कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

आयरल्यान्ड उल्भसमाथि नेपाल ‘ए’को रोमाञ्चक जित

विनोद पाण्डे

काठमाडौँ — ग्यारेथ डेलानी र मोर्गन टपिङले सतकीय साझेदारी गरे पनि नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम ट्वान्टी २० क्रिकेटमा आयरल्यान्ड उल्भस (ए) लाई ३ रनले पराजित गरेको छ । अन्तिम ओभरमा २० रन चाहिने अवस्थामा आयरल्यान्ड ‘ए’ ले १६ रनमा बनाउन सकेको थियो ।

आयरल्यान्ड उल्भसमाथि नेपाल ‘ए’को रोमाञ्चक जित

पहिलो ४ बलमा फिओन ह्‍यान्डले १४ रन बनाए पनि उनी पाँचौं बलमा २ रन लिने प्रयासमा रनआउट भएका थिए । अन्तिम बलमा विजयका निम्ति ५ रन चाहिएको अवस्थामा लिएम म्याकर्थीले लेग बाइबाट १ रनमात्र लिन सकेका थिए ।

शृंखलामा नेपालले यो पहिलो खेल जितेको हो । आयरल्यान्ड ‘ए’ ले पहिलो दुई खेल क्रमशः २१ र ४० रनले जितेर यसअघि नै शृंखला जितेको थियो ।

ओपनर रस एडेयरले ३१ रन बनाएका थिए । उनले १४ बल खेली ५ चौका र १ छक्का प्रहार गरेका थिए । अर्का ओपनर जेम्स म्याकलम ७ र पिटर मुर २ रनमा आउट भएका थिए । यी तिनैलाई विपिन खत्रीले आउट गरेका थिए । विपिनले ४ ओभरमा १ मेडन राख्दै २३ रनमात्र खर्चे ।

कप्तान निल रक २ रनमा आउट भएपछि डेलानी र टपिङ नेपाली बलरमाथि हावी भएका थिए । यी दुईले ६५ बलमा पाँचौं विकेटमा १ सय १९ रनको साझेदारी गरे । टपिङले ६० रन बनाए । १८ औं ओभरमा आउट भएका उनले ३७ बल खेली समान ४ चौका र छक्का प्रहार गरे ।

डेलानीले ६८ रन बनाए । उनले ३७ बल खेली समान ५ चौका र छक्का प्रहार गरे । विपिनबाहेक नेपालबाट कमलसिंह ऐरी, रशिद खान र नारायण जोशीले १–१ विकेट लिए । तर कमल र रसिद निकै महंगा बने । रसिदले ४ ओभरमा ५५ र कमलले ४२ रन खर्चे ।

यसअघि आयरल्यान्ड ‘ए’ ले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय १३ रन बनाएको थियो ।

प्लेयर अफ द म्याच आरिफ शेखले सर्वाधिक अविजित ९३ रन बनाए । उनले ४८ बल खेली ७ चौका र ६ छक्का प्रहार गरेका थिए । शृंखलाको पहिलो दुई खेलमा आरिफले क्रमशः ४९ र १४ रन बनाएका थिए ।

आरिफ र रसिद खानले सातौं विकेटमा १९ बलमा ४६ रनको साझेदारी गरे । रशिदले १३ बल खेल्दै ३ छक्का प्रहार गरि २४ रन बनाए । उनले तीनै छक्का म्याथ्यु फोस्टरको १८औं ओभरमा प्रहार गरेका थिए । रसिदलाई फोस्टरले त्यही ओभरमा आउट गरे । फोस्टरको त्यो ओभरमा नेपाली टोलीले २७ रन जोडेको थियो ।

आरिफ र कमलसिंह ऐरीले पनि आठौं विकेटमा १४ बलमा ४६ रनको साझेदारी गरे । कमलले ७ बल खेली २ चौका र १ छक्कासहित अविजित १९ रन बनाए । नेपालले अन्तिम ५ ओभरमा १ विकेट गुमाई ८४ रन बनाएको थियो ।

नेपालबाट अन्यले खासै गतिलो योगदान दिन सकेनन् । देव खनाल ६, लोकेश बम ८, कप्तान विनोद भण्डारी ११, बसिर अहमद १९, पवन सर्राफ १३ र नारायण जोशी १ रनमा आउट भए । आयरल्यान्ड ‘ए’ बाट फिओन हृयान्डले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।

नेपाली राष्ट्रिय टोलीसँगको पहिलो दुई ट्वान्टी-२० खेलमा पराजित आयरल्यान्ड उल्भसले अब नेपाल ‘ए’ सँग तीन एकदिवसीय खेलको शृंखला खेल्ने छ । पहिलो खेल बुधबार हुनेछ ।

प्रकाशित : चैत्र १९, २०८० १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?