कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

ओलम्पिक इतिहासमा नेपालको पहिलो पदक

भाद्र १६, २०८१
ओलम्पिक इतिहासमा नेपालको पहिलो पदक

Highlights

  • सन् १९६४ मा टोकियोबाट ओलम्पिक यात्रा आरम्भ गरेको नेपालले ठीक ६० वर्षपछि पहिलो पदक हात पारेको छ, पेरिस पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धनले जितिन् कांस्य पदक
  • पलेशाले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा पदक जितेकी हुन्

काठमाडौँ — नेपाली खेलकुद इतिहासकै ठूलो नाम बनेकी छन् पलेशा गोवर्धन । पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेपछि पारा तेक्वान्दो खेलाडी पलेशा यसको हकदार बनिन् । यो नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको ऐतिहासिक र पहिलो ठूलो पदक हो । 

ओलम्पिक संरचनामा नेपाली खेलाडीले पदक जित्नु धेरै टाढाको विषय थियो । त्यसमाथि पारा खेलाडीको हैसियतमा त झन् कठिनभन्दा कठिन । तर, ती सबै दायरा तोड्दै पलेशाले दोस्रो ओलम्पिक सहभागितामै देशलाई पदक दिलाएकी छन् । पेरिसस्थित ग्रान्ड प्यालेसमा उनले पदक जित्दा यहाँ शुक्रबार मध्यरात भइसकेको थियो । त्यसैले उनको पदक खुसीले आम नेपालीको शनिबार बिहानीलाई उत्साहप्रद बनायो ।

उनले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा पदक जितेकी हुन् । पलेशाले सर्बियाकी मरिजा मिचेभविरुद्ध १५–८ स्कोरको नतिजा निकाल्दै कांस्य जितिन् । अर्को कांस्य ब्राजिलकी कार्डोसो फर्नान्डेजले जितिन् । यिनै ब्राजिलीसँग क्वाटरफाइनलमा नहारेको भए पलेशा माथिल्लो पदकसम्म पुग्ने थिइन् । तर, संघर्षपूर्ण खेलमा उनी १०–८ स्कोरले पराजित भइन् । त्यसपछि पलेशा रिपिचेजबाट कांस्यमा पुगेकी हुन् । यसपल्ट क्वाटरफाइनल पराजितलाई मात्र रिपिचेजको मौका दिइएको थियो ।

पलेशासँग टोकियो पारा ओलम्पिकमा पदकसामुन्ने पुगेर पनि जित्न नसकेको पीडा थियो । कोरोना महामारीका कारण छनोट प्रतियोगिता खेल्न नपाएर वाइल्ड कार्डको सहारामा टोकियो पुगेकी पलेशाले दुई खेल जित्दै कांस्य पदक भिडन्तको स्वाद लिइसकेकी थिइन् । तर, चिनियाँ ली युझीसँग पराजित हुँदा पदकविहीन हुनुपर्‍यो । यसपालि अर्को पोलबाट फाइनल पुगेकी युझीले स्वर्ण नै जितिन् । उनले टर्कीकी गुमेज गुर्दललाई ११–० ले हराएर स्वर्ण जितेकी हुन् ।

टोकियोमै दुई खेल जितेर इतिहास बनाइसकेकी पलेशा यस पटक आफूलाई अझै बलियो बनाएर ओलम्पिकको मञ्चमा उत्रिएकी थिइन् । झन्डै एक महिना बेलायतमा प्रशिक्षण गरेकी पलेशाले एसियाली खेलकुदमा ऐतिहासिक कांस्य र एसियाली ओलम्पिक छनोट चरणमा स्वर्ण जितेकी थिइन् ।

पलेशाले राउन्ड अफ १६ को खेलमा भेनेजुएलाकी मोरालेस भलेरियालाई एकपक्षीय रूपमा ३१–० अंकले हराएर सुखद सुरुआत गरेकी थिइन् । क्वाटरफाइनलमा शीर्ष वरीयताकी ब्राजिली खेलाडी फर्नान्डेजसँग हारेपछि भने रिपिचेजमा

धकेलिइन् । रिपिचेजको पहिलो खेलमा आयोजक राष्ट्र फ्रान्सकी चौथो वरीयताकी सोफी कार्भजनलाई २–१ स्कोरले हराएपछि पलेशाको पदक भिडन्तको प्रतिद्वन्द्वीमा सर्बियाली मरिजा आइपुगिन् । मरिजा तिनै खेलाडी थिइन्, जसलाई पलेशाले टोकियोमा पनि हराएकी थिइन् ।

पलेशाविरुद्ध बदला लिने सुरमा थिइन् मरिजा । ५ मिनेटको प्रतिस्पर्धामा दुई मिनेट बाँकीसम्म मरिजाले ५–४ को अग्रता लिइरहेकी थिइन् । तर, एक मिनेट बाँकी हुँदा पलेशाले खेल ७–७ अंकको बराबरीमा ल्याइन् । त्यसपछि आक्रामक देखिएकी पलेशाले लगातार किक प्रहार गर्दै अंक बटुलेर नतिजा आफ्नो पक्षमा पारिन् ।

