बेलायत जाने नेपाली फुटबल टोलीको बिदाइ

वैशाख १७, २०८१

कान्तिपुर संवाददाता

Farewell to Nepali football team going to UK

काठमाडौँ — इंग्ल्यान्ड जान लागेको नेपाली फुटबल टोलीलाई सोमबार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्बाङसहित नेपालका लागि बेलायतका राजदूत रोब फेनले टोलीको बिदाइ गरेका थिए । नेपाली फुटबल टोली मंगलबार त्यसतर्फ जाने कार्यक्रम छ ।

नेपाली राष्ट्रिय टोलीले इंग्ल्यान्डको ‘सी’ टोलीसँग मे ६ अल्डरसटमा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसअघि मे ३ मा ब्रिटिस आर्मी च्याम्पियन टोलीसँग खेल्ने छ । नेपाली राष्ट्रिय टोली पहिलो पटक बेलायती भूमिमा गएर खेल्न लागेको हो ।

अल्डरसट टाउन एफसीले एन्फा र फुटबल एसोसिएसन (एफए) सँगको सहकार्यमा नेपाली टोलीलाई लन्डन बोलाएर खेलाउन लागेको हो । ८ हजार दर्शक क्षमताको अल्डरसटको मैदान इबीबीमा मे ६ मा नेपालको मुख्य खेल हुनेछ । अल्डरसट नेपालीको बाक्लो उपस्थिति रहेको क्षेत्र हो ।

प्रमुख रक्षक अनन्त तामाङ भने चोटका कारण लन्डन जाने छैनन् । किरण चेम्जोङको कप्तानीमा टोलीमा अभिषेक बराल, विशाल सुनार, छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द, फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनीष डाँगी, लाकेन लिम्बू, दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ र सन्जीव विष्ट छन् ।

टोलीको मुख्य प्रशिक्षकमा भिन्सेन्जो अल्बर्टो एनिस, प्रवेश कटुवाल (प्रशिक्षक), विनोद महर्जन (गोलकिपिङ प्रशिक्षक), लोकेन्द्र कुँवर (फिजियो), मनीष जोशी (हेड अफ डेलिगेसन), पुरुषोत्तम थापा (अफिसियल), उत्तम भण्डारी (व्यवस्थापक) रहेका छन् ।

एन्फा अध्यक्ष नेम्बाङले पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको पालामा यसको पहल भए पनि कोभिड–१९ का कारण नेपाली टोलीको इंग्ल्यान्ड यात्रा ढिलो भएको जनाए । उनले नेपालको बेलायतसँगको पुरानो सम्बन्ध रहेको र फुटबलले यसलाई अझ बृहत बनाउने अपेक्षा लिएको जनाए । बेलायती राजदूत फेनले नेपाली फुटबल टोलीको इंग्ल्यान्ड यात्राले दुई देशको सम्बन्ध अझै प्रगाढ बनाउने विश्वास लिए । 

कान्तिपुर

Link copied successfully