२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेपाललाई पराजित गरी नेदरल्यान्ड्सलाई उपाधि

विनोद पाण्डे

काठमाडौँ — साइब्रान्ड इंगेलब्रेक्टले आक्रामक इनिङ्स खेलेपछि नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गरी ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला प्रतियोगिता जितेको छ । इंगेलब्रेक्टले २९ बलमा ४८ रन बनाएपछि नेदरल्यान्ड्सले फाइनलमा १ सय ८५ रनको लक्ष्य ३ बल अगाडि पूरा गरेको थियो ।

नेपाललाई पराजित गरी नेदरल्यान्ड्सलाई उपाधि

इंगेलब्रेक्टले १८ औं ओभरमा अविनाश बोहरालाई समान २ चौका र छक्कासहित २१ रन बनाएपछि नेदरल्यान्ड्सले खेल पल्टाएको थियो । उनले कुल ४ चौका र ३ छक्का प्रहार गरे । इंगेललब्रेक्टपछि आएका टिम भान डेर गुग्टेनले ५ बलमा समान २ चौका र छक्कासहित अविजित २१ रन बनाएपछि नेदरल्यान्ड्सले १९.३ ओभरमा १ सय ८९ रन बनाएको थियो ।

ओपनर माइकल लेभिटले सर्वाधिक ५४ रन बनाएका थिए । उनले २९ बल खेली ६ चौका र ३ छक्कका साथ ५४ रन बनाए । म्याक्स ओ डडले २३ बलमा २२, विक्रमजित सिंहले २३ बलमा २९ रन बनाए । नेपालबाट कुशल मल्लले ३ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । अविनाश र दीपेन्द्रसिंह ऐरीको नाममा १–१ विकेट रहयो ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभर खेलि ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । ओपनर कुशल भुर्तेल १० बल खेली १ चौका र २ छक्का प्रहार गरी २० रनमा आउट भए । रिभर्स स्विप हान्न खोजेका उनलाई टिम भान डेर गुग्टेनले बोल्ड गरे । रोहितले १९ बल खेली ३ चौका र १ छक्कासहित २५ रन बनाए । उनी पनि रिभर्स स्विप हान्ने चक्करमै आउट भए ।

ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । उनले ३७ बल खेली १ चौका र ३ छक्का प्रहार गरे । उनी दुर्भाग्यपूर्ण एलबीडब्लु आउट भए । दुबैलाई माइकल लेभिटले आउट गरे । नेदरल्यान्ड्सका फिल्डरले आसिफ २ र ३६ रनमा भएको समयमा दुई पटक क्याच छाडेका थिए । दीपेन्द्र १ रनमै आउट भए ।

मल्लले ११ बल खेली ३ छक्का प्रहार गरि २६ रन बनाए । करण केसी ९ रनमा आउट भए । आरिफ शेख पहिलो बलमै आउट भए । योक्रममा नेपालले ८ बलको अन्तरमा ४ विकेट गुमाएको थियो । सोमपाल कामी र प्रतिश जिसी समान ६ रनमा अविजित रहे । नेदरल्यान्ड्सबाट फ्रेड क्लासेन, भान डेर गुग्टेन, लेभिट र साइब्रान्ड इंगलब्रेक्टले २–२ विकेट लिए ।

नेपालले पछिल्लो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरी फाइनलमा पुगेको थियो । डबल राउन्ड रोबिनको यस प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले पराजित गरेको थियो । पहिलो दुई खेल जितेको नेदरल्यान्ड्स तेस्रो खेलमा नेपालसँग पराजित भएको थियो ।

आइतबार नेदरल्यान्ड्स र नामिबिया बीचको खेल वर्षाका कारण रद्ध भएपछि नामिबियाको फाइनल पुग्ने सम्भावना समाप्त भएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०८० १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?