प्रतियोगिता सकिन एक दिनमात्रै बाँकी थियो । एउटै स्वर्णबिना कसरी देश फर्कने त ? यस्तोमा सबैको नजर टिकेको थियो, नेपाली फुटबल टोलीमा । फाइनलमा भारतलाई हराउँदै नेपालले स्वर्ण मात्र जितेन, फुटबलमा ऐतिहासिक सफलता हासिल गर्यो ।
काठमाडौँ — बंगलादेशको ढाकामा छैटौं दक्षिण एसियाली खेलकुद चलिरहेको थियो । वर्ष हो सन् १९९३ डिसेम्बर २६ । अर्थात् आजकै दिन । पूरा नेपाली फुटबल टोली छट्पटिरहेको थियो, एउटै स्वर्ण जित्न नसकेको स्थितिमा ।
प्रतियोगिता सकिन एक दिनमात्रै बाँकी थियो । एउटै स्वर्णबिना कसरी देश फर्कने त ? यस्तोमा सबैको नजर टिकेको थियो, नेपाली फुटबल टोलीमा । नेपाल फाइनल पुगेको थियो । स्वर्णको भिडन्तमा नेपालको प्रतिद्वन्द्वी अरू कोही होइन, भारत थियो ।
नेपालमा फुटबल खेल्न सुरु भएको सय वर्षभन्दा अलिकति बढी भयो । इतिहासको अनुमान हो यो । नेपालले सन् १९८२ देखि औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो । यो भयो प्रमाणित इतिहास । यही अन्तर्राष्ट्रिय फुटबलको चार दशक जतिको इतिहासमा सफलताका कथा छन्, असफलताका पीडा पनि । यसबीच प्रश्न हुनसक्छ, नेपाली फुटबलले प्राप्त गरेको अहिलेसम्मको सबैभन्दा ठूलो ऐतिहासिक सफलता कुन होला ?
नेपाली फुटबलका लिजेन्ड हुन्, राजुकाजी शाक्य । जति–जति बेला त्यही छैटौं दक्षिण एसियाली खेलकुदको कुरा निस्कन्छ, उनको अनुहारमा एकखाले गर्व र खुसी देख्न पाइन्छ । उनी नै ढाकामा खेलेको टोलीका कप्तान थिए । अनि अगाडि उठाएको प्रश्नको उत्तर यही हो, अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता त्यही बेला चुमिएको थियो ।
आज यही ऐतिहासिक दिनले ठ्याक्कै ३० वर्ष छोएको छ । नेपालले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेको थियो । उक्त संस्करणको दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको यो नै एकमात्र स्वर्ण रह्यो । त्यस हिसाबले पनि यो पदकको महत्त्व धेरै छ । फुटबलको एक्लो दृष्टिकोणले हेर्ने हो भने त यसको महत्त्व वर्णन गरी साध्य छैन ।
‘हामी आफैं पनि असाध्यै खुसी थियौं,’ त्यति बेलाको दिन सम्झेर शाक्यले बारम्बार भन्ने गरेका छन्, ‘हामीले देशको इज्जत राखेका थियौं, नत्र त नेपालको नाममा एउटै स्वर्ण पनि हुन्नथ्यो ।’ फेरि यो स्वर्णको अगाडि पछाडि थुप्रै अन्य कथा पनि जोडिन्छन् । जुन परिस्थितिमा यो स्वर्ण पदक जितिएको थियो, त्यसले यसको ऐतिहासिकतालाई अझ धेरै बढाउने गर्छ । ‘फ्लासब्याक’ मा यो स्वर्णको वर्णन गर्दा यसले नेपाली फुटबलबारे त धेरैथोक भन्ने नै भयो ।
