झापा — झापाकै प्रतिष्ठित ‘झापा गोल्डकप’ आयोजनाको मूलथलो बिर्तामोडको डोमालाल राजवंशी रंगशाला कहिले बन्ला भन्ने चासो वर्षौं पुरानो हो । २०७२ मा जब झापा गोल्डकपको पहिलो संस्करण सुरु भयो, तबदेखि नै यो घाँसे मैदानलाई व्यवस्थित रंगशालाको रूप लिने आश्वासन आइरहे । तर, प्रतियागिता हुन थालेको एक दशक बित्नै लाग्दा पनि रंगशाला बन्ने छाँटकाट देखिँदैन ।
प्रतियोगिता उद्घाटनमा आउने नेताहरूले सधै रंगशाला बनाउने आश्वासनको मिठो सपना बाँड्छन् । प्रतियोगिता सम्पन्न भएसँगैभने रंगशाला बनाउने कुरा पनि क्रमशः सेलाउँदै जान्छ । जबजब प्रतियोगिता सुरु हुन लाग्छ, रंगशाला बन्ने कुरा पनि सतहमा आउँछ । प्रतियोगिता अवधिभर चर्चा हुन्छ पुनः सेलाउँछ ।
यसपटक छैटौं संस्करणको प्रतियोगिता सुरु भएसँगै डोमालाल राजवंशी मैदानलाई रंगशाला बनाउने चर्चा सुनिएको छ । गत १९ गते प्रतियोगिता उद्घाटनपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भने, ‘सबै पार्टी, जनप्रतिनिधि, खेलप्रेमी मिलेर रंगशाला बनाउनु पर्छ । तपाईंहरूको साथमा म पनि छु ।’
बर्सेनि बाँसको अस्थायी प्यारापिट बनाउँदा लाखौं रकम खर्च भइरहेको छ । यसपटक पनि १० लाख रुपैयाँभन्दा बढी त अस्थायी प्याराफिट निर्माणमै खर्च भएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । हामीलाई पनि अस्थायी प्याराफिटमा खर्च गर्ने रहर छैन,’ बस्नेतले भने,‘व्यवस्थित रंगशाला नबनुन्जेल हामी बाध्य छौं ।’
रंगशाला निर्माणको अगुवाइ स्थानीय सरकारले लिनुपर्ने अध्यक्ष बस्नेतको भनाइ छ । यो वर्ष रंगशाला निर्माणका लागि ५० लाख रुपैयाँ बजेट पनि विनियोजन भएको छ । तर, निर्माणको काम कहिले थाल्ने ? कसरी थाल्ने भन्ने विषयमा अन्यौलता देखिन्छ । ‘नगरपालिकाले निर्माणको पहलकदमी लिए हामी सहयोग गर्न तयार छौं,’ अध्यक्ष बस्नेतले भने,‘यो ठूलो लगानीको योजना हो । तीनै तहको सरकारको पलहबाट मात्रै सम्भव छ ।’
गोल्डकपबाट भएको आम्दानीलाई स्थायी प्याराफिटको जग बसाल्न खर्च गरिनुपर्ने मत स्थानीय खेलप्रेमीहरूको छ । ‘प्रत्येक वर्ष भएको आम्दानीलाई रंगशाला निर्माणमा खर्च गर्न सकिन्छ,’ स्थानीय उद्यमी वीरकहादुर दर्नालले भने,‘एकैचोटि बनाउन सकिँदैन भने क्रमशः बनाउँदै जानुपर्छ ।’
अघिल्लो वर्ष पूर्वप्रधानमन्त्रीले एमालेलाई जिताउनुस् रंगशाला बनाउँछु भनेको स्मरण गर्दै दर्नालले पालिका र क्षेत्र नै जित्दा पनि एमालेले निर्माणको गति अघि नबढाएको आरोप लगाए । दोस्रो संस्करणमा करिब ५६ लाख २१ हजार र तेस्रो संस्करणमा करिब १९ लाख रुपैयाँ आम्दानी भएको थियो । उक्त आम्दानीलाई प्याराफिट निर्माणमा खर्चिएको भए, अहिलेसम्म रंगशाला आधाउधी बनिसक्ने दाबी स्थानीयको छ ।
गोल्डकपका तत्कालीन अध्यक्ष महेन्द्र गिरीको मत फरक छ । उनले रंगशाला निर्माणमा सरकारको अग्रसरता जरुरी रहेको औंल्याए । उनी भन्छन्,‘तीन वटै सरकार र समुदायको साझेदारीमा मात्रै रंगशाला अघि बढ्न सक्छ ।’
२०७८ फागुन २१ मा अघिल्लो संस्करणको उद्घाटन गरेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै घोषणा गरेका थिए, ‘निर्वाचनपछि डोमालाल राजवंशी रंगशाला कुनै पनि हालतमा बन्छ ।’ तर, चुनाव सकिएको पनि दुई वर्ष बित्यो, रंगशाला निर्माण कार्य अगाडि बढ्न सकेको छैन । ‘नेताहरूले आश्वासन त धेरै दिन्छन् तर रंगशाला निर्माणमा पहलकदमी चाहिँ गर्दैनन्’, कतारमा व्यवसाय गर्दै आएका झापा एफसीका मालिक अर्पणविक्रम खड्काले भने,‘डोमालाल रंगशाला निर्माणमा अभियान थाल्ने हो भने देश विदेशवाट सहयोगको ओइरो लाग्न सक्छ ।’
स्थानीय अगुवा जलकुमार गुरुङले डोमालाल राजवंशी मैदानलाई रंगशाला बनाउन सक्नु झापाका लागि ठूलो उपलब्धि हुने बताए । गुरुङले भने, ‘जुनसुकै कुराको पनि समय आउनु पर्ने रहेछ, रंगशाला बन्ने समय एक दिन पक्कै आउला ।’ लामो समय जमिन स्वामित्व विवादका कारण रंगशाला निर्माणको काम अघि बढ्न नसकेको उनको भनाइ छ ।
रंगशाला बनाउने काम तीन वर्षअघि नै थाल्न लागिएको तर बिर्तामोड नगरपालिकाले प्रक्रिया अघि नबढाइदिएको झापाका फुटबलप्रेमीहरूको आरोप छ ।
बिर्तामोड–३ को करिब २ बिघा ८ कठ्का १४ धुर गुठीको जग्गालाई पुनः सरकारको स्वामित्वमा फिर्ता गराइएको थियो । रंगशाला बनाउन प्रस्ताव गरिएको तत्कालिन अनारमनी गाविस वडा नम्बर ५ कित्ता नम्बर १२०, ८२२, ८२५ र ८१५ को जग्गा क्रमशः १ बिघा २ कठ्ठा १० धुर, ६ कठ्ठा, १३ कठ्ठा र ७ कठ्ठा ८ धुर जग्गा पुनः सरकारको स्वामित्वमा फिर्ता गराइएको हो ।
अनारमनी दुर्गा मन्दिरको नाममा रहेको रंगशालाको जग्गा डोमालाल राजवंशीले गुठीलाई दान गरेका थिए । यो जमिन हत्याउन भूमाफियाहरूले गरेको प्रयत्न विफल भएको थियो । दाताले दिएको करिब १४ बिघा जग्गा हडप्ने चलखेल हुँदा बिर्तामोडको मध्यभागमा रहेको रंगशालामा पूर्वाधार विकास गर्न नसकिएको बताइएको छ ।