पलेशाले मरिजासँगको खेलबारे भनिन्, ‘खेलमा उनी हाबी भइसकेकी थिइन्, ७–७ अंकले बराबरी भयो । जे नि हुनसक्ने स्थिति थियो । तर, उसलाई टोकियोमा हराइसकेको सम्झे, त्यसले मलाई थप ऊर्जा मिल्यो अनि आक्रामक बनेर आफ्नो खेल खेल्न थालें । त्यसपछि लगातार अंक लिएँ ।’

जितपछि पलेशाले आफूले जितेको पदक आफ्नोमात्र नभई नेपाल र सबै नेपालीको भएको बताएकी छन् । मिहिनेत गरेअनुसार पदक जितेको बताउँदै उनले भनिन्, ‘मैले जितेको पदक मेरोमात्र होइन, नेपाल र सबै नेपालीको हो । हामीले अब गर्वसाथ भन्न सक्छौं, हाम्रो पनि ओलम्पिक पदक छ ।’

सबैको भरोसा कायम राख्दै ओलम्पिकमा पदक जित्न पाएकोमा गौरवान्तित र खुसी महसुस भएकाले बताउँदै उनले थपिन्, ‘देशका लागि एउटा ठूलो पदक उपहार दिन पाएकोमा अत्यन्तै खुसी छु ।’

लामो समयदेखि पलेशालाई प्रशिक्षण गराइरहेका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले पलेशाबाट जसरी पदक अपेक्षा गरिएको थियो, त्यसलाई उनले पूरा गरेर सम्पूर्ण नेपाली र नेपाली खेलकुदलाई खुसी पारेको बताए ।

पारा खेलकुदबाट ११ भन्दा बढी अन्तर्राष्ट्रिय पदक जिताइसकेका लामाले भने, ‘टोकियोमा हामी पदकबाट छुटेका थियौं, आज पलेशाको निरन्तर मिहिनेत, हाम्रो प्रयासले पेरिसमा पदक जितेका छौं, यो पदक खुसी सबै नेपालीमा बाँड्न चाहन्छौं ।’

पलेशाले सबै नेपाली शिर ठाडो र छाती चौडा पारेको बताउँदै लामाले थपे, ‘नेपाली खेलाडीले पनि ओलम्पिकमा पदक जित्न सक्छ र ? भन्ने प्रश्नको जवाफ पलेशाले दिएकी छिन् । लगानी र मिहिनेत गर्‍यौं भने हामी जहाँ पनि पदक जित्न सक्षम हुन्छौं ।’

पलेशाले जितपछि सर्वप्रथम आफ्नो आमाबुवालाई धन्यबाद दिइन्, उहाँहरूले सानैदेखि सधैं खेल्नमा उनको हौसला भरिरहे । काठमाडौं बागबजार निवासी प्रदीप र मनीता गोवर्धनका तीन छोरीमध्ये पलेशा माइली हुन् । जुलाईमा मात्र उनी २१ वर्षको उमेर प्रवेश गरेकी थिइन् । पलेशाले प्रशिक्षक लामा, म्यानेजर रामचन्द्र श्रेष्ठसहित खेलकुद परिषद, पारा ओलम्पिक कमिटी, तेक्वान्दो संघ, शुभचिन्तकलगायत सबैलाई धन्यवाद दिँदै अझ राम्रो तयारी गर्न सके योभन्दा ठूलो उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरिन् ।

पलेशा चैतमा चीनको ताइयानमा सम्पन्न एसियाली ओलम्पिक छनोट चरण जित्दै पेरिस पुगेकी हुन् । फाइनलमा इरानकी लीला मिर्जाइलाई ५–४ ले हराएर स्वर्ण जितेकी थिइन् । एसियाली छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेक्वान्दोकी तेस्रो खेलाडी हुन उनी । संगीना वैद्यले सन् २००४ को ग्रिस ओलम्पिक र दीपक विष्टले २०१० को बेइजिङ ओलम्पिक खेलेपछि एसियाली छनोट जित्ने पलेशामात्र थिइन् ।

पेरिस पारा ओलम्पिकमा नेपालका तीन खेलाडीको सहभागिता छ । तेक्वान्दोकै भरतसिंह महता बाहिरिइसकेका थिए । उनी पहिलो खेलमै जापानका मित्सुया तानाकासँग १९–३ ले पराजित भएका थिए । अब पौडीका भीमबहादुर कुमालले खेल्न बाँकी छ । उनले सेप्टेम्बर २ मा एस ९ क्याटगोरीको ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।

पलेशाको खेलयात्रा

जन्मँदै बायाँ हातको नाडीदेखि तलको भाग नभएकी पलेशाले १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी हुन् । सानैदेखि चञ्चले र निडर स्वभावकी पलेशा डीएभी स्कुलमा अध्ययनरत हुँदा अतिरिक्त क्रियाकलापमा सहभागी भइरहेकी हुन्थिन् । जब नेपाल तेक्वान्दो संघले पारा कमिटी गठन गरी खेलाडी पहिचान थालेको थियो । खेलाडीको पहिचानमा प्रयासरत तत्कालीन प्रशिक्षक कल्याण कुँवरसामु खबर आयो, डिएभीमा एउटी खेलाडी छिन्, राम्रो खेल्छिन्, उचाइ राम्रो छ । त्यसपछि भएको थियो पलेशाको वास्तविक तेक्वान्दो यात्रा । उनै कुँवरबाट उनले सुरुआती दिनको प्रशिक्षण लिएका थिए ।

