श्रीलंकालाई हराउँदै भारत काभा भलिबलको फाइनलमा

श्रावण २२, २०८१

रासस

India beat Sri Lanka in Kava Volleyball final

काठमाडौँ — सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलंकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो । 

त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट भारतले श्रीलंकामाथि २५–२३ को जित निकाल्यो । खेलको तेस्रो सेटमा भने श्रीलंकाको प्रदर्शन उत्कृष्ट रहेको थियो । श्रीलंकाले १२–८ को अग्रता लिएपछि भारतलाई केही समय कठिन परेको थियो तर त्यो अग्रता श्रीलंकाले लामो समयसम्म जोगाउन सकेन । त्यसपछि भारतले लगातार चार अंक बटुल्दै खेललाई १२–१२ को बराबरीमा ल्यायो ।

त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट अन्त्यमा भारतले २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । 

आजै दोस्रो सेमिफाइनल खेलमा नेपाल र इरानबीच प्रतिस्पर्धा भइरहेको छ । उक्त खेलको विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यसअघि समूह चरणको खेलमा इरानसँग नेपाल ३–२ ले पराजित भएको थियो ।

रासस

Link copied successfully