लुम्बिनी प्रदेश क्रिकेट संघको अध्यक्षमा गुरुङ निर्वाचित

भाद्र १२, २०८०

सन्जु पौडेल

तिलोत्तमा — नेपाल क्रिकेट संघ, लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सञ्जय गुरुङको अध्यक्षतामा १२ सदस्यीय नयाँ समिति चयन भएको छ ।

त्यस्तै, उपाध्यक्षमा बर्दियाका विनय राजभण्डारी, सचिवमा दाङका कैलाशकुमार रोका र कोषाध्यक्षमा पाल्पाका राजेश श्रेष्ठ निर्वाचित भएका छन् । 

संघको सदस्यमा दाङका बालकृष्ण खत्री, बर्दियाका सुभाष तिमिल्सिना, रुपन्देहीका प्रथम पराजुली र धिरज अधिकारी क्षेत्री, बांकेका दुर्गबहादुर थापा मगर र मेराज अन्सारी, कपिलवस्तुका माया ज्ञवाली र पदमराज श्रेष्ठ तथा नवलपरासीका अनिश कुँवर निर्वाचित भए । 

निर्वाचित पदाधिकारीलाई प्रमुख निर्वाचन अधिकृत रोचक रेग्मी, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल, तथा निर्वाचन अधिकृतहरू कुलमणि ज्ञवाली र सुमनकुमार केसीले शपथग्रहण गराई प्रमाणपत्र प्रदान गरे ।

निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दैर् नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले पूर्वाधार विकास नभएकै कारणले नेपालको क्रिकेट विकास पछाडि परेको बताए । उनले नेपालको क्रिकेट विकासका लागि अन्तर्राष्ट्रिय क्रिकेट महासंघ, एसियन क्रिकेट संघ सकारात्मक भएको बताए । त्यस्तै नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न दिन इच्छुक देखिए पनि पूर्वाधार अभाव भएको उनले बताए । 

निर्वाचित अध्यक्ष गुरुङ यसअघि प्रदेशको सचिव पदमा रही काम गरिरहेका थिए । उनले क्रिकेटकै लागि आफू दिनरात काम गरिरहेकाले अध्यक्ष भइसकेपछि जिम्मेवारी बढेको र हरेक जिल्लामा क्रिकेट विकासका लागि आफू र टिम लागिपर्ने बताए । उनी अन्तर्राष्ट्रिय अम्पायरसमेत हुन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully