कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

भलिबल वर्ष खेलाडी चुनिए उषा र रविन

भलिबल वर्ष खेलाडी चुनिए उषा र रविन

काठमाडौँ — नेपाल पुलिस क्लबका खेलाडीद्वय उषा भण्डारी र रविन चन्द भलिबलको उत्कृष्ट वर्ष खेलाडी भएका छन् । 

नेपाल भलिबल संघ (एनभीए) ले शुक्रबार आयोजना गरेको चौथो एनभीए अवार्डमा पुलिस क्लबको वर्चस्व रहेको थियो । वर्ष खेलाडी भएका उषा र रविनले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

वर्षका उदीयमान खेलाडी महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रगति नाथ र पुरुषतर्फ एपीएफ क्लबका हेमन्त मल्ल चुनिए । उनीहरूले पनि जनही ५० हजार पाए । वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघका रमेश केसी र महिलातर्फ नेपाल पुलिस क्लबका प्रशिक्षक रुपेशकुमार विष्टले पाए । उनीहरूले जनही ५० हजार पाए ।

राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान तथा पुलिस क्लबका कप्तान इम रानालाई ५० हजार रुपैयाँसहित अभिनन्दन गरिएको थियो ।

भलिबललाई निरन्तर प्रायोजन गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकका पूर्वसिइओ किरणकुमार श्रेष्ठलाई पनि अभिनन्दन गरिएको थियो । वर्षको उत्कृष्ट टिम महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ सम्मानित भयो ।

खेलकुद पत्रकार सम्मानबाट हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिना ५० हजार रुपैयाँसहित सम्मानित भए ।

नेदरल्यान्ड्स भलिबल संघका अध्यक्ष पिटर स्प्रिङ्गरलाई पनि विशेष सम्मान गरिएको थियो ।

सोही अवसरमा संघले वर्षभर उत्साहजनक काम गर्ने विभाग, जिल्ला, प्रदेश र क्लबहरूलाई पनि सम्मान गरेको थियो ।

संघले एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, संखुवासभा, कञ्चनपुर, सुर्खेत, म्याग्दी, पाल्पा जिल्ला संघ, जावलाखेल भलिबल प्रशिक्षण सेन्टर, ढोरपाटन भलिबल क्लब, टिपटप हेल्प नेपाल र एभरेस्ट भलिबल क्लबलाई पनि सम्मान गरेको छ ।

यस्तै किंग्स क्लब, दाँवाली मिलन, केशवलाल स्मृति प्रतिष्ठान, शेरबहादुर स्मृति प्रतिष्ठान, मणिमुकुन्द भलिबल क्लब, न्यु डायमन्ड महिला भलिबल टिम, टाइगर ग्रुप अफ पोखरा र बूढानीलकण्ठ भलिबल क्लबलाई सम्मान गरिएको थियो ।

प्रकाशित : वैशाख १, २०८१ ०८:३४
x
×