यमलका आदर्श मेसी

असार २७, २०८१

कान्तिपुर संवाददाता

Adarsh ​​Messi of Yamal

काठमाडौँ — जुन दिन स्पेन युरोको फाइनलमा पुग्यो, त्यही दिन अर्जेन्टिना पनि कोपा अमेरिका २०२४ को फाइनल पुगेको छ । जुन दिन लामिन यमलले गोल गरे, त्यही दिन लियोनल मेसीले पनि गोल गरेका थिए ।

यो प्रसंग किन पनि उल्लेख गर्न आवश्यक छ भन्दा यमलका आदर्श हुन्, मेसी । आखिरमा मेसी पनि त त्यही ला मासिया एकेडेमीकै उत्पादन हुन् । अनि उनले भएभरको ख्याति कमाएको पनि बार्सिलोनाकै लागि खेल्दा हो । यही संयोगबीच एउटा तस्बिर खुबै भाइरल भइरहेको छ र यससँग जोडिएको कथाले यमलको प्रदर्शनलाई अझ विशेष बनाएको छ ।

Adarsh ​​Messi of Yamalयो तस्बिरमा मेसी एउटा ६ महिनाको बच्चासँग खेल्ने प्रयासमा देखिन्छन् । केही नभए पनि १६ वर्षअगाडिको यो तस्बिर सबैले बिर्सिसकेका थिए । तर युरोकै बेला पारेर यमलका बुबाले यो तस्बिरलाई आफ्नो ‘इन्स्ट्राग्राम’मा पोस्ट गरे । यो युनिसेफको च्यारिटी क्यालेन्डरका लागि जोन मोफोर्टले खिचेको तस्बिर हो । यसमा देखिएका सानो हँसिलो बच्चा अरू कोही नभएर यमल थिए । मोफोर्टलाई के सम्झना छ भने मेसीलाई ती बच्चासँग कसरी बोलुँ र फकाउने भनेर गाह्रो परेको थियो ।

बच्चा भने मज्जाले हाँसिरहेका देखिन्छन् । मज्जाले खेलिरहेका छन् । त्यति बेला मोफोर्टले त्यसको क्याप्सनमा लगभग यस्तै लेखेका थिए, फुटबलका सुपरस्टार एउटा बच्चासँग । अब त यो क्याप्सन पनि बदल्नुपर्ने भएको छ ।

समयले क्याप्सनलाई पनि फेर्न बाध्य पार्दो रहेछ । अब यस तस्बिरको क्याप्सन ‘एउटै फ्रेममा फुटबलका दुई सुपरस्टार’ राख्दा उपयुक्त हुने देखियो । एउटा पुराना र अर्का नयाँ । यमलको आजको प्रगतिमा मेसी आफैं पनि खुसी भएको हुनुपर्छ ।

कान्तिपुर

Link copied successfully