काठमाडौँ — कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४ सय १९ स्पर्धा प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद मंसिरमा गरिने प्रस्तावित तालिका छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपका उपाध्यक्ष शिव कोइरालाको आतिथ्यता भएको दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका बिहीबार बसेको बैठकमा उक्त प्रस्ताव गरेका हुन् ।
सदस्य–सचिवले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये प्याराग्लाइडिङबाहेक ३५ खेल प्रस्ताव गरेका थिए । राखेपले दसौं राष्ट्रिय खेलकुद मंसिर २ देखि ९ गतेसम्म प्रस्ताव गरिसकेको छ ।
त्यसअघि विभिन्न ६ खेलको प्रतियोगिता भने कात्तिक २७ देखि नै सुरु गर्ने गरी प्रस्ताव गरिएको राखेपले जनाएको छ । महिला फुटबल, उसु, पुरुष/महिला बास्केटबल, जुडो, पुरुष/महिला हक्की र तेक्वान्दो खेललाई दसौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहअगावै गर्ने गरी प्रस्ताव गरिएको हो । निर्णायक संख्या १ हजार ४ सय ९९ प्रस्ताव गरिएको छ ।
बैठकमा सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६० करोड बजेट सुनिश्चित भइसकेको जानकारी गराउँदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताए ।
उनले बृहत राष्ट्रिय खेलकुद देशकै ‘ओलम्पिक खेलकुद’का रूपमा रहेको हुँदा समयमै आयोजनाको विकल्प नभएको बताए । उनले दसौं राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न सबै निकाय जिम्मेवार र गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।
उनले दसौं राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न परिषद् तयार रहेको बताए । खेलकुदलाई व्यावसायिक बनाउनुपर्ने आवश्यकता औल्याउँदै उनले लोगो र मस्कटको छनोट भइसकेको तथा खेल पोसाकको व्यवस्थापन गर्न सम्बन्धित प्रदेशलाई जिम्मेवारी दिने गरी तयार थालिएको जानकारी गराए ।
सदस्य–सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलनअनुसार दसौं राष्ट्रिय खेलकुद सकिएलगत्तै नेपालमा पहिलो पटक कर्णालीमै पारा खेलकुद पनि आयोजना गर्न लागिएको बताए ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले बैठकका दौरान खेलकुद सञ्चालन निर्देशिका संशोधनका विषयमा प्राप्त सुझावलाई सम्बोधन गरिने बताउँदै तोकिएकै समयमा दसौं राष्ट्रिय खेलकुद गर्नुपर्ने बताए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले आवासको व्यवस्थापन कारण कर्णाली प्रदेशको ५ जिल्लामा २२ देखि २४ खेलमात्र गर्न सकिने र बाँकी खेलका विषय चाँडो टुंगो लगाउनुपर्ने बताए ।
बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्य–सचिवहरूले गाउँपालिकादेखि नै खेलाडी छनोट हुनुपर्ने, एक खेलमा कम्तीमा ५ टिम सहभागी हुनुपर्ने, बजेट समयमा निकासा हुनुपर्नेलगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।
