प्रधानमन्त्रीकप क्रिकेट : अंकित सुबेदीको कप्तानीमा कोशी टिम घोषणा

अर्जुन सुवेदी

सुनसरी — प्रधानमन्त्रीकप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अंकित सुबेदीको कप्तानीमा १८ सदस्यीय कोशी प्रदेश टिमको घोषणा गरिएको छ । पुष १९ गतेदेखि २५ गतेसम्म इटहरी र भोक्राहा नरसिंहमा भएको कोशी प्रदेश छनौट प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा टिम छनोट गरिएको कोशी प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

प्रधानमन्त्रीकप क्रिकेट : अंकित सुबेदीको कप्तानीमा कोशी टिम घोषणा

सुरेश गुरागाईको संयोजकत्वमा मनोज कुमार मण्डल र सोमेस कुमार शाह सदस्य रहेको छनौट समितिले छनौट गरेको चार वैकल्पिक सहित १८ सदस्यीय टिममा झापाबाट सर्वाधिक ७ जना खेलाडी परेका छन् ।

बुधबार साँझ घोषणा गरिएको टिममा झापाबाट कप्तान सुबेदीसहित सुजन थपलिया, समिर कार्की, कमल खत्री, सौजन घिमिरे, अभ्यास तिमल्सिना र बैकल्पिक खेलाडी भुपाल दंगाल रहेका छन् ।

मोरङबाट तीन जना मात्र छनौट भएका छन् । जसमा विकेट किपर मिनस थापा, उपकप्तान फिर्दोस अन्सारी बैकल्पिक खेलाडी सौगात भटराई रहेका छन् । सुनसरीबाट सोनु मण्डल, भुपाल लुईटेल र सुमन गहतराज छनोट भएका छन् ।

उदयपुरबाट सोनु अन्सारी, आईस भटराई र बैकल्पिक खेलाडी दिपकराज जोशी छनौट भएका छन् । इलामबाट हेमन राई र बैकल्पिक खेलाडी आश्विन कामत रहेका छन् ।

कोशी टिमको प्रशिक्षकको जिम्मेवारी पुष्प थापाले सम्हाल्ने छन् भने ब्यवस्थापकमा सुरेश गुरागाईं र एनालिष्टमा बिनित बास्तोला रहेको संघका सचिव टिकाराम पुरीले जनाएका छन् ।

छनौट भएका उनीहरुले पुष २८ गतेदेखि काठमाण्डौ र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिमबाट सहभागिता जनाउने छन् ।

प्रकाशित : पुस २५, २०८० २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?