२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

घरेलु क्रिकेट संरचना बलियो बनाउने मेरो पहिलो प्राथमिकता : सचिव खड्का

काठमाडौँ — नेपाल क्रिकेट संघका नवनिर्वाचित सचिव तथा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले घरेलु क्रिकेटको संरचना बलियो बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन् । शनिबार भएको क्यानको निर्वाचनबाट सचिवमा विजयी भएपछि खड्काले क्रिकेटको जिल्ला र प्रदेश संरचना बलियो बनाउने पहिलो प्राथमिकता रहेको बताए ।

घरेलु क्रिकेट संरचना बलियो बनाउने मेरो पहिलो प्राथमिकता : सचिव खड्का

क्रिकेट खेलबाट संन्यास लिँदै गर्दा आफूले व्यवस्थापनमा आउने इच्छा जाहेर गरेको र अहिले त्यो पूरा भएको खड्काको भनाइ छ । उनले आगामी दिनमा क्रिकेट क्षेत्रमा अझ राम्रो गर्नका लागि तल्लो तहबाट नै काम थाल्नुपर्ने बताए ।

विगतमा पनि आफूले घरेलु क्रिकेटमाथि प्रश्न गरेको र आगामी दिनमा त्यसमा सुधारका लागि लाग्ने खड्काको भनाइ छ । 'खेलाडी हुँदा घरेलु क्रिकेटको संरचनामाथि प्रश्न गरेको थिए । अहिले क्यानको पदाधिकारी हुँदा जिल्ला र प्रदेश संरचना कसरी बलियो बनाउने भन्नेमा ध्यान जानेछ,' उनले भने, 'जिल्ला र प्रदेशको संरचनामा परिवर्तन गर्छौं । प्रदेश र जिल्लामा स्रोत परिचालन गर्ने हो भने राम्रो हुन्छ ।'

नेपाल क्रिकेटमा 'ग्रासरुट'मा समस्या देखिएको उनको भनाइ छ । बजेटको अभावले मात्रै नभई अन्य किसिमका पनि समस्या रहेकाले तिनलाई सुधार्न लाग्ने उनले प्रतिबद्धता जनाए । 'जिल्ला र प्रदेशको जिम्मेवारी थप्नुपर्ने भएको छ । जिल्ला र प्रदेशबाट क्रिकेट कार्यक्रम ल्याएर केन्द्रलाई सपोर्ट गर्ने हो भने गन्तव्यमा पुग्न सक्छौं,' उनले भने ।

क्रिकेटको जिल्ला र प्रदेश संरचना कसरी बलियो बनाउने भन्नेमा आफ्नो सम्पूर्ण ध्यानकेन्द्रित हुने खड्काको भनाइ थियो । अहिले नेपाली राष्ट्रिय क्रिकेटको टिम राम्रो भएको उनले बताए । आफूले स्थापित गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्धलाई क्रिकेटको विकासमा लगाउने र सोहीअनुसार भूमिका निर्वाह गर्ने उनले बताए ।

क्यानमा अहिले राम्रो टिम बनेको बताउँदै सचिव खड्काले अब टिम मिलेर अगाडि बढ्नुपर्ने बताए । नेपाली क्रिकेटको विकासमा एक भएर लाग्नुपर्ने । महिला, पुरुष र उमेरसमूहका क्रिकेटलाई ध्यानमा राखेर अघि बढ्ने उनको भनाइ थियो । क्रिकेट टिमको जस्तो क्यानको पनि वाहवाही हुने काम गर्नुपर्ने उनको भनाइ थियो । 'संस्थागत रूपमा जिल्ला र प्रदेशमा राम्रो संरचना निर्माण गर्न सकियो भने नेपाल क्रिकेटको वाहीवाही हुन्छ, आगामी तीन वर्षमा । क्रिकेट टिमसँगै क्यानको पनि वाहवाही होस् भन्ने गरी आफ्नो भूमिकाबाट नेपाली क्रिकेटलाई संस्थागत रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,' उनले भने ।

क्यानको सचिवमा कूल ८५ मतमध्ये ४८ मत ल्याएर खड्का सचिवमा विजयी भएका थिए । उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन् ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भइसकेका छन् । क्यानको उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : आश्विन ६, २०८० १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?