाल्नेछौं
रमेश पराजुली, प्रमुख रुप्से स्पोर्ट्स एन्ड म्यानेजमेन्ट
म महिला भलिबल लिगलाई लिएर निकै उत्साही छु । दक्षिण एसियामै पहिलो पटक हुन लागेको छ । नेपालमा जुन हिसाबमा विभिन्न खेलका समर्थकको क्रेज बढेको छ, त्यो हिसाबमा भलिबल राष्ट्रिय खेल पनि भएकाले यसलाई अगाडि लैजान सकिन्छ भनेर लगानी गरिरहेका छौं । पहिलो सिजन भएकाले सुरुमा अलिकति के गर्ने कसरी गर्ने भनेर दोधारमा थियौं ।
सुरुमा हामी अरू कुनै टोलीका लागि प्रयास गरिरहेका थियौं । तर हामीले आयोजकलाई अनुरोध गरेर हाम्रो प्राथमिकता ललितपुर रहेको जानकारी गराएका थियौं । सुरुमा जसले लगानी गर्न यो टिम लिनुभएको थियो, उहाँलाई पनि हामीले अनुरोध गरेर स्वामित्व हाम्रोमा लिएर आएका हौं । हाम्रो लक्ष्य ललितपुर थियो, नपाएमा अर्को कुनै सहर लिउला भन्ने थियो । मेरो पुर्ख्यौली म्याग्दी हो, अफिसहरू काठमाडौंमा छन् । ललितपुरसँग छुट्टै खालको माया भएकाले यो टोली लिने लक्ष्य बनाएका थियौं । म्याग्दीमा भलिबल निकै लोकप्रिय छ, कलेजस्तरसम्म मैले पनि भलिबल खेलेको छु । तुलनात्मक रूपमा हेर्ने हो भने हाम्रो टोलीमा राम्रा नेपाली खेलाडी परेका छन् । थाइल्यान्डको तीन खेलाडीलाई राखेका छौं । त्यसैले हामी सबैभन्दा बलियो टोली बनेका छौं जस्तो लाग्छ ।
नेपालमा खेलकुद, खेलाडीका बारेमा समाजमा जुन सोचाइ छ, त्यो परिवर्तन हुनुपर्छ । कुनै पनि बालकले कुनै खेलकुद आइकनलाई फलो गरेर म पनि यस्तै बन्छु भनेर सोचाइ राख्ने वातावरण बनाउनुपर्छ, त्यसका लागि कर्पोरेट क्षेत्रबाट लगानी आउनुपर्छ । विस्तारै नेपालमा यो संस्कार विकास हुँदै जान्छ भन्ने विश्वास लिएका छौं । नेपालमा लोकप्रिय खेल क्रिकेट भए पनि भलिबलको पनि छुट्टै प्रभाव छ । हामीजस्ता विश्वका विकासोन्मुख अन्य देशसँग तुलना गर्ने हो भने सबै खेलकुदमा नेपालको फ्यानवेस एकदमै राम्रो छ, यस्तो अन्य देशमा देखिँदैन । खेल र खेलाडीप्रति समर्थकको भावना पनि छ ।
समाजको सोच परिवर्तन गर्न जरुरी छ, जसले म खेलाडी बन्छु वा खेलमै लाग्छु भन्ने वातावरण पैदा गरोस् । त्यही हिसाबमा हामी अहिले आएका हौं । अहिले हामी भलिबलमा छौं, हाम्रो लक्ष्य धेरै खेलकुदमा छ । भारत तथा युरोपको खेलकुद व्यवस्थापन कम्पनीसँग सम्झौता गरेर नेपाली खेलाडीलाई पनि विदेशमा एक्सपोजर गराउने, प्रशिक्षण गराउने अवसरका लागि प्रयास हामीले गरिरहेका छौं । रुप्से स्पोर्ट्सले भविष्यमा त्यो सबै व्यवस्थापनको काम गर्दछ, त्यसमा खेलाडी व्यवस्थापन, इभेन्ट म्यानेजमेन्टलगायत पर्छ । यहाँका क्लबलाई बाहिरका क्लबसँग सम्बन्ध स्थापित गरिदिन्छौं । भलिबलको जुन हिसाबको तयारी छ, जुन हिसाबमा समर्थक ओइरिरहेका छन, त्यसलाई मध्यनजर गर्ने हो भने सुरुका वर्षमा अहिले लगानी गरेको सबै पैसा फिर्ता नआए पनि त्यसपछिका वर्षहरूमा लगानी सुरक्षित हुने वातावरण बन्छ र हामी अझै लगानी बढाउने स्थितिमा पुग्छौं भन्नेमा विश्वस्त छौं ।
रुप्से होलिडेज र रुप्से स्पोर्टस म्यानेजमेन्ट फरक कम्पनी हो । रुप्से होलिडेजले क्रिकेटमा बढी लगानी गरिरहेको छ । रुप्से स्पोर्ट्स म्यानेजमेन्टबाट अहिले हामी भलिबलमा छौं । हाम्रो उद्देश्य भलिबल, फुटबल, क्रिकेट र बास्केटबलमा जाने तयारी छ, प्रायोजक हिसाबमा होस् वा साझेदारीका हिसाबमा । सबै विकल्प हेरेर कसरी आबद्ध हुन सकिन्छ भनेर लागिरहेका छौं । क्रिकेटमा अलिक आक्रामक हिसाबमा आएका थियौं, अहिले भलिबलमा लागेका छौं । नेपालमा पुरुषको तुलनामा महिला खेलकुदमा क्रेज थिएन पहिला, विस्तारै बढिरहेको छ । त्यसैले महिला भलिबलमार्फत आएका हौं र हाम्रो लगानीले केही सहयोग हुन्छ भन्ने लागेको छ । हामी आफ्नो टोलीप्रति विश्वस्त छौं र उपाधि जित्ने लक्ष्य बनाएका छौं ।
