काठमाडौँ — नेपालले म्यानमारसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार गोलरहित बराबरी खेलेको छ । याङगुनको थुउन्ना रंगशालामा भएको खेल दुवै टिमले केही अवसर सिर्जना गरेपछि गोल भने हुन सकेन ।
खेलको अधिकांश समय म्यानमार नेपालमाथि भने हाबी रह्यो । यसै खेलबाट नेपालका लागि जिलेप्सीजंग कार्की र हिसुबु थपलियाले डेब्यु गरेका छन् । आर्मीका जिलेप्सीले सुरुआती ११ मै परेका थिए ।
जावलाखेलका हिसुबुले सब्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । उनले अञ्जन विष्टलाई सब्टिच्युट गरेका थिए ।
लाओसविरुद्ध अर्को महिना हुने एसियाली विश्वकप तथा एसियाकप छनोटको तयारीका क्रममा नेपाल दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि म्यानमार गएको हो । अब दोस्रो खेल सोमबार हुनेछ ।
