कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफ र हेल्प नेपाल च्याम्पियन

चौथो टाइगर कप भलिबलमा एपीएफले उपाधिमा ह्याट्रिक गर्दा हेल्प नेपाल पहिलोपल्ट च्याम्पियन
निरुता र फखर उद्दिन सर्वोत्कृष्ट
दीपक परियार

पोखरा — विभागीय टोली एपीएफ क्लबले चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ तेस्रोपल्ट उपाधि जितेको छ । पुरुषमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब च्याम्पियन बन्यो ।

एपीएफ र हेल्प नेपाल च्याम्पियन

शनिबार फाइनलमा एपीएफले न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै उपाधिमाथि ह्याट्रिक गरेको हो । एपीएफले २५–२०, २५–१८, २५–२१ को सहज जित निकाल्दै ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार जितेको छ । उपविजेता न्यु डायमन्डले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पायो ।

हेल्प नेपालले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै उपाधि जित्यो । तीन पाकिस्तानी खेलाडी लिएर प्रतियोगितामा सहभागी भएको हेल्प नेपालले तीन भारतीय खेलाडीसम्मिलित साबिक विजेता गण्डकीलाई उपाधि रक्षा गर्न दिएन ।

पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेटमा पनि त्यही लय काय राख्दै २५–१८ ले जित्दै गण्डकीलाई दबाबमा राख्यो । तेस्रो सेटमा पुनरागमन गर्दै गण्डकीले २६–२४ ले सेट जित्यो तर चौथो सेट हेल्प नेपालले २५–१७ ले आफ्नो पक्षमा पारेपछि पहिलोपल्ट उपाधि जित्न सक्यो ।

हेल्प नेपालले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता गण्डकीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाएका थिए ।

पुरुषतर्फ एपीएफ क्लबले तेस्रो स्थान प्राप्त गर्‍यो । शनिबारै भएको खेलमा पाहुना टोली श्रीलंकन आर्मीलाई २५–२३, २५–२१, २७–२५ ले हराएर एपीएफले तेस्रो स्थान प्राप्त गरेको हो । टोली १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पायो ।


महिलातर्फ एपीएफकी निरुता ठगुन्ना र पुरुषतर्फ हेल्प नेपालका पाकिस्तानी खेलाडी फखर उद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनीहरूले जनही २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।

विधागतमा एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, जस्मिता महतो उत्कृष्ट सेटर, न्यु डायमन्डकी बाल्मिका आचार्य उत्कृष्ट सर्भर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, आर्मीकी सुनीता श्रेष्ठ उत्कृष्ट ब्लकर र एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही १५ हजारबराबरको गिफ्ट ह्याम्पर पाए ।

पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा हेल्प नेपालका पाकिस्तानी खेलाडी मजहर अली, मोहम्मद कासिफ उत्कृष्ट सेटर हुँदा दीपक थापा उत्कष्ट लिबेरो घोषित भए । उत्कृष्ट सर्भरमा गण्डकीका हिमाल सुनारी र उत्कृष्ट ब्लकरमा गण्डकीकै भारतीय खेलाडी रामास्वामी आंगामुथु चुनिए । हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले १५ हजारबराबरको गिफ्ट ह्याम्पर पाए ।


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको प्रतियोगितामा महिला र पुरुषतर्फ १२ टिम सहभागी थिए । लिगकम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा महिलातर्फ एक भारतीय र पुरुषतर्फ श्रीलंकन आर्मी टिमले सहभागिता जनाएका थिए ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्मा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कार वितरण गरे ।

प्रकाशित : माघ ६, २०८० २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?