कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

एसियाली विश्वकप छनोट : चीन र इन्डोनेसिया तेस्रो चरणमा

काठमाडौँ — दक्षिण कोरियाको हातबाट १–० ले पराजित भएपछि चीन एसियाली विश्वकप छनोटको तेस्रो चरण पुगेको छ ।नाटकीय साबित दोस्रो चरणको अन्तिम दिन बुधबार इन्डोनेसिया पनि तेस्रो चरण पुग्न सफल रह्यो । 

एसियाली विश्वकप छनोट : चीन र इन्डोनेसिया तेस्रो चरणमा

समूह ‘सी’ मा सोलमा भएको खेलमा पीएसजीका ली क्वाङ–इनले दक्षिण कोरियाको जितमा निर्णायक गोल गरे । थाइल्यान्डले चिनियाँ हारको फाइदा लिन सकेन । टोली समूहको तेस्रो स्थानमै सीमित रह्यो । सिंगापुरलाई तीन गोल अन्तरले पराजित गर्नुपर्नेमा थाइल्यान्डले ३–१ को सफलता मात्र हात पार्न सक्यो । चीन र थाइल्यान्डबीच अंकदेखि गोलअन्तर सबैमा बराबरी रह्यो । तर, चीन हेड टु हेड नतिजाको आधारमा अगाडि बढेको हो । खेलको अन्त्यमा थाइ खेलाडीले आफ्नो निराशा लुकाउन सकेनन् ।

यता, जकार्तामा भने अपार खुसी देखियो । इन्डोनेसिया पहिलोपल्ट छनोटको तेस्रो चरण पुग्न सफल रह्यो । टोलीले फिलिपिन्सलाई २–० ले पराजित गरेको हो । इन्डानेसियाको समूह ‘एफ’बाट इराक पनि अघिल्लो चरणमा पुगेको छ ।

एसियाली विश्वकप छनोट दोस्रो चरण समाप्तिमा १८ टिम अगाडि बढेका हुन् । दोस्रो चरणको लिग चरणमा प्रत्येक समूहमा शीर्ष दुई स्थान हात पार्नेले तेस्रो चरणमा स्थान बनाएका हुन् । त्यसमा कतार, कुवेत, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, चीन, ओमान, किर्गिस्तान, इरान, उज्वेकिस्तान, इराक, इन्डोनेसिया, जोर्डन, साउदी अरेबिया, यूएई र बहराइन छन् ।

अब ती टोलीहरूलाई ६–६ टिमसम्मिलित तीन समूहमा विभाजन गरिनेछ । लिग चरणका खेल हुनेछ । यी सबै टिम एसिया कपका लागि छनोट भएका छन् । दक्षिण एसियाबाट कुनै पनि टिम तेस्रो चरण पुग्न सकेनन् । प्रत्येक समूहको अन्तिम दुई स्थानमा रहने टिमले एसिया कप छनोटको तेस्रो चरण खेल्नेछन् ।

त्यसमा कुल २४ टिम हुनेछ । त्यसमा विश्वकप छनोटको दोस्रो चरणबाट बाहिरिने १८ टिम हुनेछन् । त्यसमा नेपालसँगै भारत, अफगानिस्तान, सिरिया, म्यानमार, थाइल्यान्ड, सिंगापुर, मलेसिया, चाइनिज ताइपेई, तुर्कमेनिस्तान, हङकङ, भियतनाम, फिलिपिन्स, ताजकिस्तान, पाकिस्तान र यमन छन् ।

पहिलो चरणबाट बाहिरिने टिममध्ये तीन उत्कृष्टले पनि यो चरण खेल्नेछन् । यी टिम भुटान, मादिल्भ्स र लाओस छन् । थप तीन टिमको निर्णय पहिलो चरणमै रोकिएको छ टिमबीचको प्ले–अफले गर्नेछ । प्ले–अफमा भने कम्बोडिया, मकाओ, मंगोलिया, ब्रुनाइ, इस्ट टिमोर र श्रीलंका छन् ।

नेपाल–यमनको बराबरी

नेपालले एसियाली विश्वकप छनोट दोस्रो चरणको अन्तिम खेलमा हारको क्रम र गोल खडेरी तोड्दै बुधबार राति यमनसँग २–२ को बराबरीमा खेलेको छ । यो खेल गोलरक्षक कप्तान किरण चेम्जोङ लिम्बूका लागि नेपालको सय खेल थियो । उनी नेपालबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन् ।

साउदी अरेबियाको दमाममाभएको खेलमा नेपालबाट सन्जीव विष्ट र जिलेप्सीजंग कार्कीले गोल गरे । दुवैले नेपालबाट गरेको पहिलो गोल हो । यमनले दोस्रो हाफको इन्ज्युरी समयमा गोल फर्काएपछि नेपाल जितबाट वञ्चित भयो । यमनले नवौं मिनेटमा पेनाल्टीबाट अग्रता लियो । नसिम अल–गहवासीले गोल गरे । त्यसपछि नेपालका सन्जीवले २२ र जिलेप्सीले ६६ औं मिनेटमा गोल गरेर अग्रता दिलाए । दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा मोहम्मद अल–दाहीले गोल गरे ।

५ खेलमा नेपालले कुनै गोल गर्न सकेको थिएन । लगातार ५ खेलमा हारको पनि टुंगिएको छ । नेपाल १ अंक बटुल्दै विश्वकप छनोट यात्रा टुंग्यायो । अब नेपालले एसिया कप छनोटको तेस्रो चरण खेल्नेछ ।

प्रकाशित : जेष्ठ ३१, २०८१ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×