ती दिन त्यस्तै थिए । नेपालले त्यसअगाडि भारतलाई फुटबलमा हराउनै सकेको थिएन । त्यसैले फाइनलमा भारतलाई इतिहासमै पहिलोपल्ट हराउनुको विशेष अर्थ बन्छ । पूरा प्रतियोगिताको कथा यसरी सुरु हुन्छ । अहिले नेपाली फुटबलमा राजनीतिमा जुन प्रकारको विवाद चलिरहेको छ, सन् १९९३ मा पनि त्यस्तै खाले विवाद कायम थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आकार र प्रकार अहिले जत्तिको थिएन, तर नेतृत्वको विवाद त्यही बेला सुरु भइसकेको थियो ।
त्यसैले ढाकामा दक्षिण एसियाली खेलकुद सुरु हुन दुई साता जति पनि समय थिएन, नेपाली फुटबल टिमको घोषणा हुन सकेको थिएन । यस्तोमा तयारी कमजोर हुने भयो नै । त्यस फाइनलका एक नायक उपेन्द्रमान सिंहले पनि ती दिन सम्झेर भन्ने गर्छन्, ‘टिमले तयारी नै गरेको थिएन भन्दा हुन्छ ।’
प्रशिक्षक थिए, धनबहादुर बस्नेत । यो सबै पृष्ठभूमिमा नेपाली फुटबल टिमले ढाकामा केही गर्नेछ भनेर कमैको विश्वास थियो, अझ थिएनभन्दा पनि हुन्छ । खेल भएको थियो प्रसिद्ध बंगबन्धु रंगशालामा । जति बेला नेपाल मैदानमा उत्रियो, त्यसपछि त एकपछि अर्को गजब हुन थालेको थियो । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको थियो । जम्मा तीन टिमको समूह थियो । नेपालको समूहमा एउटा आयोजक बंगलादेश थियो, अर्को माल्दिभ्स । त्यतिबेला माल्दिभ्सको फुटबल हैसियत अहिले जस्तो थिएन । कमजोर नै थियो । तर, बंगलादेशको फुटबल हैसियत यसको ठीक उल्टो चमत्कारीपूर्ण थियो ।
बंगलादेशी फुटबलमा ती दिन सुखका थिए । तर यही बंगलादेशी टिमको प्रदर्शन ठीक उल्टो रह्यो । निकै खराब । सुरुमै नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । त्यसमा नेपाल अप्रत्याशित रूपमा १–० ले विजयी रह्यो । त्यतिबेला सेमिफाइनल खेल्ने नियम पनि थिएन । समूहको विजेता सिधै फाइनल पुग्ने नियम थियो । बंगलादेशविरुद्धको त्यो एक गोलको जित नै अन्ततः नेपाललाई फाइनल पुर्याउन पर्याप्त रह्यो, यसमा निर्णायक गोल गर्ने खेलाडी थिए, वसन्त गुरुङ ।
नेपाल र माल्दिभ्सबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो । माल्दिभ्सले बंगलादेशलाई पनि गोलरहित बराबरीमै रोकेको थियो । अर्को समूहमा अपेक्षाअनुसार भारत पहिलो रह्यो । यसरी फाइनलमा नेपालले भारतलाई प्रतिद्वन्द्वी पाएको थियो ।
ती दिन भारतीय फुटबल पनि आफैंमा बलियो थियो । भारतलाई पनि विश्वास थियो, नेपाललाई फाइनलमा हराउने छौं । फाइनलको कथा भने नेपालको पुनरागमन रह्यो, त्यो पनि उच्चकोटीको । अनि फाइनल सबप्रकारले नाटकीय रह्यो । निर्धारित समयको खेल २–२ को बराबरीमा रह्यो । सुरुमा भारतले अग्रता लियो, राजेन्द्र कुमारको गोलमार्फत । त्यसपछि नेपालका लागि उमेश प्रधानले बराबरी गोल फर्काए । भारतले फेरि एक गोल थप्यो । गोल गर्ने खेलाडी थिए, आईएम विजयन । खेल अन्त्यतिर पुगिसकेको थियो । त्यसैले लागिरहेको थियो, जित भारतकै हुनेछ । तर, मणि शाहले फ्रि–किकबाट उत्कृष्ट गोल गर्दै नेपाललाई फेरि खेलमा फर्काए ।
