२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

राष्ट्रिय गौरवको आयोजना घोषणाले रंगशाला बन्ने आशा

रमेशकुमार पौडेल

चितवन — गौतम बुद्ध क्रिकेट रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेसँगै स्थानीयमा फेरि उत्साह बढेको छ । दुई वर्षअघि काम रोकिएर निराश भएका स्थानीयमा सरकारको निर्णयसँगै रंगशाला बन्ने आशा फेरि जागेको हो ।

राष्ट्रिय गौरवको आयोजना घोषणाले रंगशाला बन्ने आशा

चितवनको रामपुरमा पाँच वर्षअघि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा भएको थियो । त्रिभुवन विश्वविद्यालयका नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर–१५ रामपुरस्थित २० बिघा जमिनमा निर्माण सुरु भएको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरमा सहयोग जुटाएर २०७५ माघ १६ मा ३ अर्ब रुपैयाँ खर्च गरी रंगशाला बनाउने योजना सुरु गरे पनि दुई वर्षमै काम रोकियो ।

रंगशालाको कामबाट फाउन्डेसनले हात झिकेपछि भरतपुर महानगरपालिका आफैंले बनाउने बताएको थियो । फाउन्डेसनले २०७८ भदौदेखि काम बन्द गरेको थियो । त्यही वर्षको पुस २ मा रंगशालाको स्वामित्व लिन फाउन्डेसनले महानगरलाई पत्र पठाए पनि काम अघि बढेको थिएन । अहिले वाग्मती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच सहमति भएलगत्तै कात्तिक २३ मा संघ सरकारले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको हो ।

फाउन्डेसनले नमुना क्रिकेट मैदान तयार गरेर स–साना प्रतियोगिता खेल्न सुरु भइसकेको थियो । मुख्य क्रिकेट मैदान सम्याउने र पिचको काममा पनि धेरै नै प्रगति भएको थियो । त्यसैगरी प्यारापिटको काम पनि सुरु भएर तल्लो खण्ड ढलान भइसकेको थियो । पिल्लरहरू धमाधम ठडिएका थिए । ३० हजार दर्शक अट्ने योजनाका साथ बनेको रंगशालाका यी संरचना अहिले अलपत्र छन् । सिमेन्टका पिल्लरमा वनमाराको झाडी मौलाएको छ । मैदानमा काँस र सिरु ढपक्कै छ । नमुना मैदानमा घाँस काट्दै गरेकी शान्ता बोगटीले काँस र घाँसले रंगशाला छोपिएको देख्दा दिक्क लागे पनि अहिले फेरि रंगशाला बन्ने कुराले उत्साहित बनाएको बताइन् । ‘अब बन्छ भन्ने हल्ला चलेको छ,’ उनले भनिन्, ‘बन्ला र ? बन्यो भने ज्यादै राम्रो हुने थियो ।’

सरला खनालको गाई फार्म रंगशाला बन्दै गरेको ठाउँदेखि केही पर छ । त्यसैले उनी रंगशालाभित्र मौलाएको घाँस काट्न आएकी थिइन् । भनिन्, ‘रंगशालाको काम रोकिँदा साह्रै दुःख लागेको छ ।’ उनका अनुसार वृद्धवृद्धा र स्कुले बालबालिकासम्मले रंगशाला बनाउन पैसा दिएका छन् । महिला समूह, टोल विकास संस्थाले पनि सहयोग गरेको उनले बताइन् । रंगशालाका लागि भनेर २०७६ माघमा महायज्ञ भएको थियो । जसमा कलाकार सीताराम कट्टेलले गाउँ, टोल, देश विदेश चारैतिर पगेर सुका–मोहर गरेर सहयोग जुटाउने अभियान चलाएका थिए । तर ५७ करोड ९२ लाख रुपैयाँ बराबरको काम हुँदा १८ करोड ४३ लाख रुपैयाँ ऋण लागेपछि फाउन्डेसन निर्माणबाट अलग भएको फाउन्डेसनले जनाएको हो । फाउन्डेसनको उक्त ऋण अझै चुक्ता हुन सकेको छैन ।

संघ र प्रदेश सरकारले लिएको पछिल्लो निर्णयपछि रंगशाला बन्ने बाटोतर्फ अघि बढेको भरतपुरकी प्रमुख दाहालले बताइन् । वाग्मती प्रदेश सरकारसँग समझदारी हुँदा तत्कालका लागि १० हजार दर्शक अट्ने रंगशालाको निर्माण सुरु गर्ने र यसको लागत ७५ करोड रुपैयाँ रहने अनुमान थियो । जस अनुसार वाग्मती प्रदेश सरकारले ७० प्रतिशत र बाँकी ३० प्रतिशत लागत खर्च महानगरले गर्ने भन्ने थियो । ‘संघीय सरकार पनि सहभागी हुने भएपछि अब १० हजार मात्रै नभएर धेरै दर्शक अट्ने रंगशाला बन्दैछ,’ नगर प्रमुख दाहालले भनिन्, ‘आकार बढेसँगै बजेट पनि बढ्ने भयो ।’ उनले लागत मूल्यांकन गर्ने र त्यसपछि टेन्डर प्रक्रियाको काम सुरु गर्ने बताइन् ।

बन्दा बन्दै अलपत्र छाडिएका संरचना अब के गर्ने भन्नेबारेमा पनि लागत अनुमानका लागि अध्ययन गर्दा निर्णय लिने दाहालले बताइन् । ‘काम रोकिएपछि त्यही वर्ष नै त्यहाँका संरचनाको सरकारी विज्ञ अधिकारीबाट अध्ययन गराएका थियौं,’ उनले भनिन्, ‘ती संरचना ठिक छन् भन्ने रिपोर्ट थियो । त्यसपछि दुई वर्षसम्म यसै रहँदा के भए, हामी अध्ययन गर्दैछौं ।’ रंगशाला निर्माणका क्रममा लागेको धुर्मुस सुन्तली फाउन्डेसनको ऋण अझै चुक्ता भएको छैन । फाउण्डेसनको ऋण चुक्ता गर्न भनेर संघीय सरकारले दुई पटक निर्णय गरेको तर कार्यान्वयन गर्न कठिन भएको मेयर दाहालले बताइन् । भनिन्, ‘कार्यान्वयन गर्दा नीतिगत व्यवधान नहुने गरी प्रक्रिया पुर्‍याएर निर्णय हुन्छ ।’

क्रिकेट रंगशाला बनाउन दिएको जग्गा बराबर सरकारले कृषि तथा वन विश्वविद्यालयलाई सट्टाभर्ना दिने सहमति छ । १४ वर्षदेखि आफूले भोग चलन गर्दै आए पनि त्रिभुवन विश्वविद्यालयले कृषि तथा वन विश्वविद्यालयलाई जग्गाको स्वामित्व हस्तान्तरण गरेको छैन । यी दुई विषय सँगसँगै चाँडो टुंग्याउन कृषि विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीको माग छ ।

प्रकाशित : कार्तिक २७, २०८० १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?