महिला लिग फुटबल : चन्द्रपुरमाथि एपीएफको ६ गोल

भाद्र २४, २०८१

कान्तिपुर संवाददाता

Women's League Football: APF 6 goals over Chandrapur

काठमाडौँ — लगभग गोलको खडेरीबाट गुज्रिएको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलमा अन्ततः लय समातेको छ । भलै, प्रतिद्वन्द्वी कमजोर रह्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६–० लाई हरायो ।

टोलीका लागि रेनुका नगरकोटेले दुई तथा सविता रानागमर, रश्मिकुमारी घिसिङ, प्रीति राई र गीता रानाले एक–१ एक गोल गरे ।

लगातार दोस्रो जितपछि एपीएफको ३ खेलबाट ७ अंक भएको छ । टोली तेस्रो स्थानमा उक्लेको छ । पहिलो हार बेहोरेको चन्द्रपुरको ३ खेलबाट २ अंक छ । टोली सातौं स्थानमा छ । एपीएफले पहिलो गोल गर्न १८ मिनेट पर्खेको थियो । सविताले त्यो गोल आफ्नो नाममा लेखाइन् ।

त्यसपछि रेनुकाले १८ र ३२ औं मिनेटमा दुई गोल थपिन् । रश्मिकुमारीले ५२ औं मिनेटमा चौथो गोल थपिन् । प्रीतिले ८४ औं मिनेटमा पाँचौं गोल गरेपछि छैटौं गोल गीताले पेनाल्टीबाट थपिन् । यसअघि सोमबार पहिलो खेलमा वालिङले संकटामाथि १–० को जित पाएको थियो । वालिङले प्राप्त त्यस जितमा सीसी एनटोङ्गोले निर्णायक गोल गरिन् ।

ज्याकलिन नसालीको पासमा उनले ३९ औं मिनेटमा गोल गरेकी हुन् । लगातार दोस्रो जितपछि वालिङको ३ खेलबाट ६ अंक भएको छ । मंगलबार तेस्रो चरणको अन्तिम खेल हुनेछ र त्यसमा सुदूरपश्चिमले आर्मीको सामना गर्नेछ । 

कान्तिपुर

Link copied successfully