काठमाडौँ — सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा सोमबार सम्पन्न राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरिय छात्रछात्रा बक्सिङ प्रतियोगितामा जुनियरतर्फ ४६ केजी पुरुषमा बाँकेका चन्दन शाहीले अछामका रोहित जनलालाई प्रतिस्पर्धात्मक खेलमा ३–२ अंकको आधारमा हराए । ४८ केजी तौलमा अल्फा बक्सिङ क्लब दाङका कमल गुरुङले दाङकै लोकेश पुनलाई ४–० अंकले हराएर स्वर्ण पदक जिते ।
५० केजी तौलमा फाइट क्लब काठमाडौंका सेवाङदोर्जे तामाङले ललितपुरका स्वभाव थापालाई ५–० अंकको आधारमा पराजित गरे । ५२ केजीमा भूमि बक्सिङ क्लब चितवनका सरोज तामाङले एचटु बक्सिङ क्लबका प्रज्वल खत्रीलाई ३–२ अंकले हराएर स्वर्ण हात पारे ।
५४ केजीमा झापा जिल्लाका अनभास बुढाथोकीले दाङका तुलसी राम बुढाथोकीबाट वाकओभर पाए । ५७ केजी तौल समूहमा अछामका विनोद नगर्जीले भाइब क्लवका मिसन गुरुङलाई ५–० अंकको आधारमा हराए ।
६० केजीमा बक्समान्डुका सेरप गेलचेन शेर्पाले सीजीपी बक्सिङ क्लबका सिजन घलेलाई तेस्रो राउन्डमा आरएससीको आधारमा हराएर स्वर्ण जिते । ६३ केजीमा युनिक राईले निकेश गुरुङ भट्टराईलाई ४–० अंकले हराए ।
६६ केजीमा मागी बक्सिङ क्लबका नविनतम खड्काले उदयपुरका रोजन मगरलाई आरएससीका आधारमा पराजित गरे । सुनसरीका उत्सव तामाङले सीजीजीका आयुष तामाङलाई ५–० अंकले पराजित ७० केजीमा तौल समूहको स्वर्ण जिते । ७० केजीभन्दा माथिको तौलमा सीजीजीका रिजोन रुम्बाले दमकका ग्याल्वु आङदेम्बेलाई ५–० अंकको आधारमा पराजित गरी स्वर्ण जिते ।
३२ जिल्ला र क्लबबाट १ सय ४८ जना छात्रछात्रा प्रतिस्पर्धा गरेको आयोजक नेपाल बक्सिङ महासंघले जनाएको छ । विजेतालाई संघका अध्यक्ष राम अवाले, अन्तर्राष्ट्रिय विद्यालय खेलकुद संघका सदस्य राजकुमार कार्की लगायतले पुरस्कृत गरे ।