थपिएको ३० मिनेटमा पनि कुनै गोल भएन । खेल टाइब्रेकरमा गयो । त्यसमा भने नेपाल ४–३ ले विजयी रह्यो, त्यो पनि सडनडेथमा । यसमा पनि नेपाल सुरुमै पछाडि परेको थियो । खेलको निर्णायक पेनाल्टी भने वसन्त गुरुङको नाममा रह्यो । उनले नै गोल गर्दै नेपाललाई जित दिलाए । यो गोललगत्तै पूरा नेपाली टिममा अपार खुसीयाली छायो र सबै नाच्दै उफ्रिँदै थिए । स्वाभाविक थियो भारतीय टिम भने स्तब्ध भयो ।
स्वर्ण जित्ने टिम पनि यस्तो थियो : कप्तानमा राजुकाजी शाक्य । त्यसपछि दीपक अमात्य, वसन्त गुरुङ, ज्ञानु शेरचन, मणि शाह, उमेश प्रधान, जीवन लामा, राजेश मानन्धर, देवनारायण चौधरी, राजेश थापा, उपेन्द्रमान सिंह । त्यसपछि सूर्यमान श्रेष्ठ, मिलन हाडा, कुमार राजभण्डारी, दिनेश श्रेष्ठ, मृगेन्द्र मिश्र, बालगोपाल महर्जन, बाबुकाजी धौबन्जार, सुनिल प्रजापति र राजेश मास्के ।
भनिन्छ, कुनै पनि क्षेत्रमा दाँज्ने काम राम्रो होइन । फरक कालखण्डमा प्राप्त सफलताको तुलना पनि ठीक हुन्न । तर, यस्तो भन्दैमा योभन्दा त्यो सफलता नै ठूलो भन्ने काम नहुने पनि होइन । सन् १९९३ को स्वर्णको वास्तविक कथा यही हो । सन् १९८४ मा पनि नेपालले काठमाडौंमै भएको पहिलो दक्षिण एसियाली खेलकुदमा पनि फुटबलतर्फ स्वर्ण जितेको थियो । यो भयो नेपालले अन्तर्राष्ट्रिय फुटबलमा चाखेको पहिलो ठूलो सफलता ।
ढाकाको त्यो स्वर्णपछि अर्को सफलताका लागि २३ वर्ष कुर्नुपर्यो । नेपालले त्यही बंगबन्धु रंगशालामा सन् २०१६ को बंगबन्धु गोल्डकप जितेको थियो । फेरि एक अर्को उपाधि जित्न त्यतिबेला भने नेपालले धेरै समय कुर्नुपरेन । त्यही वर्षमै नेपालले एएफसी सोलिडारिटी कप जित्यो । त्यो प्रतियोगिता मलेसियाको कुचिङमा भएको थियो । यो भयो, नेपालले जितेको एसियाली फुटबल महासंघको पहिलो औपचारिक प्रतियोगिता ।
पछिल्लो तीन वर्षमा नेपालले दुईपल्ट थ्री नेसन्स कप पनि जितेको छ । यी सबैका आफ्नै महत्त्व छ नै । तर, जसरी नेपालले सन् १९९३ मा दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्यो, त्यो साँच्चै विशेष थियो । त्यसैले यसको अलग्गै प्रभाव छ । त्यो टिममा जो जतिले खेले, ती सबै ऐतिहासिक पात्र भए, खेलको भाषामा ‘लेजेन्ड’ नै भन्दा हुन्छ । तिनले नेपाली खेलकुद इतिहासमै लगाएको ऐतिहासिक गुन कहिल्यै बिर्सन सकिने छैन ।
