घले हाब्रेस्टिङलाई भलिबल उपाधि

भाद्र ७, २०८१

कान्तिपुर संवाददाता

Ghale Habresting wins volleyball title

गोरखा — लापुको घले हाब्रेस्टिङ क्लबले धार्चे गाउँपालिका–५ गुम्दामा भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ । घले हाब्रेस्टिङले ट्रफीसहित ७० हजार रुपैयाँ थाप्यो ।

धार्चे–५ को मनास्लु युवा क्लब दोस्रो र अजिरकोट गाउँपालिकाको भलिबल टिम तेस्रो भए । दोस्रो र तेस्रो हुने टिमले क्रमशः ४५ हजार र ३० हजार रुपैयाँ पाए । प्रतियोगितामा २२ टिमको सहभागिता रहेको संयोजक मीनबहादुर सुनारले बताए । 

महिला भलिबल प्रतियोगितामा बारपाक सुलिकोट गाउँपालिकाको उलाजुङ युवा क्लब विजेता बन्यो । बाह्रमुले युवा क्लब दोस्रो र आयोजक क्लब तेस्रो भए । पहिलो, दोस्रो र तेस्रोले क्रमशः २०, १५ र १० हजार रुपैयाँसहित ट्रफी जिते । महिलातर्फ तीन टिममात्र प्रतिस्पर्धी थिए । 

गुम्दा एकता युवा क्लब र थमरा धार्चे युवा क्लबले आलु मेलाको अवसरमा प्रतियोगिता गरेको हो । सोही अवसरमा भएको लोकनृत्य प्रतियोगितामा धार्चे–५ की सुस्मिता सुनार पहिलो, बारपाक सुलिकोटकी पूर्णिमा गुरुङ दोस्रो र धार्चे–५ यमगाउँकी सुस्मिना गुरुङ तेस्रो भए । 

विजेतालाई धार्चे गाउँपालिकाकी पूर्वउपाध्यक्ष फुलमायाा गुरुङ, वडा ५ का वडाध्यक्ष भीमप्रसाद गुरुङ र क्लबका अध्यक्ष मनुराज गुरुङले पुरस्कार वितरण गरे । 

कान्तिपुर

Link copied successfully