प्रशिक्षक मोन्टी देसाई भन्छन् : ‘साँघुरो अन्तरको हारजितमा खेलको विश्लेषण गर्न गाह्रो हुन्छ तर, हामी स्किल देखाइरहेका छौं’
काठमाडौँ — दीपेन्द्रसिंह ऐरीले पहिलो दुवै बलमा क्रमशः चौका र छक्का प्रहार गरिसकेका थिए । यस्तोमा नेपाललाई बुधबार नेदरल्यान्ड्सविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाका खेल जित्न अन्तिम ४ बलमा ५ रनमात्र आवश्यक थियो । तर, बाँकी ४ बल नेपालका लागि सम्झनलायक रहेन । जसका कारण नेपालले २ रनको निराशाजनक हार बेहोर्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ८५ रनको लक्ष्य पाएको नेपालले ८ विकेट गुमाई १ सय ८२ रनमात्र बनाउन सक्यो । लगातार दोस्रो हारले नेपाल यस त्रिकोणात्मक शृंखलाको फाइनल दौडबाट बाहिरिने स्थितिमा पुगेको छ । अघिल्लो दिन नामिबियासँग पराजित नेपाललाई फाइनलमा पुग्न अब नामिबिया र नेदरल्यान्ड्सविरुद्धका बाँकी दुवै खेल जित्नैपर्ने हुन्छ ।
नेपालका प्रशिक्षक मोन्टी देसाई हारमा आत्तिएका भने छैनन् । ‘पछिल्ला दुवै खेलमा हामी कम्तीमा ब्याटिङबाट विजय लक्ष्य पछ्याउने प्रयास गरिरहेका छौं, त्यसैमा खुसी छु । निर्धक्कसाथ खेल्नु हाम्रो पहिचान हो, हामी स्किल देखाइरहेका छौं,’ उनले भने, ‘हारजितको अन्तर एकदमै साँघुरो छ, त्यसैले यस्तो खेलको विश्लेषण गर्न गाह्रो हुन्छ । तर, कप्तान रोहित (पौडेल) र दीपेन्द्रले जसरी ब्याटिङ गरे, त्यो सकारात्मक पक्ष हो ।’ रोहितले ५० रन बनाई इनिङ्स जमाएको अवस्थामा दीपेन्द्र र करण केसीले अन्तिम केही ओभर सानदार ब्याटिङ गरेका थिए । अन्तिम तीन ओभरमा नेपाललाई जितका लागि ४८ रन चाहिन्थ्यो । आर्यन दत्तले फालेको १८ औं ओभरमा दीपेन्द्रले १ छक्का र २ चौका प्रहार गरेपछि नेपालले कुल १९ रन जोडेको थियो ।
ट्वान्टी–२० का लागि डच टोलीमा समावेश टिम भान डेर गुग्टेनलाई १९ औं ओभरमा दीपेन्द्र र करणले १–१ छक्का प्रहार गर्दै नेपालका लागि कुल १५ रन जोडेका थिए । नेपाललाई अन्तिम ओभरमा १५ रन चाहियो । देव्रेहाते स्पिनर रोइल्फ भान डेर मर्वीको पहिलो दुई बललाई दीपेन्द्रले बाउन्ड्री बाहिर पठाएका थिए । तेस्रो बलमा दुई रन लिने प्रयासमा करण नन स्ट्राइक एन्डमा रनआउट भए । करणले ७ बलमा ११ रन बनाए । त्यसपछिको बलमा ३९ वर्षे भान डेर मर्वीले दीपेन्द्रलाई बोल्ड गरे । प्रतिश जिसीले पाँचौं बलमा कुनै रन बनाउन सकेनन् भने छैटौं बलमा लेग बाईमा १ रनमात्र आएपछि नेपाल पराजय भोग्न बाध्य भयो ।
‘जसले अन्तिम ओभर बलिङ गरे, उनी पनि निकै अनुभवी बलर हुन् । उनले आफ्नो बहादुरी देखाए र खेल उनको पक्षमा गयो । देव्रेहाते स्पिनरले बलिङ गरिरहेको समयमा गुलशन झाले स्ट्राइक नपाउनु पनि हाम्रो दुर्भाग्य भयो,’ मोन्टीले भने । करण आउट भएपछि आएका गुलशनले कुनै बलको सामना गर्नै पाएनन् ।
दीपेन्द्रले ३४ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्दै ६० रन बनाएपछि नेपालले विजयको नजिक पुगेको थियो । सोक्रममा दीपेन्द्र र करण केसीले सातौं विकेटमा ५५ रनको साझेदारी गरेका थिए । यसअघि ओपनर कुशल भुर्तेल पुनः शून्यमा आउट भए । आसिफ शेखले २३ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेर ३४ रन बनाए । रोहितले ३६ बलमा ६ चौका र २ छक्का प्रहार गरी ५० रन बनाए । कुशल मल्ल ११, सन्दीप जोरा ८ रन, सोमपाल कामी शून्यमा आउट भए ।
भान डेर मर्वीले ४ ओभरमा २४ रनमात्र खर्चेर २ विकेट लिए । प्लेयर अफ द म्याच साइब्रान्ड इन्गेलब्रेक्ट थिए । उनले २ ओभरमा १३ रनमात्र खर्चेर कप्तान रोहित र कुशल मल्लको विकेट लिएका थिए । नेपालले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेदरल्यान्ड्सले ४ विकेट गुमाई १ सय ८४ रन बनाउदा ‘डेब्यु’ गरेका इन्गेलब्रेक्टले अविजित ४९ रन बनाए ।
म्याक्स ओ डडलाई तेस्रो ओभरमा करणले ४ रनमै आउट गरे पनि अर्का ओपनर माइकल लेभिटले ५४ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका लेभिटले ३६ बलम ५ चौका र ३ छक्का प्रहार गरे । कुशल मल्लको वाइड बलमा लेभिटलाई आसिफबाट स्टम्पआउट गराए । उनले ३८ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।
कप्तान स्कट इडवार्डस ३३ रनमा रनआउट भए । उनले १६ बलमा ५ चौका प्रहार गरे । इन्गेलब्रेक्ट र तेजा निडामानुरुले चौथो विकेटमा ६१ रनको साझेदारी गरे । इनिङ्सको अन्तिम बलमा रनआउट भएका निडामानुरुले २४ बलमा ३ चौकासहित ३१ रन बनाए । नेपालबाट दीपेन्द्रसिंहले ४ ओभरमा १ मेडन राख्दै २० रनमात्र खर्चे । नेपालले अविनाश बोहरा र विवेक यादवको स्थानमा ललित राजवंशी र प्रतिश जिसीलाई प्लेयिङ ११ मा राखेको थियो । ट्वान्टी–२० विश्वकप यात्रालाई मध्यनजर गरी खेलाडी प्रयोग गरिएको र ११ खेलाडीमा मात्र भर नपर्ने मोन्टीले जनाए ।
डच टोलीमा क्रिस्टेन
डच क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा दक्षिण अफ्रिकाका ग्यारी क्रिस्टेन समावेश भएका छन् । भारतलाई सन् २०११ को विश्वकपको उपाधि दिलाउँदाका प्रशिक्षक क्रिस्टन तीन दिनअघि नेपाल आएका हुन् । उनी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपसम्म नेदरल्यान्ड्सको ब्याटिङ परामर्शको रूपमा रहने छन् ।
