विदेशी दाताको सहयोगमा पुनर्निर्माण गर्छौं : खेलकुदमन्त्री चौधरी
वीरगन्ज — वीरगन्जमा रहेको मुलुककै दोस्रो ठूलो रंगशाला उपेक्षामा परेको छ । चालू आर्थिक वर्षमा सरकारले नारायणी रंगशाला पुनर्निर्माणका लागि शून्य बजेट विनियोजन गरेको छ । सरकारले बजेट नपठाउँदा पुननिर्माणको काम ठप्प छ । कर्मचारीले हाजिरी गरेर कार्यालयमा दिन काट्ने गरेका छन् ।
बहुउद्देश्य योजनामा सरकारले बजेट विनियोजन नगर्दा नारायणी रंगशलाप्रति सरकारले उपेक्षा गरेको यहाँका खेलकुदप्रेमीले गुनासो गरेका छन् । डीपीआर (विस्तृत अध्ययन प्रतिवेदन)बमोजिम यस रंगशालाको पुनर्निर्माणमा २ अर्ब ६४ करोड रुपैयाँ खर्च हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा सरकारले रंगशाला पुनर्निर्माणका लागि ५ करोड र नयाँ कभर्ड हल निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो । रंगशालाको ब्लक ‘सी’को पुरानो प्याराफिट भत्काएर नयाँ निर्माण सम्पन्न भएको छ । गत आर्थिक वर्षमा सोही प्याराफिटको रेलिङ, प्लास्टरका लागि सरकारले ७५ लाखको ठेक्का लगाएको थियो । उक्त कार्य पनि सम्पन्न भइसकेको छ ।
१६ करोड रुपैयाँमा निर्माण थालिएको कर्भड हलका लागि समेत चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छैन । कभर्ड हलका लागि सरकारले दुई पटक गरी हालसम्म २ करोड १३ लाख रुपैयाँ पठाएको छ । कभर्ड हलमा हालसम्म दुई साइडको प्याराफिट निर्माण सकिएको छ । गत चैत २५ मा तत्कालीन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ नारायणी रंगशाला र कभर्डहलको स्थलगत अनुगमनका लागि वीरगन्ज आएका थिए । उनले बहुउद्देश्य योजनाका लागि बजेट विनियोजन गर्ने आश्वासन दिएका थिए । तर, चालू आवमा रंगशाला पुनर्निर्माणका लागि शून्य बजेट विनियोजन गरिएको छ ।
आइतबार संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी नारायणी रंगशालाको स्थलगत अनुगमन गर्ने क्रममा विदेशी दाताको सहयोगमा पुनर्निर्माण गरिने बताएका छन् । ‘दाताले डीपीआर माग गरेको छ,’ मन्त्री चौधरीले भने, ‘नारायणी रंगशाला विदेशी दाताबाट बनाउने योजना छ, दातासँग कुरा अगाडि बढेको छ ।’
दुई वर्षपछि मधेशमै ११ औँ राष्ट्रिय खेलकुद आयोजना हुने भनिए पनि यहाँका भौतिक पूर्वाधारमा सरकारले चालू आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेको छैन । ‘चालू आवको बजेट आइसकेपछि मैले खेलकुद मन्त्रालय सम्हालेको हुँ,’ मन्त्री चौधरीले भने, ‘केही दिन अघिमात्र अर्थमन्त्रीसँग भेटेर मधेशका खेलकुद पूर्वाधारका लागि बजेटको व्यवस्थाका लागि छलफल गरेका छौँ ।’ खेलकुद पूर्वाधारका लागि बजेट नछुट्याउन हो भने ११ औँ राष्ट्रिय खेलकुद मधेशमा आयोजना गर्न सम्भव नहुने उनले खुलाए ।
जीर्ण रंगशाला
करिब १५ हजार दर्शक क्षमताको रंगशाला २०३८ सालमा निर्माण गरिएको हो । विगतमा यस रंगशालामा बृहत् राष्ट्रिय खेलकुद, तेजबहादुर गोल्डकप, महेन्द्र गोल्डकप र लक्ष्मण थापा गोल्डकप तथा एएफसी यू–१६ छनोट प्रतियोगिता आयोजना हुने गरेका थिए । गोल्डकपमा नेपाल र भारतका सुपर डिभिजनका टिमले सहभागिता जनाउँथे । तर, २०५८ मा लक्ष्मण थापा गेल्डकपपछि करिब १६ वर्ष कुनै ठूला प्रतियोगिता आयोजन भएनन् ।०७४ देखि विशाल फाउन्डेशनले विभागीय टोली र भारतीय टीम सहितको सहभागितमा नारायणी रंगशालामा गोल्डकप आयोजना गरी वीरगन्जमा झन्डै डेढ दशकपछि स्तरीय फुटबल प्रतियोगिता फर्काएको थियो । संरक्षण अभावमा जीर्ण बनेको रंगशालाको उत्तर र दक्षिण पट्टिका प्याराफिटमा दर्शक प्रवेश निषेध गरेपछि ६ वर्षयता खेलकुद गतिविधि ठप्प बनेको छ ।
प्याराफिटको अधिकांश ठाउँमा प्वाल परेका छन् । केही भाग भत्किएका छन् । डन्डी खिया लागेर बांगिएका छन् । खेलकुद पदाधिकारीका अनुसार २ नम्बर प्रदेशमा नारायणी रंगशाला जतिको पूर्वाधार र जग्गा अन्य जिल्लामा छैन् । तर, मुलुककै प्रमुख आर्थिक तथा व्यापारिक नगरी भए पनि खेलकुद पूर्वाधारको समयमै संरक्षण र मर्मत सम्भार नहुँदा खेलकुदमा वीरगन्ज पछाडि पर्दै गएको छ ।
२५ लाखमा डीपीआर
खण्डहर बनेको वीरगन्जको नारायणी रंगशाला पुनर्निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले प्राविधिक खटाएर ६ वर्ष अगाडि रंगशालाको डीपीआर तयार पारेको थियो । राखेपाले डीपीआरका लागि २५ लाख रुपैयाँ खर्च गरेको थियो । डीपीआरका अनुसार रंगशाला पुनर्निमार्णका लागि २ अर्ब ६४ करोड रुपैयाँ आवश्यक पर्छ । रंगशालाको स्वामित्वमा फुटबल र क्रिकेट मैदानसहित १८ बिघा जग्गा छ । प्रतिवेदनअनुसार पुनर्निर्माण पछि फुटबल मैदानको १५ हजार र क्रिकेट मैदानको ७ हजार दर्शक क्षमता रहने छ । बहुउद्देश्य कभर्डहल पनि निर्माण गरिने डीपीआरमा उल्लेख छ ।
