कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

पेरिस पारा ओलम्पिक २०२४ मा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

भाद्र १५, २०८१
पेरिस पारा ओलम्पिक २०२४ मा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

काठमाडौँ — नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो ।

लगातार दोस्रो पटक पारा ओलम्पिकको कांस्य पदक भिडन्तको प्रतिस्पर्धामा पुगेकी पलेशाले पेरिसमा भने पदक जित्न सफल भइन् । उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् ।

पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी थिइन् । तीन वर्षअघि टोकियो ओलम्पिकको रिपिचेजको दोस्रो खेल पनि मरिजालाई नै हराएर कांस्यको भिडन्तमा पुगेकी थिइन् ।


नेपालले ओलम्पिक इतिहासमा सन् १९८८ को सोल ओलम्पिकमा तेक्वान्दोको प्रदर्शनी खेलमा कांस्य पदक जितेको थियो । उक्त कांस्य विधान लामाले जितेका थिए । नेपालले सन् १९६४ को टोकियोदेखि ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । सन् २००४ एथेन्सबाट नेपालले पारा ओलम्पिकमा पनि भाग लिने थालेको इतिहास छ ।

पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पेरिसबाट संक्षिप्त कुराकानीमा यो जित सम्पूर्ण नेपाली र नेपाली खेलकुदको जित भएको बताए । उनले भने, ‘पलेशाको मिहिनेत, हाम्रो प्रयासले पेरिसमा पदक जित्न सफल भएका छौं, यो सम्पूर्ण नेपालीको जित हो, खेलकुदको जित हो । ओलम्पिक पदकको यो खुसी सबै नेपालीमा बाॅॅड्न चाहन्छौं ।’

शीर्ष वरीयताप्राप्त ब्राजिलकी कार्डोसो फर्नान्डेजसँग क्वाटरफाइनलमा १०–८ अंकले पराजित भएपछि पलेशाको पेरिसमा फाइनल पुग्ने बाटो रोकिएको थियो । ५ मिनेटको प्रतिस्पर्धामा पलेशाले अन्तिम ५४ सेकेन्ड बाँकी रहँदासम्म ८–६ ले अग्रता बनाइसकेकी थिइन् । त्यसपछि आक्रामक बनेकी ब्राजिली फर्नान्डेजले बडी किकबाट लगातार ४ अंक बटुल्दै खेल जितेकी थिइन् ।

यो पराजयपछि पलेशाको बाटो कांस्यका लागि मोडिएको हो । रिपिचेजमा पहिलो खेलमा आयोजक राष्ट्र फ्रान्सकी चौथो वरीयताकी सोफी कार्भजनलाई २–१ स्कोरले हराएपछि पलेशा कांस्य पदक भिडन्तमा पुगेकी थिइन् ।

तीन वर्षअघि टोकियो पारा ओलम्पिकमा पलेशाले चिनियाँ खेलाडी ली युझीसँग पराजित भएपछि कांस्य पदक गुमाएकी थिइन् । त्यतिबेला उनी रिपिचेजमा दुई बाउट जितेर कांस्य प्रतिस्पर्धामा पुगेकी थिइन् । रिपिचेजको दोस्रो खेलमा उनै सर्बियाली मरिजालाई हराएकी थिइन् ।


पेरिसमा पलेशाले राउन्ड अफ १६ को खेलमा भेनेजुएलाकी मोरालेस भलेरियालाई एकपक्षीय रूपमा ३१–० अंक अन्तरले हराएर सुखद सुरुआत गरेकी थिइन् । उनले बडी किक प्रहारबाट सबैभन्दा धेरै अंक बटुलेकी थिइन् ।

उनी गत चैतमा चीनमा ताइयानमा सम्पन्न एसियाली ओलम्पिक छनोट चरण जित्दै पेरिस पुगेकी हुन् । फाइनलमा लीला मिर्जाइलाई ५–४ ले हराएर स्वर्ण जितेकी थिइन् ।

पलेशा एसियाली छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेक्वान्दोकी तेस्रो खेलाडी बनेकी थिइन् । संगीना वैद्यले सन् २००४ को ग्रिस ओलम्पिक र दीपक विष्टले २०१० को बेइजिङ ओलम्पिक खेलेका थिए ।

पलेशा तिनै खेलाडी हुन्, जसले पारा एसियाली खेलकुदमा देशका लागि पहिलो पदक जितेकी छन् । उनले गत वर्ष हाङचाउ एसियाली खेलकुदमा कांस्य जितेकी थिइन् ।

पेरिस पारा ओलम्पिकमा नेपालका तीन खेलाडीले भाग लिएका छन् । त्यसमा बिहीबार तेक्वान्दोकै भरतसिंह महता पराजित भएर बाहिरिएका थिए । उनी पहिलो खेलमै जापानका मित्सुया तानाकासँग १९–३ ले पराजित भएका थिए ।

पलेशा र भरत दुवैले बेलायतमा एक महिना विशेष प्रशिक्षण गरेर पेरिस गएका हुन् । उनीहरूको साथमा प्रशिक्षक कविराज नेगी लामा पनि गएका थिए ।

पौडीका भीमबहादुर कुमालको खेल सेप्टेम्बर २ मा रहेको छ । उनले एस ९ क्याटगोरीको ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।

पलेशाको पदक यात्रा

सन् २०१८ मा काठमाडौं सम्पन्न दोस्रो काठमाडौं ग्यारोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी पलेशाले २०१८ मै भियतनाममा सम्पन्न चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेर अन्तर्राष्ट्रिय पदक जितको यात्रा थालेकी थिइन् । त्यसपछि उनले सन् २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण पदक नै जितिन् ।

जन्मँदै बायाॅॅ हातको नाडीदेखि तलको भाग नभएकी पलेशाले स्कुलमा अध्ययनरत रहॅदा १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी हुन् । उनी सन् २०१६ देखि पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसपछि पलेशाको अन्तर्राष्ट्रिय प्रतियोगिताको डेब्यू सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप हो । त्यसमा उनी पाॅचौं स्थान रहिन् ।

काठमाडौं बागबजारकी पलेशाले लन्डनमा विश्व पारा तेक्वान्दो २०१७, जोर्डनमा पाँचौं एसियाली पारा खुला तेक्वान्दो २०१९ र टोकियोमा पारालिम्पक गेम्सको टेस्ट इभेन्ट २०१९ मा पाॅँचौं स्थान हासिल गरेकी थिइन् ।

सन् २०१९ मा टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा नवौं भएकी पलेशाले साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।

प्रकाशित : भाद्र १५, २०८१ ०५:४७
x
×