त्यसपछि पलेशा २०१६ देखि पारा तेक्वान्दोको राष्ट्रिय टिममा आबद्ध भइन् । पलेशाको अन्तर्राष्ट्रिय प्रतियोगिताको डेब्यू भने २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप हो । त्यसमा उनी पाँचौं स्थान रहेकी थिइन् ।

२०१८ मा काठमाडौं सम्पन्न दोस्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेकी पलेशाले २०१८ मै भियतनाममा सम्पन्न चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेर अन्तर्राष्ट्रिय पदक जितको यात्रा थालेकी थिइन् । त्यसपछि उनले २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण पदक नै जितिन् । लन्डनमा विश्व पारा तेक्वान्दो २०१७, जोर्डनमा पाँचौं एसियाली पारा खुला तेक्वान्दो २०१९ र टोकियोमा पारा ओलम्पिक गेम्सको टेस्ट इभेन्ट २०१९ मा पाॅँचौं स्थान हासिल गरेकी थिइन् ।

२०१९ मा टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा नवौं भएकी पलेशाले साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् । भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप पनि खेलिन् । सधैं सकारात्मक हुनुपर्छ भन्ने मान्यतामा अघि बढिरहेकी पलेशाले यस्तो सफलताबाट आफूजस्ता धेरै पारा खेलाडीको हौसला बढाउने विश्वास लिएको बताइन् । भनिन्, ‘मैले १० वर्षको छँदा तेक्वान्दो सिकेर २१ वर्षको उमेर यो सफलता पाएँ । मिहिनेत र धैर्य गर्नुपर्छ सफलता पाइन्छ । सरकारले अझलगानी गरे योभन्दा पनि ठूलो सफलता ल्याउन सकिन्छ भन्ने विश्वास छ ।’

पारा ओलम्पिक इतिहास

अपांगता भएका खेलाडीका लागि पनि पारा ओलम्पिक सुरु भएको धेरै भइसकेको छ । १९६० रोम (इटाली)बाट पारा ओलम्पिक सुरु भएको हो । जतिबेला ह्विलचेयरका खेलाडीले मात्र प्रतिस्पर्धा गर्थे । रोममा २३ देशका ४ सय खेलाडीले प्रतिस्पर्धा गरेको इतिहास छ ।

जबकि नेपालले त्यसको चार वर्षपछि आयोजित टोकियो ओलम्पिक १९६४ बाट मात्र ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । त्यही ग्रीष्मकालीन ओलम्पिकको १९८८ को सोल संस्करणमा नेपालले कांस्य पदक जितेको थियो । तर, त्यो पदक तेक्वान्दोको प्रदर्शनी खेलमा थियो । जसले गर्दा आधिकारिक गणनामा छैन । उक्त कांस्य पदक विधान लामाले जितेका थिए । पेरिससम्म आइपुग्दा झन्डै ९२ खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेका छन् ।

पारा ओलम्पिकमा भने नेपालले २००४ एथेन्स (ग्रिस) बाट सहभागिता जनाउन थालेको हो । त्यही संस्करणदेखि अन्तर्राष्ट्रिय मल्टिस्पोर्ट्स इभेन्टको रूपमा अगाडि बढाइएको हो । एथेन्समा निर्मला ज्ञवालीले सटपुटमा प्रतिस्पर्धा गरेकी थिइन् । बेइजिङ २००८ मा एथलेटिक्सका जितबहादुर खड्का, लन्डन २०१२ मा एथलेटिक्स विक्रमबहादुर राना र मैयाँ विशुंखे, रियो २०१६ धावक विक्रमबहादुर राना र पौडीकी लक्ष्मी कुँवर तथा टोकियो २०२० मा पलेशाले भाग लिएको इतिहास छ ।

पलेशाले ६५ लाख पाउने

राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा भएको पुरस्कारसम्बन्धी व्यवस्थाअनुसार कांस्य विजेता पलेशाले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछिन् । स्वर्ण विजेतालाई १ करोड ३० लाख र रजतका लागि ९७ लाख पुरस्कार रहेको छ । यो पुरस्कार ओलम्पिक (ग्रीष्मकालीन/शीतकालीन, पारा/विशेष) र विश्वकप फुटबल शीर्षकमा राखिएको छ ।

सोही नियमावलीको पुरस्कारअनुसार चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदमा कांस्य जितेकी पलेशाले १३ लाख रुपैयाँ पुरस्कार लिइसकेकी छन् । कांस्य जिताएवापत प्रशिक्षक कविराजले ५ लाख ८५ हजार, व्यवस्थापक रामचन्द्र श्रेष्ठले २ लाख ९२ हजार र तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : भाद्र १६, २०८१ ०५:५३
x
×